एक महिनाभित्र फोहर व्यवस्थापन गर्न निर्देशन «

एक महिनाभित्र फोहर व्यवस्थापन गर्न निर्देशन

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिनाभित्र बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शुक्रबार बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले अब कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहर व्यवस्थापन गरिसक्न निर्देशन दिएका हुन् । हाल फोहर विसर्जन भइरहेको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उनी बञ्चरे ल्याण्डफिल साइटको निरीक्षण गर्न बञ्चरेडाँडा पुगेका थिए । पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिँदै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहर विसर्जन गर्न मिल्नेगरी काम सक्न निर्देशन दिएका थिए ।
लुम्बिनी–कोसी एण्ड न्यौपाने जेभिका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहर विसर्जन गर्न मिल्नेगरी अन्तिम काम भइरहेको जानकारी गराएका थिए ।
काठमाडांै र ललितपुर दुई महानगरसहित उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न लिचेड पोखरीको निर्माण भइरहेको छ । हामी मंसिर १ गतेभित्र फोहर फ्याँक्ने गरी तयारी गरेका छौ–निर्माण कम्पनीका प्रतिनिधि न्यौपानेले भने । प्रधानमन्त्री केपी ओलीले समेत केही दिनभित्रै फोहर विसर्जन गर्न मिल्नेगरी ल्याण्डफिल साइट निर्माण गर्न निर्देशन दिएपछि मन्त्री श्रेष्ठ निर्माण प्रगतिबारे जानकारी लिन अकस्मात बञ्चरेडाडा पुगेका थिए ।
मन्त्रीसँंगै मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक प्रद्मकुमार मैनालीसहितको टोली निरीक्षण गर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्