न्यूजिल्यान्डमा ६५ प्रतिशत जनता इच्छामृत्युको अधिकार दिने पक्षमा «

न्यूजिल्यान्डमा ६५ प्रतिशत जनता इच्छामृत्युको अधिकार दिने पक्षमा

वेलिङटन-न्यूजिल्यान्डका करिब ६५ प्रतिशत जनता इच्छामृत्युको अधिकार दिने पक्षमा रहेका छन् । हालै मात्र आम चुनावका साथै इच्छामृत्युमा पनि जनमत संग्रह गरिएको थियो ।
मत गणनाबाट ६५.२ प्रतिशत मानिस इच्छामृत्युको पक्षमा रहेको देखिएको छ । जनमत संग्रहको नतिजाबाट न्यूजिल्यान्ड छिट्टै डाक्टरको सहयोगबाट इच्छामृत्युको अधिकार प्राप्त हुने अन्य देशको समूहमा समावेश हुने देखिएको छ ।
इच्छामृत्युको अधिकारका लागि न्यूजिल्यान्डको कानुनमा परिवर्तनको अभियान चलाइरहेका डेभिड सेमूरले यो नतिजालाई राम्रो भएको बताएका छन् । “हजारौ देशवासिसँग अब इच्छा, गरिमा, नियन्त्रण र आफ्नो शरीरको बारेमा पैmसला गर्ने स्वतन्त्रता हुनेछ र न्यूजिल्यान्डको शासनले यसको रक्षा गर्नेछ,” उनले बताए ।
२०१५ मा सुरु भएको थियो बहस
न्यूजिल्यान्डमा इच्छामृत्युको विषयमा २०१५ मा लेक्रेटिया सील्सले सुरु गरेकि थिइन् । अदालतले उनको इच्छामृत्युको माग खारेज गरेकै दिन उनको ब्रेन ट्यूमरका कारण मृत्यु भएको थियो । जनमत संग्रहको नतिजाको स्वागत गर्दै सील्सका पति म्याट विकर्सले रेडियो न्यूजिल्यान्डसँग भने,“आज मलाई धेरै राहत र कृतज्ञताको अनुभव भइरहेको छ ।”
नेदरल्यान्डले दिएको थियो सबैभन्दा पहिला अधिकार
इच्छामृत्युको अधिकार सबैभन्दा पहिले नेदरल्यान्डले २००२ मा दिएको थियो । सोही वर्ष बेल्जियम र २००८ मा लक्जेम्बर्ग, २०१५ मा कोलम्बिया र २०१६ मा क्यानडाले पनि यो कानुनलाई मान्यता दिएको थियो । अमेरिकाका कयौ राज्य र अस्ट्रेलियाको भिक्टोरियामा पनि यो कानुन वैध छ ।

प्रतिक्रिया दिनुहोस्