१५ हजार विपन्नलाई रोजगारी «

१५ हजार विपन्नलाई रोजगारी

जुम्ला-चालू आर्थिक वर्षमा जुम्लाका १५ हजार बढी अतिविपन्नले सय दिनको रोजगारी पाउने भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यहाँका आठै स्थानीय तहका गरी १५ हजार २ सय ५१ जनाले सय दिनको रोजगारी पाउने भएका हुन् । रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचीकृत भएका १५ हजार २ सय ५१ जनाले रोजगारी पाउने छन् । आवेदन परेकामध्येबाट कोरोनाले रोजगारी गुमाएका, आर्थिक अवस्था कमजोर भएका अतिविपन्न बेरोजगारलाई छनोट गरिएको हो ।
सय दिनको रोजगारीका लागि सूचीकृत हुनेमा चन्दननाथ नगरपालिकामा ३ हजार रहेका छन् भने तिलामा १ हजार २ सय ६२, हिमामा २ हजार १ सय ६५, सिन्जामा १ हजार ७ सय ३ र पातारासीमा १ हजार २ सय ८३ छन् । त्यस्तै तातोपानीमा १ हजार ३ सय ५६, गुठिचौर १ हजार ८ सय ५३ र कनकासुन्दरी गाउँपालिकामा २ हजार ६ सय २९ गरी १५ हजार २ सय ५१ ज्ना सय दिनको रोजगारीका लागि सूचीकृत भएका छन् ।
सरकारले ८ साउन २०७७ देखि भदौ ७ सम्म स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । सबै पालिकाको वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएकालाई मात्र रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको हिमा गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलले जानकारी दिए ।
सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम १ सय दिनको काममा लगाइने छ । कनकासुन्दरी गाउँपालिकाका रोजगार संयोजक हंशराज न्यौपानेले भने, “प्रतिदिनको ५ सय १७ रुपैयाँका दरले सय दिनमा प्रतिव्यक्तिले ५१ हजार ७ सय रुपैयाँ कमाउने छन् ।”
कुनै आयआर्जनको माध्यम नभएका, कोरोनाले गर्दा रोजीरोटी गुमाएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमले ठूलो राहत पु¥याएको छ । संघीय सरकारले आठै स्थानीय तहमा ५१ लाखका दरले गरी ४ करोड ८ लाख बजेट विनियोजन गरेको छ ।
यस वर्ष विश्व बैंकको सहकार्यमा युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना र नेपाल सरकारको सहयोगमा कामका लागि पारिश्रमिक सामुदायिक आयोजनाबाट देशभर करिब ५ लाख रोजगारी सिर्जना गर्न ११ अर्बभन्दा बढी रकम सरकारले विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्