अलिबाबाको ‘सिंगल्स डे’ मा चिनियाँको आकर्षण विदेशी ब्रान्डमा हुने «

अलिबाबाको ‘सिंगल्स डे’ मा चिनियाँको आकर्षण विदेशी ब्रान्डमा हुने

हानझोउ, चीन-यो वर्षको ‘सिंगल्स डे’ मा चिनियाँ उपभोक्ताको आकर्षण विदेशी आयातीत बस्तुमा हुने भएको छ । कोरोना महामारीका कारण धेरै चिनियाँहरु भ्रमणका लागि मुख्यभूमि चीन बाहिर नजाने भएपछि उनीहरुले आफ्नै मुलुकमा विदेशी सामग्री किन्ने अलिबाबाका एक वरिष्ठ कार्यकारीले बताए ।
बिदाको समयमा विदेशमा विदेशी ब्रान्डका सामग्री किन्ने गरेका चिनियाँहरु यस पटक अनलाइन खरिदतर्फ मोडिने अलिबाबाको ‘टीमल इम्पोर्ट एन्ड एक्सपोटर्’ व्यवसायका अध्यक्ष अल्भिन लिउले बताए ।
टीमल चीनमा खरिदकर्ताका लागि आयातीत सामग्री किन्ने प्रमुख माध्यम रहदै आएको छ । चिनियाँ ई–कमर्श कम्पनीले नोभेम्बर ११ को ‘सिंगल्स डे’को २४ घन्टे किनमेलका लागि जोडतोडका साथ तयारी गरिरहेको छ । यो अवसरमा अलिबाबाको प्लेटफर्ममा अर्बौ डलरका बस्तुहरु किनिन्छन् ।
“यो वर्षको ‘सिंगल्स डे’ मा आयातीत बस्तुको खरिद बढी हुने मलाई लागेको छ,” लिउले बताए ।
विशेषगरी चिनियाँहरु विश्वव्यापी भ्रमणमा नगई मुख्यभूमि चीनमै बस्ने र उनीहरुले विदेशी उच्च गुणस्तरिय उत्पादन रोज्ने भएकाले आयातीत बस्तुको उपभोग बढी हुने धारणा उनको थियो ।
‘सिंगल्स डे’ लाई ‘डबल ११’ को रुपमा पनि चिनिन्छ । यो दिन चिनियाँ ई–कमर्श कम्पनीहरु अलिबाबादेखि लिएर जेडी डट कम सम्मले २४ घन्टाको अवधिमा भारी छुट दिने गरेका छन् । गत वर्ष उक्त दिन अलिबाबाको कुल व्यापार ४० अब डलर बराबर भएको थियो ।
यो वर्ष अलिबाबाले प्रसस्त संख्याका विदेशी ब्रान्डहरुलाई बढाउने प्रयास गरिरहेको छ । टीमलले २,६००० नयाँ विदेशी ब्रान्डहरुलाई पहिलो पटक ल्याउने अलिबाबाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्