के खोज्छन् कारप्रेमी आफ्नो सवारीमा ? «

के खोज्छन् कारप्रेमी आफ्नो सवारीमा ?

दैनिक उपभोग्य वस्तुको खरिदका लागि मानिसले धेरै चासो दिन थालेका छन् भने र लामो समय उपभोग गर्ने सामानबारे खोजीनीति हुनु अनौठो होइन । मोटो रकम खर्चेर आफूले खरिद गर्न चाहेको वस्तुबारे चासो राख्नु स्वभाविक हो ।
महँगा र दीर्घकालीन उपभोगका सामान मानिसले ब्रान्डेड र सुविधायुक्त नै खोज्छन् । त्यस्तैमध्येको एक वस्तु हो सवारीसाधन (कार) । कुनै पनि ग्राहकले आफ्नो भावी कारमा केकस्ता सुविधा-सुरक्षा विशेषता छन् भनेर खोज्छन् नै । उपभोक्ताले आफूले खरिद गर्ने कारमा खोज्ने तीन वटा विशेषता भनेको आराम, इन्फोटेन्मेन्ट र सुरक्षा हो । यसका अलावा अन्य विशेषता हुँदा खरिदकर्ता थप उत्साहित हुन्छन् ।
सवारी उत्पादकहरूले नयाँ प्रविधिको खोजीमा व्यापक लगानी बढाइरहेका छन् । यो सन्दर्भमा आजभोलि महिनैपिच्छे कारमा नयाँ–नयाँ विशेषता आउन थालेका छन्, जसले गर्दा उपभोक्ताहरूलाई कार छान्न निकै गाह्रो पर्ने गर्छ । ग्राहकहरूले शोरुममा कार हेर्न जाँदा खास के खोज्छन् त ? कुनै पनि ग्राहकले कारमा खोज्ने पहिलो सुविधा भनेको आरामदायी सिट हो । यदि सिटहरू आरामदायी छैनन् भने उनीहरू कुनै हालतमा खुसी हुन सक्दैनन् । कार हेर्न आउने ग्राहकहरूले कम्तीमा १५ देखि २० मिनेट सिटलाई नै नियाल्ने गर्ने गरेका छन् । सँगै उपभोक्ताले सबै कारमा फुल अप्सन सुविधा नै खोज्ने गरेका छन् ।
कारप्रेमीहरूले खोज्ने अर्को सुविधा भनेको हाइट–एड्जस्टेबल स्टेरिङ हो । ग्राहकले परिवारका अन्य सदस्यले पनि चलाउन मिल्ने गरी स्टेरिङ एड्जस्ट गर्न सकिन्छ कि सकिँदैन भन्ने पनि जाँच्छन् । अझ आजभोलि त स्टेरिङमै माउन्ट गरिएको म्युजिक सिस्टम खोज्नेहरूको संख्या धेरै भएको पाइन्छ । आफूले किन्न लागेको कारमा केकस्तो सुरक्षा प्रणली अवलम्बन गरिएको छ भन्नेबारे उपभोक्ता निक्कै सचेत हुन थालेका छन् ।
अहिले उपभोक्ता सामान्य कारमा पनि धेरैभन्दा धेरै फिचर खोज्न थालेको सवारी विक्रेताहरूको भनाइ छ । सवारी उत्पादकहरूले आफ्नो सवारी सकेसम्म धेरै फिचर समावेश गर्ने गरेका छन् । कार उपभोक्ताले हिजोआज पावर विन्डो, डिजिटल स्क्रिन, वायरलेस चार्जर, ब्लूटुथ स्पिकरलगायत सुविधा खोज्ने गरेका छन् । नेपाली कार उपभोक्ताहरू अहिले आफैं इन्टरनेट सर्च गरेर कुन कारमा कस्ता विशेषता छन् भनेर खोज्ने र त्यही अनुरुप शोरुममा जाने गरेका छन् ।
विगतमा कार अति आवश्यक हुने र इज्जतका लागि खरिद गर्ने चलन भएपनि हिजोआज राम्रो आम्दानी हुनेहरू सबैले किन्न थालेका छन् । ग्राहकहरूले सबैभन्दा बढी सोध्ने अर्को कुरा भनेको एयरब्याग हो । कार सस्तो होस् या महँगो, ग्राहकहरू आजभोलि आफ्नो सुरक्षाबारे निकै सचेत भएका छन् । त्यसैले कार हेर्न आउने करिब सबै ग्राहकले एअर ब्याग छ कि छैन भनी सोध्ने गर्छन् । अहिले आउने इन्ट्रिलेवल कारबाहेक सबैजसो कारमा यी सबै विशेषता उपलब्ध हुने गरेका छन् ।
ग्राहकको मनमा आफ्नो र कारको सुरक्षाबारे चिन्ता हुन्छ । त्यसैले उनीहरू कारमा ब्याकअप क्यामेरा र पार्किङ छ कि छैन भन्ने जाँच्छन् । आराम र सुरक्षापछि बल्ल ग्राहकले मनोरञ्जनका सुविधाबारे जान्न खोज्छन् । आजभोलि कारमा एप्पल कारप्ले वा एन्ड्रोइड अटोको सुविधा पाइन्छ । यसले स्मार्टफोनलाई कारको ड्यासबोर्डसँग कनेक्ट गराउँछ ।
कारमा उपभोक्ताले खोज्ने मुख्य विशेषताहरू यस्ता छन् :

ब्लुटुथ कनेक्टिभिटी
यसले मोबाइल फोनमा आउने कललाई ह्यान्डफ्रि रिसिभ गर्न मद्दत गर्छ । त्यसैगरी, मोबाइल इन्टरनेटका सामग्रीलाई कारमा तार नजोडिकनै स्ट्रिम गर्न सकिन्छ ।

३६० डिग्री सराउन्ड–भ्यु क्यामेरा
यसले ड्राइभरलाई चारैतिरको दृश्य सहजै हेर्न सहयोग गर्छ । यसका लागि केही थान क्यामेरा कारको विभिन्न भागमा जडान गरिएको हुन्छ ।
युएसबी पोर्ट
मोबाइल चार्ज गर्न वा संगीत सुन्न सजिलो हुन्छ ।

ड्युअल जोन अटोमेटिक क्ल्याइमेट कन्ट्रोल
यसले कारभित्रको तापक्रमलाई मेन्टेन गर्न सहयोग गर्छ । यसको अटो मोडमा राखियो भने उकुसमुकुस हुँदैन ।

अटोमेटिक हाइ बिम
रातिको समयमा विपरित दिशाबाट कुनै गाडी आयो भने अटोमेटिक रुपमा कारको हाइ बिम लाइट अफ हुन्छ ।

किलेस इन्ट्री
केही कारमा साँचोको प्रयोगबिनै पनि ढोका खोल्ने सुविधा उपलब्ध छन् । यदि तपाईंको दुवै हातमा ब्याग वा बच्चा वा ब्रिफकेस छ भने कारको सेन्सरमा छोएर नै ढोका खुल्ने हुन्छ ।

यसबाहेक ग्राहकले हेर्ने अन्य सुविधाहरूमा कपहोल्डर-आर्मरेस्ट, रियर एसीभेन्ट, अटोमेटिक एसी, इलेक्ट्रिक स्टेरिङ, ग्राउन्ड क्लेरेन्स आदि पर्छन् ।


थरीथरीका हेडलाइट
प्रविधिको विकाससँगै सवारीसाधनमा प्रयोग हुने लाइटमा समेत विविधता देखिन थालेको छ ।
नयाँ आउने सवारीमा नयाँ प्रविधियुक्त हेडलाइट प्रयोग हुने गरेको पाइन्छ ।
हिजोआज बाटोमा देखिने गाडीहरूमा फरक–फरक किसिमका उज्यालो फाल्ने
हेडलाइट देख्न पाइन्छ । सवारीसाधनमा हेलोजीन, एचआईडी, एलईडी र लेजर
लाइटहरू हेडल्याम्पका रुपमा प्रयोग हुने गरेका छन् ।
सवारीमा प्रयोग हुने यस्ता लाइटहरूको प्रकाशको मापन मुख्यतयाः तीन तत्वले
निर्धारण गर्छ । तिनीहरू केल्भीन, ल्यूमनस र वाट हुन् । जसले विभिन्न प्रकारका
बल्बहरूमध्ये कुन बढी उपयुक्त भनी निर्धारण गर्छ ।
केल्भीनलाई छोटोमा ‘के’ भनेर लेखिएको हुन्छ । यसले लाइटको कलर टेम्प्रेचरको मापन गर्छ ।
पहेलो देखिने लाइटको के भ्यालू ३५ सय जति हुन्छ भने सेतो चम्किलो देखिने लाइटको कलर
टेम्प्रेचर ५ हजार–६ हजार के हुने गरेको छ । त्यस्तै, ल्यूमनसले लाइटको ब्राइटनेस जनाउँछ ।
जति धेरै ल्यूमनस त्यति नै धेरै बल्ब ब्राइट हुन्छ । वाटले बल्वको पावर कम्जप्सनको बारेमा
जनाउँछ । तर, कुनै पनि बल्बको वाट धेरै हुँदैमा ब्राइट धेरै दिन्छ भन्ने हुँदैन ।

हेलोजिन लाइट
सवारी साधनमा यो सबैभन्दा धेरै प्रयोगमा आउने बल्बमध्येमा पर्दछ । विगतमा सबै गाडी र मोटरसाइकलमा हेलोजिन लाइट प्रयोग हुन्थ्यो । यसको कलर पहेलो रंगको नर्मल खालको हुने गर्दछ । यो बल्वमा हेलोजिन ग्यास र बीचमा फिलामेन्ट राखिएको हुन्छ, जसमा विद्युत् प्रवाह हुँदा फिलामेन्ट तातेर प्रकाश निक्लन्छ । यसको प्रकाश रिफ्लेक्टर वा प्रोजेक्टरको सहायताले अगाडि भागमा प्रकाश फाल्छ । यो बल्व सबैभन्दा सस्तो र फेर्न सहज हुन्छ । यस्तो बल्वलाई वर्षात्को समयमा प्रयोग गर्न उपयुक्त मानिन्छ ।

एचआइडी जेनन लाइट
हाई इन्टेन्सीटी डिस्चार्ज (एचआइडी) लाइटलाई जनरल लाइट पनि भनिन्छ । यो बल्ब बाहिरबाट हेर्दा हेलोजिनजस्तै देखिए पनि भित्री भागमा केही फरक हुन्छ । यो एक इलेक्ट्रीकल ग्यास डिस्चार्ज लाइट हो । यो लाइटमा फिलामेन्टको सट्टा ग्यासको ट्यूव हुन्छ, जसमा विद्युत् प्रवाह भएपछि प्रकाश निस्कन्छ । यसको कलर टेम्प्रेचर केल्भीन अलि बढी हुन्छ । यसको लाइट पहेंलो नभई सेतोखालको हुन्छ । यसको लाइट चम्किलो हुन्छ र हेलोजिनको दाँजोमा कम पावर खपत हुने र लाइटको लाइफ समेत बढी हुन्छ । यो लाइटको प्रकाश धेरै फैलने भएकोले यसको प्रयोग प्रोजेक्टर हेडल्याम्पमा धेरै गरिँदै आएको छ ।

एलईडी लाइट
एडईडी आधुनिक प्रविधिको लाइट हो । अन्य लाइटको तुलनामा यो लाइटले पावरको खपत ज्यादै न्यून गर्दछ । यो सानो-ठूलो सबै साइजमा बजारमा उपलब्ध छ । एलईडी लाइट निक्कै चम्किलो हुनुका साथै यसको लाइफ पनि धेरै हुन्छ । यदि टुटफुट नभएमा यो फेर्नु पर्दैन । यो अन्य बल्वको दाँजोमा अलि महँगो रहेको छ । कतिपय सहरमा यसलाई निषेध गरिएको पनि छ किनकी यसको ब्राइटनेसले विपरीतबाट आएको सवारी चालकले बाटो देख्न असहज हुन्छ । एलईडी लाइट प्रयोग भएको सवारीले प्रकाश धेरै दिने हुँदा तुवाँलो धेरै लाग्ने बाटोमा भने उपयुक्त मानिन्छ ।

लेजर लाइट
लेजर लाइट नयाँ प्रविधिको अत्याधुनिक लाइट हो । यो एलईडी भन्दा पछिल्लो प्रविधिको लाइट भएकाले यसले एकदमै थोरै पावर खपत गर्छ । यो एकदमै सानो ठाउँमा अटाउनुका साथै यसले एलईडीभन्दा आधा पावर खपतमा एलईडी सरह नै प्रकाश दिन सक्छ । नयाँ प्रविधिको भएकाले हाल केही सवारी कम्पनीहरूले मात्र लेजर लाइटको प्रयोग गरेका छन् । जर्मन कार उत्पादक कम्पनी बीएमडब्लूले लेजर लाइट सुरुमा एउटा मोडल आइ–८ मा प्रयोग गरेको थियो । आगामी दिनमा विद्युतीय तथा हाइड्रोजन कारमा लेजर लाइट प्रयोग हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्