हुस्सुले तराईको जनजीवन ठप्प «

हुस्सुले तराईको जनजीवन ठप्प

निरन्तरको हुस्सुका कारण तराईका जिल्लाहरूमा सबै व्यापार व्यवसाय ठप्प बन्दै गएको छ भने जनजीवन नराम्ररी प्रभावित बन्न पुगेको छ । चिसो बढेसँगै हिँडडुल र काम गर्न समस्या भएपछि सातायता तराईका बारा, पर्सा, रौतहटलगायतका जिल्लाहरूमा सबै क्षेत्र ठप्प भएका हुन् । अत्यधिक चिसोका कराण अहिलेसम्म तराईका विभिन्न जिल्लामा ९ जनाको मृत्यु भइसकेको छ ।
दक्षिणी र पश्चिम वायुको प्रभावले मौसम बदली भइ तराईमा चिसो बढेको र केही दिनयता तापक्रम कम रहेको जल तथा मौसम बिभाग फिल्ड कार्यालय सिमराले जनाएको छ । चिसोकै कारण तराईका अस्पतालहरूमा बिमारीको चाप बढ्न थालेको छ भने श्वासपश्वास, झाडावान्ता, ज्वरो, निमोनिया, रुघाखोकी र ब्रोङ्काइटिसलगायतका बिरामी बढेको छ । विरामीमध्ये वृद्धवृद्धा तथा बालबालिकाको संख्या बढी रहेको तराई अस्पतालका सिमराका सञ्चालक डा. रवीन्द्र सिंहले बताए ।
बाक्लो हुस्सुले कठ्यांग्र्रिने गरी जाडो बढेपछि तराईका जिल्लाहरूमा विद्यालय बन्द हुने क्रम सुरु भएको छ । कतिपय निजी तथा सरकारी विद्यालयहरू आफैं बन्द गरेका छन् भने जिल्ला शिक्षा कार्यालय बाराले पनि जिल्लाभरका विद्यालयमा ६ दिनको बिदा घोषणा गरेको थियो ।
कुहिरो र हस्सुका कारण सिमरा विमानस्थलको हवाई सेवा सातायता अवरुद्ध बनेको छ भने र स्थलमार्ग पनि प्रभावित बनेको छ । तराईमा हुस्सुकै कारण सबै प्रकारका यातायातहरू पूर्ण रूपले संचालन भएका छैनन् । तराई यातायात व्यवसायी संघका महासचिव शंकरकुमार विष्ट भन्छन्, “कुहिरोले २ मिटरसमेत बाटो नदेखेपछि यातायात क्षेत्र पूर्ण रूपमा प्रभावित बनेको छ, दिउँसै बत्ती बालेर फाटफुट सवारी भने चलेका छन् ।”
तराईको दैनिकी कष्टकर बनकै कारण उद्योग कलकारखानासमेत प्रभावित बन्न पुगेका छन् । चिसो बढेपछि उद्योगमा स्थायी कामदारसमेत कमै आउने गरेको र दैनिक ज्यालादारीका कामदारहरू सातायता उद्योगमा आउनै छाडेको उद्योग वाणिज्य संघले जनाएको छ । चिसो बढेपछि उद्योगमात्र नभइ तराईका ठूलासाना सबै सहरका बजार पसल, होटल क्षेत्रमा असर पुगेको छ । “चिसोले बजारका ग्राहकदेखि उद्योगका मजदुरसम्म प्रभाव पारेको छ, जनजीवन कष्टकर बनेको कारण हाम्रो जिल्लामा मात्र नभइ तराईभर व्यापार खस्किएको छ,” जितपुर सिमरा उद्योग वाणिज्य संघका उपाध्यक्ष शिव पौडेलले भने । लामो समय शितलहर भए सबै क्षेत्रको व्यापार चौपट हुने उनको भनाइ छ ।
पथलैया–वीरगञ्ज औद्योगिक करिडोरभित्रका १ हजार बढी उद्योग कलकारखानामा उत्पादन, बजार बिक्रीसमेत घटेको बताइन्छ । नयाँ वर्षमा पोखरा, चितवनका होटलहरू आन्तरिक र भारतीय ग्राहकहरूले भरिइरहँदा तराईका होटलहरूमा भने शून्यता छाएको छ । सर्वसाधारण घरभित्रै खुम्चिएका कारण बजारका पसलहरू समेत ठप्प बनेको छ, बाटोमा हिँडडुल गर्ने निकै कम भेटिन्छन् । चिसोले कार्यालयहरूमा सेवाग्राहीको उपस्थित समेत पातलिएको छ । तराईसँगै जोडिएका हेटौडा, चितवनलगायतका सहरमा भने घाम लाग्ने हुँदा चिसोको खासै प्रभाव रहेको पाइँदैन ।

 प्रकाश लम्साल

प्रतिक्रिया दिनुहोस्