कोरोनाको कहर : बढ्दो दसैंको चहलपहल «

कोरोनाको कहर : बढ्दो दसैंको चहलपहल

हामी नेपालीहरूको महान् चाड बडादसैं नजिकिँदै आएको छ । उपत्यकाबाहिरबाट यहाँ पढाइ र कामको सिलसिलामा आएका मानिसहरू यतिबेला घर जानका लागि सामानको किनमेल तथा घर जाने तरखर गरेर बसेका छन् । विश्वभरि नै फैलिएको कोरोनाको कहरले हाम्रो देश पनि अछुतो रहन सकेन । अझै दिनप्रतिदिन उपत्यकामा बढ्दै गएको संक्रमितको दरले सर्वसाधारणमा झनै कोरोनाको त्रास बढ्दै गएको छ । त्यसमाथि आउँदै गरेको हामी नेपालीहरूको महान् चाडले संक्रमितको दर बढाउने सम्भावना रहेको छ । दसैँ नजिकिएसँगै बजारमा व्यापारीहरूले पुरानो स्टक सामानहरूमा भए पनि ‘एउटा किन्दा अर्को सित्तैंमा’, ‘५० प्रतिशत छुट’, ‘२० प्रतिशत छुट’ जस्ता विज्ञापन प्रसारण गरेर तथा डिस्प्ले गरेर भए पनि ग्राहकहरूलाई आफ्नो पसलतर्फ आकर्षित पार्न खोजेका छन् । बढी चहलपहल हुने व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्युरोड, लगनखेल, कुमारीपाटीजस्ता स्थानहरूमा यस्तो महामारीको समयमा पनि गत सालको दाँजोमा जस्तो भीड नभए पनि चहलपहल बढ्दै गएको छ । सरकारले अत्यावश्यक सामान तथा पूजाआजाका सामानहरू मात्र खरिद–बिक्री गर्न आग्रह गरे पनि बिस्तारै–बिस्तारै बजारमा भीड बढ्दै गएको छ । हामीहरू के बुझ्छौं भने कोरोनाको कहरले गर्दा दसैंमा कतै जान पनि सुरक्षित छैन, तर ससाना बालबालिकाका लागि त दसैं एउटा यस्तो चाड हो, जुन बेला बुबाआमाले नयाँ लुगा किनिदिने, चंगा उडाउने, पिङ खेल्ने र टीका लगाएर नयाँ–नयाँ पैसा लिने दिन हो भन्ने मनस्थिति उनीहरूमा छ । जसका कारणले गर्दा पनि अभिभावकहरू बजारमा दसंैको किनमेल गर्न बाध्य भएका छन् । उपत्यकाबाहिरबाट यहाँ बसोबास गर्दै आएका कतिपय मानिस पनि घर फर्कने क्रममा घरमा बस्नुभएका आफ्नो परिवारका लागि आवश्यक सामानहरू खरिद गर्न जानाले पनि बजारमा अहिले भीड बढेको छ । अझै भन्नुपर्दा त पहाडतिर ससाना बच्चाहरू काठमाडौंबाट आफ्ना बुबाआमा तथा आफन्तजनहरूले दसैंमा घर आउँदा केके ल्याइदिने हो भनेर आससमेत गरेर बसिरहेका हुन्छन् ।
अहिलेको समयमा अनलाइन व्यवसाय एकदम फस्टाए पनि अनलाइनमार्फत खरिद गरेको सबै सामान भने चित्तबुझ्दो नहुने स्वयम् मेरै अनुभव छ । यही प्रसङ्गसँग सम्बन्धित केही दिनअघिको मात्र एउटा कुरा हो, मैले अनलाइनमार्फत तीनवटा सारी खरिद गरें, तर सोचेजस्तो नपाएपछि म आफंै उक्त पसल खोजी गरेर सारी साट्न भनेर गएर साटेर ल्याएँ । यही अप्रिय अनुभवले गर्दा यस्तो कोरोनाको कहरमा मेरो साढे तीन वर्षको छोरालाई दसैंका लागि भनेर पुल्चोकको एउटा पसलमा गत शनिबार गएर केही कपडा किनेर ल्याएँ । पसलमा सावधानी पूरै अपनाइएको थियो । पसलेहरूको के पनि गुनासो थियो भने गत सालको तुलनामा यो साल व्यापार छैन, किनकि कोरोनाको त्रास र नयाँ सामानहरू ल्याउन नसक्नाले पनि व्यापार खासै हुन सकेको छैन । सरकारले दसैं ‘जहाँ छौ त्यहीं बसेर मनाऊँ’ भनेर आग्रह गरे पनि यस्तो बढ्दो चहलपहलले संक्रमण धेरै बढ्न सक्ने सम्भावना देखाउँछ ।
त्यसैले यस्तो विषम परिस्थितिमा स्वयं आफू सजग भएर हिँड्ने, बस्ने, स्वास्थ्यको मापदण्ड अपनाउने, अनिवार्य मास्क लगाउने, स्यानिटाइजर लगाउने र बारम्बार साबुनपानीले हात धोएर रोगप्रति पूर्वसतर्कता अपनाउने हो । यो यस्तो रोग हो जसले बच्चा, बूढा तथा आफन्तजन भन्दैन । दसंैमा टीका लगाउन टाढा–टाढा र धेरै भीडभाड पनि नगरौं, किनकि आफू र आफ्नो परिवार स्वस्थ रहे दसैं भनेको अर्को साल पनि आउँछ । त्यसैले स्वस्थ र निरोगी रहनुस् । उपत्यकामा बढ्दो कोरोना कहरले गर्दा हिन्दूहरूको महान् चाड बडादसैं नजिकिएसँगै दिनप्रतिदिन मानिसहरूको चहलपहल पनि उत्तिकै मात्रामा बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्