अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रे «

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रे

रूपन्देही-निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको धावनमार्गमा कालोपत्रे(पिच)गर्ने काम मंगलबारदेखि सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा विमानस्थल कालोपत्रे गर्ने कामको सुरुवात भएको थियो । साउन पहिलो सातादेखि सुरु भएको बेसकोर्समा बिटुमिन (अलकत्रा) हाल्ने काम सम्पन्न भएसँगै मंगलबारदेखि कालोपत्रे काम सुरु गरिएको हो ।
विमानस्थललाई सन् २०१८ भित्रै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने सरकारको योजना छ । तर, अहिलेसम्म करिब ५५ प्रतिशतमात्रै काम सम्पन्न भएको जनाइएको छ । अप्ठेरो मानिएका बेस वर्कका काम सबै सकिएकाले तोकिएकै समयमा अब निर्माण सम्पन्न भई सञ्चालनमा आउने गरी काम भइरहेको गौतमबुद्ध विमानस्थल स्तरोन्नति आयोजनाका निमित्त प्रमुख तथा इन्जिनियर प्रवेश अधिकारीले बताए ।
कालोपत्रे गर्ने काम चैतभित्रै सम्पन्न गरी नयाँ धावनमार्ग निर्माणको सुरुवात गर्ने योजना छ । हालको धावनमार्ग अब ट्याक्सी वेमा परिणत हुने भएकाले पनि नयाँ धावनमार्ग निर्माण सम्पन्न गर्नु जरुरी रहेको छ ।
नयाँ धावनमार्ग निर्माण सम्पन्न भएपछि त्यसैबाट आन्तरिक उडान सुरु हुने र त्यसपछि मात्र हालको धावनमार्गलाई ट्याक्सी वेको रुपमा विकसित गर्न मिल्ने जनाइएको छ । पर्यटनमन्त्री अधिकारीले ६ महिनाभित्रै धावनमार्ग कालोपत्रे गरी सञ्चालनमा ल्याइने बताए । “४ महिनाभित्रमा धावनमार्ग कालोपत्रे गर्ने काम जसरी पनि सम्पन्न भइ सञ्चालनमा आउनेछ,” मन्त्री अधिकारीले भने । धावनमार्गमा कालोपत्रे सुरु भएपछि अब त्यहाँ प्राविधिक काम अर्थात लाइटिङको काम भने बाँकी नै छ । यसका लागि पनि टेन्डर आह्वान भइसकेको छ । ३ हजार मिटर लामो धावनमार्गको चौडाई २ सय मिटरको छ भने धावनमार्गको पिच (१२ इन्च बाक्लो हुने बताइएको छ ।
विमानस्थल निर्माण आयोजना कार्यालयले जति सक्यो छिटो धावनमार्गको काम सकेर त्यसैबाट चैतभित्रै आन्तरिक हवाई उडान गर्ने लक्ष्य लिएको छ । धावनमार्ग निर्माण सम्पन्न भएपछि परीक्षण उडान गर्ने र लगत्तै आन्तरिक उडान सुरु गर्ने योजना छ ।
विमानस्थलको सबै काम हेर्दा अहिले आधाभन्दा बढी निर्माणका काम सकिएको छ । भौतिक पूर्वाधारका काम ५५ प्रतिशतभन्दा बढी सकिएको र बाँकी पूर्वाधार र अन्य काम पनि समयमै सम्पन्न हुने र सन् २०१९ भित्र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले बताए ।
विमानस्थल निर्माण आयोजना कार्यालयका अनुसार विमान पार्किङ एरियाको काम लगभग सकिएको छ । र्पािर्कङमा एकैपटक ६ ठूला विमान पार्किङ गर्न मिल्छ । यस्तै, प्रशासकीय भवन, कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य पनि दु्रत गतिमा भइरहेको छ । विमानस्थल निर्माणमा अहिले चीनका दक्ष र अर्धदक्ष गरी ८० जनासहित २० भन्दा बढी कामदार कार्यरत छन् । विमानस्थल क्षेत्रभित्र पर्ने घाघरा नदी डाइभर्सन गर्ने काम अढाई वर्षअघि नै सम्पन्न भइसकेको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ माघबाट चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभियसनले विमानस्थल निर्माण सुरु गरे पनि २०७२ को भूकम्प, त्यसलगत्तै लामो समय चलेको मधेश आन्दोलन, नाकाबन्दी, नदीजन्य वस्तुको अभावलगायतका कारणले विमानस्थल निर्माण करिब २ दुई वर्ष पछाडि धकेलिएको छ । विमानस्थल निर्माणको लागत ६ अर्ब २२ करोड रुपैयाँ रहे पनि अन्त्यसम्म तीन गुणा बढ्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्