चितवनमा सयपत्री फूल ढकमक्कै «

चितवनमा सयपत्री फूल ढकमक्कै

फूल खेतीमा आकर्षण बढ्दो, एकै वर्षमा दोब्बर क्षेत्रफल थपियो


भरतपुर-चितवनमा तिहारका लागि चाहिने सयपत्री फूल तयार हुन थालेका छन् । फ्लोरिकल्चर एसोसियसन चितवनका अध्यक्ष प्रकाश पन्तले तिहारमा फूलको माग बढ्न सक्ने बताए । तिहार आउनुभन्दा एक महिना पहिल्यै फूल फुल्न थालिसकेकाले तिहारमा फूल तयार नहुने सम्भावना बढेको उनको भनाइ छ ।
गत वर्षको तुलनामा यो वर्ष दोब्बर क्षेत्रफल विस्तार भए पनि प्राविधिक ज्ञान नहुँदा फूल पहिल्यै तयार हँुदा किसानले सोचेअनुसारको आम्दानी गर्न नसक्ने देखिएको छ । “दशैं अगाडि नै फूलका कोपिला फालिदिएको भए तिहारका बेला फूल तयार हुन्थ्यो,” उनले भने, “तिहारमै फूल तयार नहुने जोखिम धेरै छ ।” उनका अनुसार कोपिला तयार भएपछि फुल्न २५ दिन जति लाग्छ । चितवनमा यो वर्ष करिब ३० बिघा क्षेत्रफलमा सयपत्री फूलको खेती भएको अनुमान छ । यो वर्ष करिब ५० हजार सयपत्रीका मालाको व्यावसायिक कारोबार हुने एसोसियसनको अनुमान छ । बीउ राखेको १ महिनामा बेर्ना तयार हुन्छन् । रोपेको करिब ४० दिनमा फूल फुल्छ । एउटा बोटबाट डेढ महिनासम्म फूल टिप्न सकिन्छ । एउटा बोटबाट करिब १ सय २० वटासम्म थुंगा तयार हुन्छन् । चितवनका लागि फूल आयात गर्न नपर्ने गरी उत्पादन बढेको छ ।

सयपत्री फूलमा आकर्षण बढ्दो
चितवनमा फूलखेतीमा आकर्षण बढेको छ । गत वर्षको तुलनामा यो वर्ष सयपत्री फूलखेती दोब्बरले बढेको छ । समूह, सहकारी तथा व्यक्तिगत रूपमा खेती गर्नेको संख्या बढेको छ । भरतपुर–६ इन्द्रपुरीकी चन्दना कोइराला होम डेकोर र कपास उद्योग सञ्चालिका समेत हुन् । उनले १५ कट्ठा क्षेत्रफलमा व्यावसायिक फूलखेती सुरु गनरेकी छन् । “आगामी वर्ष २ बिघामा खेती गर्ने सोच छ,” उनले भनिन्, “वर्षभरि नै फूल उत्पादन गर्ने सोच छ ।” पदमपुरकी सविता लामाले पनि ५ कट्टठा क्षेत्रफलमा फूलखेती गरेकी छन् । “सजिलो र छिटो आम्दानी लिन सकिने बुझेरै फूलखेती सुरु गरेको हो,” उनले भनिन्, “वर्षाले केही क्षति गरेको छ, तिहार पहिल्यै फूल तयार हँुदा केही निराश भए पनि आगामी वर्ष क्षेत्र विस्तारको योजनामा छौँ ।”
३ कट्ठामा फूलखेती गर्दै आएका भण्डाराका अभियान पाठकले यो वर्ष ८ कट्ठा क्षेत्रफलमा खेती गरेका छन् । “परम्परागत खेतीभन्दा फूलखेती राम्रो छ,” उनले भने, “यो वर्षको तिहारमा ३ लाख बराबरको फूल बेच्ने योजना छ ।” उनले तीन चरणमा सयपत्री फूलखेती गर्दै आएको बताए । सिभिल इन्जिनियर सागर कार्कीसहितका ७ युवा मिलेर सयपत्री खेतीलाई व्यावसायिकता दिएका छन् ।
उनीहरूले भरतपुर र रत्ननगर क्षेत्रमा करिब डेढ बिघामा फूलखेती गरेका छन् । “गत वर्ष करिब ७ कट्ठा थियो, करिब ४ लाख बराबरको बेच्यौँ,” उनले भने, “यो तिहारमा २ लाख बराबरको बेच्ने लक्ष्य छ ।” उनीहरूले बीउ, बेर्नासमेत बेच्ने गर्छन् । सागर आजभोलि कृषि प्राविधिकका रूपमासमेत काम गर्न थालेका छन् । उनी माली इनोभेसन प्रालि नै दर्ता गरेर सक्रिय छन् । उनले पढाइ र फूलखेती सँगै अगाडि बढाएका छन् ।
भरतपुर–७ का इश्वरकुमार श्रेष्ठले उज्वल नर्सरीको अगुवाइ गर्छन् । ५ वर्ष पहिले सयपत्री फूलखेती समूह गठन गरी व्यावसायिक खेती अगाडि बढाएका श्रेष्ठ आजभोलि बहृत् फूलखेती समूह बनाउने अभियानमा छन् । “करिब २ सय जनाले १० बिघामा फूलखेती सुरु गरेका छौं,” उनले भने, “चितवनका सबै स्थानीय तहमा रहेका किसानलाई समेटेर सञ्जाल बनाउने योजना छ ।” भरतपुर–७ उज्वल टोलमा फूल संकलन तथा बिक्री केन्द्रसमेत रहेको छ । “बजारीकरणमा समस्या छन्, समूह बनेपछि सहज हुनेछ,” उनले भने, “वर्षभरि नै सपयपत्री फूलखेतीमा लाग्न प्राविधिक सहयोगका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ ।” फ्लोरिकल्चर एसोसियसन चितवनका अध्यक्ष प्रकाश पन्तले कृषि ज्ञान केन्द्र, स्थानीय तहमार्फत फूलखेतीमा आकर्षण बढाउने खालका प्रोत्साहनका कार्यक्रमको अभाव देखिएको बताए । दिव्यनगरका दीपक पाख्रिनले विगतको तुलनामा फूलखेती गर्ने किसानको संख्या बढेको बताए । उनी विगत ३० वर्षदेखि फूलखेतीमा सक्रिय छन् । उनको २ बिघामा फूलखेती छ । “१० महिना सयपत्री फूल बेच्दै आएको छु,” उनले भने, “राज्यले आयात रोकेर स्थानीय किसानलाई प्रोत्साहन गर्ने नीति बनाउनुपर्छ ।”
नवलपरासीको गंैडाकोट क्षेत्रमा पनि सयपत्री फूलखेती गर्ने किसानको संख्या थपिन थालेको छ । गैंडाकोटका लक्ष्मी अधिकारीले समूह बनाएर फूलखेती गर्ने क्रम बढेको बताए । उनीहरूको अगुवाइमा धौलागिरि नमुना कृषि समूहमार्फत ४ कट्ठा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्