वैदेशिक रोजगारी व्यवास्थित गर्न जोड «

वैदेशिक रोजगारी व्यवास्थित गर्न जोड


वैदेशिक रोजगार क्षेत्रका सरोकारवाला तथा विज्ञले कोरोना कोभिड–१९ पछि ठूलो संख्यामा नेपाली युवायुवतीलाई वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्ने भन्दै स्वास्थ्य सुरक्षाका साथ भर्ना प्रकृयामा नीतिगत परिवर्तनको आवश्यकता औँल्याएका छन् ।
हाम्रो सम्मान परियोजनकोे सहकार्यका वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कोभिड पछिको वैदेशिक रोजगार चुनौतीसम्बन्धी अन्तरक्रियामा सरोकारवालाहरुले स्वदेशमै रोजगारीका लागि राज्यले ठोष नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् ।
कोभिड–१९ का कारण विदेशमा समेत रोजगारीको सम्भावना कम हुने तर नेपालमा रोजगार आकांक्षी धेरै हुने भएकाले शोषणको क्रम बढ्न सक्ने भन्दै उनीहरुले भर्ना प्रकृयादेखि रोजगार गन्तव्य मुलुकको स्वास्थ्य प्रोटोकलमा नेपाली कामदारलाई विशेष अभिमुखीकरण गरिनु पर्नेमा जोड दिए ।
हाल ३१ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेपनि त्यसको ठूलो हिस्सा श्रम सम्झौता नभएका मुलुकमा रहेको भन्दै उनीहरुले सरकारले श्रम सम्झौताका माध्यमबाट आफ्ना नागरिकहरुको अधिकार रक्षा गर्नुपर्ने सुझाव समेत दिए ।
गत वर्ष फागुन ३० गतेबाट रोकिएको श्रम स्वीकृति गत असार १८ गतेबाट खुला गरिएपनि नयाँ मागपत्र नआएको र कतिपय दूतावासहरुले जनशक्तिलगायतका समस्या देखाएर मागपत्र प्रमाणिकरण नगर्दा नेपाली कामदारका लागि आउने माग अन्य देशमा जाने खतरा समेत रहेकाले नेपाली नियागेहरु सचेत हुनुपर्ने उनीहरुले औल्याए ।
कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले कोभिडका कारण नीतिगत र व्यहारिक रुपमा चुनौती थपिएको भन्दै तत्कालका लागि सेवा प्रवाह र कामदारको स्वास्थ्य अवस्थामा चुनौती देखिएको बताए ।
विभागले केही वर्ष यता कार्यान्वयनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीबाट काम गर्दा श्रम स्वीकृतिको प्रकृयालाई सहज बनाएपनि कामदारको आँखाको रेटिना लिने काम ‘आईरिश’ का लागि कार्यालयमा बोलाउनु पर्ने भएकाले केही समस्या रहेको जानकारी दिए ।
वैदेशिक रोजगार सूचना प्रणलीलाई अध्यागमनसँग जोडेको र पुनः श्रमस्वीकृतिको बिमा भुक्तानीको काम पनि अनलाइनबाटै भइरहेकाले पुनः श्रम स्वीकृति लिन नेपाल आउनु पर्ने बाध्यताको अन्त्य गर्ने भन्दै महानिर्देशक दहालले नेपालको वैदेशिक रोजगारलाई आन्तरिक र बाह्य दुवै तर्फबाट सुधार आवश्यक रहेको बताए ।
वैदेशिक रोजगार ऐनले निजी क्षेत्रलाई ठूलो विश्वास गरेको तर निजी क्षेत्र सो अनुसार जिम्मेवारी बहन नगरेका कारण यो क्षेत्र अपेक्षित रुपमा सफल देखिन नसकेको महानिर्देशक दहालको टिप्पणी छ ।
“नेपालमा वैदेशिक रोजगारसँग जोडिएका १ हजार ४ सय निजी संस्था रहेका छन्, उनीहरु सबैलाई निगरानी गर्न समस्या रहेको छ । त्यसैले निजी क्षेत्रले आफूलाई मर्यादित गर्न जरुरी छ” उनले भने, “वयवसायिक मर्यादाको लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आवाज उठाउनु पर्छ ।”
वैदेशिक रोजगार अपेक्षित सुरक्षित हुन नसक्नुमा विदेशस्थित नेपाली दूतावासहरुमा दक्ष जनशक्ति अभाव पनि एउटा कारण रहेको महानिर्देशक दहालले उल्लेख गरे । “नेपाली नियोगहरुको क्षमताले कामदारहरुको अनुगमन र निगरानी गर्ने तथा उचित तरिकाले गुसानो सुन्ने अवस्था छैन, श्रम कुटनीतिलाई जोड दिनुपर्छ ।” उनले भने, “युरोपमा डिमाण्ड बढेको छ, तर नेपाली नियोगहरुको संख्यात्मक उपस्थितिले त्यसलाई नेपालमा ल्याउन सकिरहेको छैन । नेपाली कामदारहरु स्वदेशमा भन्दा धेरै गन्तव्य मुलुकमा पनि ठगीमा परेका छन् ।”
महानिर्देशक दहालले कोभिडका कारण मध्यपूर्व केन्द्रित नेपालीको रोजगारी सरेर युरोपतिर सर्दै गरेको भन्दै त्यसलाई नेपालीको पक्षमा ल्याउन कामदारलाई दक्ष बनाएर पठाउनुको विकल्प नरहेका बताए ।
विभागका पूर्व महानिर्देशकसमेत रहेका नेपाल सरकारका पूर्वसचिव एवं श्रम विज्ञ पूर्णचन्द्र भट्राईले सरकारले बाध्यताको वैदेशिक रोजगारी हटाई लाभदायक वैदेशिक रोजगारीको चरणमा प्रवेश गरेकोले अब मर्यादित कामको अवस्थामा पुग्नुपर्ने अवस्था आएको बताए ।
सरकारले यो वर्ष ८ लाख युवालाई आन्तरिक रोजगारी दिने लक्ष्य रोखेको भन्दै त्यसले वैदेशिक रोजगारी माथिको दवाव कम गर्ने उनले बताए । विगत सात महिनाको अभ्यासले अब कोरोनासँगै बाँच्नुपर्छ भन्ने ‘न्यु नर्मल सिचुएसन’को अवस्थामा जानुपर्ने भन्दै भट्राईले वैदेशिक रोजगारको श्रम स्वीकृतिको नयाँ चरण सुरु गर्नु अगाडी रोजगारीमा जाने कामदारको अभिमुखीकरण कार्यक्रममा कोभिडको क्याप्सुल कोर्ष जोड्नु पर्ने सुझाव दिए ।
सेवा प्रवाहकर्ताको सुरक्षा गर्न अनलाइन प्रविधिमा जानुपर्ने र सरकारी कार्यस्थलमा कोभिडसँग जुध्न सहज हुनेगरी पुनःव्यवस्थापन गर्ने तथा सिफ्टमा काम गर्ने प्रणालीको सुरुवात गरी सेवा दिनुपर्ने बताए ।
स्वास्थ्य मापदण्ड, विमानस्थल अध्यागमन, गन्तव्य मुलुकहरुको स्वास्थ्य प्रोटोकल बनाएर कामदारहको हातमा दिए वैदेशिक रोजगारमा नयाँ सुरुवात हुने भन्दै भट्राईले अनावश्यक रुपमा बढ्ने कामदारको अपेक्षा सूचनामा पहुँच पु¥याएर घटाउन सक्नु पर्ने बताए ।
“एजेन्टकोमा जाने कुरा थाहा छ, तर रोजगार सूचना केन्द्र वा म्यानपावर कम्पनीमा जाने कुरा थाहा छैन । यसमा सुधार गर्नु पर्छ ।” उनले भने, “वैदेशिक रोजगारमा सुशासन ल्याउन दुतावासको क्षमता बढाएर डिमाण्ड प्रमाणिकरण छिटो हुनुपर्छ ।”
वैदेशिक रोजगारलाई सुधार गर्न संविधानले दिएको अधिकार स्थानीय सरकारले सही तरीकाले अधिकार प्रयोग गर्न नसकिरहेका भन्दै स्थानीय तहमा पनि अभिमुखीकरण आवश्यक रहेको उनले बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ कोभिडका कारण लगभग ७ महिनादेखि थला परेका भएपनि व्यवसायीहरु कार्यालय सञ्चालनको चरणमा प्रवेश गरेको जानकारी दिँदै आगामी दिनमा व्यवसाय सुरु गर्दा व्यवस्थित र मर्यादित गर्नुपर्ने बाध्यता रहेको बताए । वैदेशिक रोजगारी सहज भए कम्तीमा १२ देखि १३ लाख युवा श्रम बजारमा आउने आकलन गर्दै महासचिव श्रेष्ठले उनीहरुलाई समेट्ने गृहकार्य भने सरकारी स्तरबाट नभइरहेको बताए ।
भिसा आएका कामदारको सम्वन्धित श्रम स्वीकृति गन्तव्य देशको सिफासिरमा गर्ने भनिएपनि नेपाली दूतावासहरुले मागपत्र प्रमाणिकरण नगरेकोले ठूलो समस्या रहेको श्रेष्ठले बताए ।
कार्यक्रममा वैदेशिक रोजगार अनुसन्धानकर्ता रामेश्वर नेपाल, निलाम्बर बराल, अधिवक्ता कृष्ण न्यौपाने आइएलओ प्रतिनिधि नेहा चौधरीलगायतले नेपालको वैदेशिक रोजगार क्षेत्रको आर्थिक र सामाजिक समस्या के के हो छुट्याउने पर्ने आवश्यता रहेको भन्दै त्यसमा सहकार्यका आधरामा नीतिगत परिवर्तन आवश्यक रहेको बताए । कार्यक्रममा समाजका उपाध्यक्ष उद्धवराज भटेराईले कोभिड पछिको वैदेशिक रोजगारका सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्