योजना छनोटमा जुटे सांसद «

योजना छनोटमा जुटे सांसद

दमौली-तनहुँबाट प्रतिनिधि सभा निर्वाचित दुई सांसद स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि योजना छनौटमा जुटेका छन् । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ र निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देल आ–आफ्नो क्षेत्रमा सञ्चालन हुने योजना छनौटका लागि जुटेका हुन् ।
दुवै सांसदहरूले आ–आफ्नो क्षेत्रका प्रदेश सांसद र स्थानीय तहका प्रमुख सहितको बैठक राखेर प्रस्तावित योजनाहरू माग गरेका छन् । क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य श्रेष्ठले आइतबार र क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सिग्देलले सोमबार जिल्ला समन्वय समितिमा बैठक राखी योजना बारे छलफल गरेका छन् ।
बैठकले आफ्नो निर्वाचन क्षेत्र भित्र नियम बमोजिम लागत साझेदारी हुन सक्ने आयोजनाहरूको विवरण संकलन गरी समितिलाई उपलब्ध गराउने निर्णय भएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिए । उनका अनुसार एक साताभित्र योजनाहरूको विवरण समितिमा प्रस्तुत गरिनेछ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम कार्यन्वयन र व्यवस्थापनको कार्यलाई सहजीकरण गर्न निर्वाचन क्षेत्रमा कार्यक्रम परामर्श समिति गठन गरिएको छ । प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने समितिमा समानुपातिक प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभाका सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका प्रमुख सदस्य रहनुभएको छ । उक्त समितिको सदस्य सचिव जिल्ला समन्वय अधिकारी रहने व्यवस्था छ ।
जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा श्रेष्ठको संयोजकत्वमा प्रतिनिधि सभा सदस्य कलिला खान, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशका सदस्य रामबहादुर गुरुङ, हरिबहादुर चुमान, डोवाटे विक र सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र उपप्रमुख पवित्रा पौडेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा सदस्य रहेका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा सिग्देलको संयोजकत्वमा गण्डकी प्रदेश सभा सदस्य आशा कोइराला, किरण गुरुङ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा, घिरिङ गाउँपालिकाका अध्यक्ष रन बहादुर राना, रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र म्याग्दे गाउँपालिकाका अध्यक्ष माया राना सदस्य रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्