८ सय बढी खसी बोका काठमाडौं पठाइँदै «

८ सय बढी खसी बोका काठमाडौं पठाइँदै


दाङबाट यस वर्ष ८ सय भन्दा बढी खसी बोका काठमाडौ पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जिल्लाबाट खसी, बोका खरिद गरेर काठमाडौ ंपठाउन थालेको हो । कम्पनीले ६ सय खसी, बोका काठमाडौ पठाइ सकेको छ भने थप २ सय पठाउने कम्पनीका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिए । पहिलेको कोटा ६ सय भए पनि मंगलबार कम्पनीले थप ४ सय खसी, बोकाको कोटा थप गरेर पठाएको उनले जानकारी दिए । ४ सय खसी, बोका थप गरिए पनि २ सय भन्दा केही बढी मात्र खरिद गर्ने सकिने चौधरीको भनाइ छ । “अन्तयमा आएर कोटा थप गरिएकाले समस्या भएको हो” चौधरीले भने ।
अहिले कम्पनीका कर्मचारीहरु खसी, बोका खरिदका लागि गाउँगाउँमा पुगेका छन् । केहीदिन अघि कोटा थप गरिएको भए सहज रुपमा कोटा अनुसार नै खसी, बोका पठाउन सकिने उनको भनाइ छ । यस वर्ष अघिल्लो वर्ष भन्दा बढी २ सय बढी खसी बोका पठाउन लागिएको छ । कम्पनीले अघिल्लो वर्ष ६ सय वटा खसी बोका खरिद गरेर पठाएको जनाएको छ । जिल्लाको पश्चिम क्षेत्र तथा देउखुरी क्षेत्रबाट खसी खरिद गरिएको कम्पनीले जनाएको छ । देउखुरीमा संहकारी संस्थाहरुले पालन गरिएको खसी, बोका खरिद गरिएको चौधरीले बताए । खसी, बोका खरिद तथा बिक्रीका लागि कम्पनीले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले मूल्य निर्धारण गरेको थियो ।
किसानहरू मारमा नपर्ने गरीे खसी, बोकाको मूल्य निर्धारण गरिएको चौधरीले बताउँछन् । उनका अनुसार २५ केजी भन्दा माथिको खसीको खरिद मूल्य प्रति केजी ५ सय ५० निर्धारण छ । त्यसैगरी २० देखि २५ केजीसम्मको खसीको खरिद मूल्य ५ सय ३५ निर्धारण गरिएको छ भने २० केजी भन्दा माथिका बोका खरिद मूल्य प्रतिकेजी ५ सय ३० रूपैयाँ रहेको उनले जानकारी दिए । “कम्पनीले २० केजी भन्दा कम तौल भएको खसी, बोका खरिद गरिएको छैन” चौधरीले भने ।
ढुवानीमा समस्या हुने भएकाले २० केजी भन्दा कम तौलको खरिद नगरिएको उनले बताए । खरिद गरिएका खसी, बोका ढुवानी गर्ने धेरैले नमान्ने उनको भनाइ रहेको छ । ढुवानी गर्दा खसी, बोकाको मृत्यु भएमा ढुवानी गर्ने गर्नेले व्यहोर्नु पर्ने भएकाले नमान्ने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्