भारतमा कुटिएका विद्यार्थीको तत्काल उद्धार गर : कांग्रेस «

भारतमा कुटिएका विद्यार्थीको तत्काल उद्धार गर : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत उत्तराखण्डको देहरादूनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन र पीडित विद्यार्थीको अविलम्ब उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरु निर्घात रुपले कुटिएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन् ।
‘आजको विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने विषय सामान्य कुरा बनिसकेको छ । नेपाल र भारत दुवै देशका विद्यार्थी एकापसको देशका विभिन्न सहरमा अध्यनरत छन्। जो जहाँ पढिरहेका छन् सुरक्षित र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन, त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारहरुको हो,’ विज्ञप्तिमा भनिएको छ ।
कुनै पनि बहानामा संसारमा कहिँ पनि कोहि एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोहि पनि नेपाली नागरिक दुव्र्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्ने कांग्रेसले जनाएको छ । देहरादूनमा विजयादशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्धार गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहिँ पनि हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि कांग्रेसले भनेको छ ।
देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीलाई त्यहाँका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले कुटपिट गरेका खुलेको छ । विद्यार्थी कुटिएको विषयमा आफन्तले जानकारी गराएपछि घटना बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस्