पीई रेसियो : लगानी निर्णयको एक आधार «

पीई रेसियो : लगानी निर्णयको एक आधार

‘पीई’सँगै सबै वित्तीय नतिजाको शुद्धता र व्यावहारिकता प्रकाशित वा प्रयोग गरिने ईपीएसमा निर्भर रहनेमा विशेष चनाखो हुनुपर्छ ।

धितोपत्र लगानी तथा कारोबारमा आमरूपमा प्रचलित ‘पीई रेसियो–पीई’ अर्थात् मूल्य–आम्दानी अनुपात कम्पनीको आम्दानीका आधारमा मूल्यगत अवस्था मापन गर्न तथा सन्दर्भ मूल्य विश्लेषणको सूत्र हो । यसले मूलतः कम्पनीको प्रतिसेयर आय (ईपीएस) र प्रचलित मूल्य वा लागतको सम्बन्ध वा अवस्था व्यक्त गर्छ । जहाँ ‘मूल्य’ले प्रतिकित्ता कारोबार रकमसँगै कम्पनीप्रति आमलगानीकर्ताको मनोदशा (मास साइकोलोजी) वा माग र आपूर्तिको अवस्था अनि ‘ईपीएस’ले उक्त कम्पनीको व्यावसायिक र मुनाफाको अवस्था व्यक्त गरिरहेको हुन्छ । ‘पीई’ले मूल्य र ईपीएसको विश्लेषण र समायोजन गर्दै कम्पनीको वास्तविक मूल्यांकन र लगानी मार्गनिर्देश गर्छ ।
सामान्यतः परल वा प्रचलित मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेर ‘पीई’ निकालिन्छ । यसले कम्पनीको निश्चित प्रतिसेयर आयका लागि लगानीकर्ताहरूले कति मूल्य तिरिरहेका छन् र विद्यमान वा प्रक्षेपित ईपीएसका आधारमा तिरिएको मूल्य असुल हुन कति वर्ष लाग्छ भन्ने अनुमानित समय ‘पीई रेसियो’ ले बताउँछ । कम्पनीको मूल्य आम्दानी अनुपात मापनका लागि प्रयोग गरिने ईपीएस र मूल्यमध्ये सामान्यतः ईपीएस निश्चित अवधिसम्म स्थिर हुन्छ भने मूल्य प्रत्येक कारोबारमा परिवर्तन हुन्छ, त्यसैले बजारमा हुने प्रत्येक कारोबारसँगै उक्त कम्पनीको ‘पीई रेसियो’ पनि परिवर्तन भइरहन्छ ।

‘पीई’ रेसियो गणना
सामान्यतः कारोबार मूल्यलाई कम्पनीको ईपीएसले भाग गरेर आउने नतिजा नै ‘पीई रेसियो’ हो । जस्तै, कुनै कम्पनीको सेयरको प्रचलित मूल्य प्रतिकित्ता रु. ३ सय र ईपीएस रु. १५ भए ३ सयलाई १५ ले भाग गर्दा आउने २० (३००÷१५ = २०) नै उक्त कम्पनीको ‘पीई’ हो । यदि कम्पनी सेयरको मूल्य बढेर ३ सय १५ पुगे पीई परिवर्तन भएर २१ तथा ईपीएस बढेर २० पुगे पीई घटेर १५ (३००÷२० = १५) हुन्छ । यसैगरी आफूले विभिन्न समयमा किनेर धारण गरेको सेयरको भारित औसत लागतका आधारमा कम्पनीगत ‘पीई’ निकालेर तुलनात्मक अध्ययन र लगानी व्यवस्थापन गर्न सकिन्छ । प्रत्येक कारोबार मूल्य÷लागत वा ईपीएससँगै परिवर्तन हुने ‘पीई’ शुद्धता र विश्वसनीयता भने ईपीएसको शुद्धतामा निर्भर रहन्छ ।
नेपालमा त्रैमासिक वित्तीय विवरणमा प्रकाशित ईपीएसका आधारमा ‘पीई’ गणना गरिन्छ, जसले केवल विगतको आयको आधारमा प्रचलित मूल्यको अनुपात व्यक्त गर्छ । विगतको वा यथार्थ ईपीएसका आधारमा गणना गरिने ‘पीई’लाई ‘ट्रेलिङ पीई’ वा ‘सामान्य पीई’ भन्न सकिन्छ । अन्तर्राष्ट्रिय रूपमा भने विगतको (ट्रेलिङ) सँगै आगामी समयको प्रक्षेपित ईपीएसको गणना गरी भविष्यको ‘प्रक्षेपित पीई’ अर्थात् ‘फरवार्ड पीई’ पनि निकालिन्छ । अझ कतिपय लगानी निर्णयका लागि विगतको निश्चित अवधि र आगामी अवधिको ईपीएस समायोजन गरी ‘मिश्रित पीई’ निकालिन्छ । मिश्रित पीईमा सामान्यतः विगतको दुई त्रैमासको यथार्थ ईपीएसको औसत र आगामी दुई त्रैमासको सम्भावित ईपीएसको समायोजन गरी आउने मिश्रित ईपीएस प्रयोग गरी ‘पीई’ निकालिन्छ । जति शुद्ध ‘पीई’ निकाल्न सकियो त्यति सही लगानी निर्णय र व्यवस्थापन गर्न सफल भइने हुँदा ‘पीई’को गणनामा निकै सजगता अपनाइनुका साथै प्रयोग गरिने ईपीएसको शुद्धता, यथार्थता र व्यावहारिकतामा ध्यान दिइनुपर्छ । ईपीएसको सानो त्रुटिले ‘पीई’मा उल्लेख्य असर गर्छ ।

‘पीई’को मापदण्ड र सिद्धान्त
कुनै कम्पनीको सेयरका लागि कतिसम्म मूल्य तिर्ने वा प्रचलित मूल्य उचित हो वा होइन भन्न ‘पीई’ मानकलाई प्रयोग गरिए तापनि निश्चित मापदण्ड पाउन सकिन्न । सामान्यतः
(क) १० भन्दा कम पीई रेसियो भएका र कम्पनीको भविष्य ठीक भएको अवस्थामा जसरी पनि किन्नु,
(ख) १०–१५ पाए किन्ने,
(ग) १५–२० किन्नु उपयुक्त,
(घ) २०–२५ विचार गरेर किन्ने र
(ङ) २५ भन्दा बढी भएको अवस्थामा निकै विचार गरेर किन्नु भन्ने मान्यता प्रचलित छ ।
यसले सामान्यतः कम पीई भएको कम्पनी मूल्यगत रूपमा सस्तो र मूल्यगत जोखिम कम देखाउँदै लगानी प्राथमिकता राख्न सुझाव दिन्छ । पक्कै कम ‘पीई’ले लागतका आधारमा कम मूल्यलाई इंगित त गर्छ, तर बजार मूल्य ईपीएससँगै उक्त कम्पनीप्रति लगानीकर्ताहरूको ‘आस र त्रास’ले पनि निर्देशित गरिरहेको हुन्छ । कुनै कम्पनीको अहिले ईपीएस कम भए पनि भविष्यमा राम्रो हुने ‘आस’ भए उच्च मूल्य तिर्न पनि तयार हुन सक्छन् भने अहिले राम्रो ईपीएस भएको कम्पनीको भविष्यप्रति सशंकित र ‘त्रास’को अवस्थामा कम मूल्यमात्र तिर्न तयार हुन्छन् । अर्को कोणबाट हेर्दा कम मूल्यले उक्त कम्पनीको सेयरप्रति लगानीकर्ताहरूको रुचि कम रहेको वा भविष्यप्रति आशावादी नरहेको जनाउनेतर्फ ध्यान दिनुपर्छ ।
अझ हाम्रो सन्दर्भमा केही उपसमूह वा कम्पनीको ‘पीई’ उल्लिखित रेन्जमा पाउनै सकिन्न । तसर्थ ‘पीई’को सामान्य मापदण्ड हेर्दै गर्दा सम्बन्धित उपसमूह वा व्यावसायिक क्षेत्रको औसत ‘पीई’ र उक्त कम्पनीको विगतको औसत, उच्च र न्यून ‘पीई’ हेर्नैपर्छ ।
नेपाली धितोपत्र बजारमा केवल ‘सामान्य पीई’ को चर्चा भएर पनि यसैका आधारमा किनबेच गर्ने कमै भेटिन्छन् । सूचीकृत कम्पनीहरूले क) नियमित वित्तीय विवरण प्रकाशन नगर्ने, ख) प्रकाशित विवरणहरूमा उल्लिखित ईपीएससमेत त्रुटि पूर्ण हुने र ग) आगामी दिनको व्यावसायिक अवस्था र प्रक्षेपित ईपीएसको कुनै उल्लेख नहुने सन्दर्भमा विश्वसनीय र व्यावहारिक ‘पीई’ गणना सहज देखिन्न । अझ विश्लेषणका लागि आवश्यक तथ्यांक (डाटा) सहजै उपलब्ध नहुने अवस्थामा लामो अवधिको ‘पीई’ गणना र विश्लेषण असम्भवजस्तै छ । कतिपय उपसमूहको औसत ‘पीई’ नै २५ माथि र केही कम्पनीको १०० माथिको ‘पीई’ रहने नेपाली धितोपत्र बजारमा एकल कम्पनीको ‘पीई’ भन्दा उपसमूहको औसत ‘पीई’लाई आधार बनाएर लगानी निर्णय तथा व्यवस्थापन उपयुक्त हुनसक्छ ।

‘नेप्से अल्फा’द्वारा गणना गरिएको उल्लिखित तथ्यांकले कृषि विकास बैंक, मञ्जुश्री फाइनान्स र सिनर्जी पावरको सेयर किन्न सुझाए पनि बजारमा ३ सय माथिका ‘पीई’का कम्पनीहरूसमेत किनबेच हुनुले ‘पीई’ले मार्गनिर्देश र मूल्यगत जोखिमको अवस्था मापन गर्नेबाहेक लगानी निर्णायक नहुने स्पष्ट देखिन्छ ।

‘पीई’ र लगानी निर्णय
नयाँ कम्पनीमा लगानी निर्णय तथा व्यवस्थापनका लागि ‘पीई’लाई आधार बनाउँदै गर्दा समग्र बजारको ‘पीई’को अवस्था, सम्बन्धित उपसमूहको ‘पीई’, कम्पनीको विगतको उच्च, औसत र न्यून ‘पीई’ समेतलाई ध्यान दिएर तुलनात्मक अवस्थाको अध्ययन गर्नुपर्छ । यस्तै विद्यमान कम्पनीमा लगानी व्यवस्थापन गर्दा आफ्नो औसत लागत र सोका आधारमा आफ्नो ‘पीई’ गणना गरी बजार र उपसमूहको औसत ‘पीई’सँग तुलना गर्दै लगानी निर्णय वा व्यवस्थापनमा विद्यमान र सम्भावित व्यावसायिक अवस्थासँगै विगतको उच्च, औसत र न्यून ‘पीई’ समेतलाई ध्यान दिनुपर्छ । ‘पीई’कै आधारमा लगानी र कारोबार गर्ने हो भने आफ्नो सीमा (रेन्ज) समेत तय गर्दै मूल्य वा ईपीएसमा परिवर्तनसँगै ‘पीई’मा आउने परिवर्तनको व्यवस्थापन कसरी गर्ने विकल्पको समेत तयारी गर्नुपर्छ ।
यसका साथै ‘पीई’ले केवल सन्दर्भ मूल्य व्यक्त गर्ने र प्रत्येक कारोबार वा लागतका आधारमा परिवर्तन हुने अनि चाहेको ‘पीई’ भित्रका कम्पनीको सेयर किनबेचको सुनिश्चितता नहुने हुँदा ‘पीई’ मात्र हेरेर सेयर महँगो (ओभरभ्यालुड) र सस्तो (अन्डरभ्यालुड) भन्ने प्रक्षेपण गर्न सकिएला, तर सोही आधारमा कम्पनीप्रति धारणा बनाउँदै लगानी निर्णय र व्यवस्थापन जोखिमपूर्ण हुनेछ ।
‘पीई’का आधारमा लगानी निर्णय लिँदै गर्दा अन्य पक्षहरूको अतिरिक्त कम्पनीको सेयरको मूल्यको तुलनात्मक अवस्था र औचित्यता, ईपीएसको शुद्धता, ‘पीई’ र ईपीएसको वृद्धिदरको अनुपात (प्राइस अर्निङ ग्रोथ अर्थात् ‘पेग रेसियो’) र व्यावसायिक अवस्था र वार्षिक वृद्धिदर (कुमुलेटिभ एनुअल ग्रोथ रेट (सिएआरजी) लाई पनि ध्यान दिनुपर्छ । पेगका लागि ‘पीई’लाई ईपीएस ग्रोथ रेट (मूल्य÷ईपीएस÷ईपीएस वृद्धिदर) को सूत्र प्रयोग गर्न सकिन्छ । यस्तै वार्षिक वृद्धिदर (सीएआरजी) ‘पीई’ भन्दा बढी भए कम्पनीको ‘पीई रेसियो’ तुलनात्मक बढी भए पनि लगानीयोग्य तर ‘सीएआरजी’ न्यून भए कम ‘पीई’ पनि लगानी अयोग्य मानिन्छ ।
‘पीई’सँगै सबै वित्तीय नतिजाको शुद्धता र व्यावहारिकता प्रकाशित वा प्रयोग गरिने ईपीएसमा निर्भर रहनेमा विशेष चनाखो हुँदै ईपीएसको स्रोत, यथार्थता र विश्वसनीयताको बारम्बार परीक्षण र सुनिश्चित गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्