राष्ट्रिय सहकारी बैंकको साधारणसभा भर्चुअल हुने «

राष्ट्रिय सहकारी बैंकको साधारणसभा भर्चुअल हुने

बागलुङ-राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट हुने भएको छ । बैंकको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र केन्द्रीय उपसमितिको बैठकले वार्षिक साधारणसभा भुर्चअल माध्यमबाट प्रदेशगत रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो । सहकारी विभागद्वारा जारी सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका– २०७६ अनुसार साधारणसभाको मिति र कार्यसूची तय गर्ने निर्णयमा उपसमिति समेत आमन्त्रण गर्नु पर्ने प्रावधानअनुसार बैंकको केन्द्रीय उप–समितिका सदस्यहरुलाई आमन्त्रण गरिएको अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए । कोरोनासंकटका कारण भौतिक उपस्थितिमा साधारणसभा गर्न सम्भव नभएको र नियामक निकायले समेत यो वर्षको साधारणसभा विद्युतीय माध्यममार्फत गर्न सकिने निर्देशन जारी गरेकोले प्रविधिको प्रयोग गरी सम्पन्न गर्ने निर्णय गरिएको अध्यक्ष उप्रेतीले बताए । बैठकले आगामी मंसिर २२ गतेदेखि २९ गतेसम्म एकाई साधारणसभा र पुस ३ गते मुख्य साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैंकको १७ औं वार्षिक साधारणसभा अन्तरगत प्रदेश – १ को एकाई सभा मंसिर २३ गते, प्रदेश–२ को मंसिर २४ गते, बागमती प्रदेशको मसिर २५ गते, गण्डकी प्रदेशको एकाई सभा मंसिर २९ गते, लुम्बिनी प्रदेशको २६ गते, कर्णाली प्रदेशको २७ गते र सुदूरपश्चिम प्रदेशको २८ गते सम्पन्न गर्ने तालिका तय गरेको छ । एकाई सभाबाट चुनिने प्रतिनिधिहरुको सहभागितामा मुख्य साधारणसभा पुस ३ गतेका लागि तय गरिएको छ ।
सहकारी ऐन, नियमावली र सहकारी विभागले जारी गरेको साधारणसभा सञ्चालन सम्बन्धी निर्देशिका एवम बैंकको स्वीकृत विनियमावलीका आधारमा एकाइ साधारणसभा गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए ।
साधारणसभामा १२ हजार २ सय ८३ सहकारी संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहने भएको छ । सदस्यहरुले प्रस्ताव पेश गर्न सक्ने, नियमकीय निर्देशन जानकारी गराउनु पर्ने, संस्थागत प्रतिनिधिको जानकारी सदस्यलाई दिनु पर्ने र विविध शिर्षक राख्न नहुने जस्ता कार्यविधिका मापदण्ड पालना गर्दै यो वर्षको साधारणसभा गर्न लागिएको गुरागाईले जानकारी दिए ।
कोभिडको कारण केही समस्या भएपनि साधारणसभाको प्रतिवेदन बैंकको वेवसाइटमा हेर्न र डाउनलोड गर्न सकिने साथै तिहार अगाडि नै सदस्यमाझ वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्