४ अर्बको बजेट निकासा गर्न मुख्यमन्त्री गुरुङको सुझाव «

४ अर्बको बजेट निकासा गर्न मुख्यमन्त्री गुरुङको सुझाव

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदेशका विभिन्न योजना पूरा गर्नका लागि करिब ४ अर्ब ३ करोडको बजेट निकासा गर्न संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेल समक्ष माग गरेका छन् । अर्थमन्त्री पौडेलसँग भेटघाट गरी प्रदेशका विभिन्न आयोजना तथा योजनाहरूमा बजेट निकासका लागि मुख्यमन्त्री गुरुङले माग गरेको मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार बिक्रम न्यौपानेले बताए ।
संघ सरकारले सशर्त अनुदानको सर्तसहित हाम्रो प्रदेशलाई हस्तान्तरण गरेका आयोजनाहरूका लागि बजेट नआएकाले सरकारको ध्यानाकर्षण गराएको मुख्यमन्त्री गुरुङले बताए । संघले गण्डकी प्रदेशलाई हस्तान्तरण गरेका ३२ वटा सडक आयोजनाका लागि २ अर्ब ८६ करोड, आधारभूत खानेपानीका पुराना योजनाका लागि १ अर्ब ५ करोड रुपैयाँ बजेट आवश्यक परेको मुख्यमन्त्री गुरुङले अर्थ मन्त्री पौडेल समक्ष जानकारी गराएका थिए ।
त्यस्तै विशेष खानेपानी आयोजना ४३ वटाका लागि ५२ करोड ८७ लाख, १९ वटा सिँचाइका आयोजनाका लागि १८ करोड ५० लाख, ५० वटा सडक पुलका लागि ३० करोड ५१ लाख र जनता आवास कार्यक्रमका लागि ९० करोड रुपैयाँ आवश्यक भएको पनि मुख्यमन्त्री गुरुङले अर्थमन्त्री पौडेललाई जानकारी गराएका थिए । कोभिड–१९ ले गर्दा संघीय सरकारले समयमै निकासा गर्नु पर्ने रकम निकासा नगर्दा योजनाहरु प्रभावित हुन सक्ने भएकोले समयमै अर्थमन्त्री सामु उक्त विषयमा जानकारी गराइएको मुख्यमन्त्री गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्