वर्कशप पनि यातायात कार्यालयमा दर्ता हुनुपर्ने «

वर्कशप पनि यातायात कार्यालयमा दर्ता हुनुपर्ने

महोत्तरी – राजमार्ग आसपासमा रहेका वर्कशप तथा अन्य सवारीजन्य कारखाना पनि यातायात व्यवस्था कार्यालयमा सूचीकृत गर्नुपर्ने भएको छ । बजार र राजमार्ग क्षेत्रमा सञ्चालनमा रहेका कारखाना तथा वर्कशपलाई यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासले दर्ता गराउनको लागि सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९, नियमावली २०५४ तथा कार्यविधि निर्देशिका २०६० मा कारखाना तथा वर्कशप यातायात व्यवस्था विभागमा दर्ता भई सञ्चालन हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था भएकाले यातायात विभागमा दर्ता नभई सञ्चालन भएका कारखाना तथा वर्कशपलाई कार्यालयले दर्ता गराउन सुरु गरेको हो ।
विभागमा दर्ता नभएका कारखाना तथा वर्कशपको निरीक्षण गरी दर्ता गराउन विभागले अनुमति दिएपछि बर्दिवास नगरभित्र मात्रै सञ्चालित २ सयभन्दा बढी कार्यालयलाई दर्ता गराउन पत्र काटेको सेवा कार्यालयका नायब सुब्बा पोषण थापाले बताए ।
देशभरबाट विभागसँग दर्ता नभई सञ्चालन भएका कारखाना तथा वर्कशपबाट राजस्व संकलन नहुँदा करोडौं राजस्व डुबेको भन्दै थापाले आफूहरूले सो कदम चालेको जानकारी दिए ।

बर्दिवासबाटै लाइसेन्स वितरण हुने
महोत्तरीको बर्दिवासमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले अब बर्दिवासबाटै नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले ०७५ असार २८ गते भौतिक पूर्वाधार भएका सेवा कार्यालयहरूलाई नयाँ लाइसेन्स वितरण गर्ने अनुमति दिएपछि बर्दिवास कार्यालयले नयाँ लाइसेन्स वितरण गर्ने भएको हो ।
बर्दिवास सेवा कार्यालयले गत भदौ २१ गतेबाटै आफ्नो कोडबाट काम सुरु गरिसकेको कार्यालय प्रमुख भुपराज दाहालले बताए । निजी क्षेत्रले सञ्चालन गरेका ट्रायल सेन्टर मापदण्डअनुरुप भए–नभएको विभागले निरीक्षण गरिसकेकाले विभागले अनुमति दिएपछि ट्रायल सेन्टर भाडामा लिएर नयाँ लाइसेन्स वितरण प्रक्रिया सुरु गरिने दाहालले जानकारी दिए ।
प्रदेश २ सरकारले पुनः लाइसेन्स वितरण गर्ने तयारी गरेसँगै यस क्षेत्रका महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, दोलखालगायतका जिल्लाका सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने भएका छन् । कार्यालयबाट यसअघि बाटो इजाजत, लाइसेन्स नवीकरण, सिफारिस, सवारीधनी प्रमाणपत्र नवीकरणलगायतका सेवा सेवाग्राहीले लिँदै आएका थिए ।
कार्यालयले अनलाइन सेवा पनि सञ्चालन गरेको छ । बर्दिवासबाट सवारी अनुमतिपत्र लिन चाहने सेवाग्राहीले अनलाइनबाटै फर्म भर्न सकिने कार्यालयले जनाएको छ । कर्मचारीको अभाव भए पनि कार्यालयबाट अहिले दैनिक २ सय बढी सेवाग्राहीले सेवा लिइरहेका कार्यालयका नायब सुब्बा पोषण थापाले जानकारी दिए ।

सुनिता बराल

प्रतिक्रिया दिनुहोस्