उत्पादनका आधारमा दूध किसानले अनुदान पाउने «

उत्पादनका आधारमा दूध किसानले अनुदान पाउने

milk splash


गोरखाका दूध उत्पादक किसानले उत्पादनका आधारमा अनुदान पाउने भएका छन् । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यो वर्षबाट दूध उत्पादनको आधारमा किसानलाई अनुदान दिने कार्यक्रम तय गरेको हो । दैनिक २ सय लिटरसम्म दूध संकलन र बिक्री गर्ने सहकारीमार्फत किसानलाई एक लिटरमा साढे दुई रुपैयाँका दरले अनुदान दिने गरी कार्यक्रम तय भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख इन्द्रबहादुर भट्टले बताए ।
“गोरखामा योकार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्ष ४५ लाख रुपैयाँ बजेट परेको छ” उनले भने, “सञ्चालन मापदण्ड २०७७ अनुसार दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्दै उत्पादन बढाउनका लागि अनुदान कार्यक्रम ल्याइएको हो । अनुदानका लागि दूध उत्पादन सहकारीहरुले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा आवेदन दिन सक्नेछन् ।” यसरी आवेदन दिने सहकारी संस्थाले संस्थागत रुपमा दूध बिक्री गरेको हुनुपर्ने र संस्थागत रुपमा बिक्री नगरेको भएमा दूधलाई पास्चराइज तथा सिलबन्दी प्याकेजिङ गरी बिक्री गरेको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
आवेदन दिने सहकारीले दैनिक कम्तिमा २ सय लिटर र वार्षिक कम्तिमा २ सय दिन दूधको कारोबार गरेको हुनुपर्ने मन्त्रालयको दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन मापदण्डमा उल्लेख गरिएको छ । छनौट भएका सहकारीलाई प्रति सहकारी वार्षिक ३ लाख ५० हजार लिटर दूधका लागि अनुदान रकम उपलब्ध गराइने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जानकारी दिए ।
“सहकारीले प्रोत्साहनका लागि पाएको रकममध्ये किसानलाई प्रतिलिटर २ रुपैयाँ ५० पैसाका दरले उपलब्ध गराउनु पर्नेछ” उनले भने, “सहकारीले प्राप्त प्रोत्साहन रकम किसानको खातामा राखिदिनुपर्ने र त्यसको विवरण मन्त्रालयमा उपलब्ध गराउनु पर्ने गरि मापदण्ड बनाएका छौं ।” प्रोत्साहन रकममध्ये बढीमा ४ प्रतिशत कार्यक्रम सञ्चालन स्वरुप सहकारीमा राखेर बाँकी रकम सम्बन्धित किसानलाई उपलब्ध गराउनु पर्ने पनि मन्त्री थापाले जानकारी दिए । दूध उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य प्राप्तिमा यो कार्यक्रमले सहयोग पुग्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्