जुम्लामा खाद्यान्नको मौज्दात पर्याप्त «

जुम्लामा खाद्यान्नको मौज्दात पर्याप्त

जुम्ला-कुनै समय दसैं तिहार मनाउन महिनौ दिन पैदल हिँडेर नुन चामल ल्याउनु पर्ने कष्ट थियो । खाद्य संस्थानको चामल पाउन नेताहरुको पाउ मल्नु पथ्र्यो । कुपन पाए पनि चामल पाउन प्रहरीको लाठी सहुन पर्ने, १-२ दिनको बास बस्नु पर्ने बाध्यता जुम्लाबासीलाई आजै जस्तो लाग्छ । एक दशक पहिलेसम्म जुम्लामा पर्याप्त खाद्यन्न मौज्दात नहुने, दसैं तिहारमा संस्थानको चामलमा पनि पँहुच हुनेहरुकै राजनीतिले सर्वसाधारणलाई निकै कष्ट हुन्थ्यो । विपन्न समुदायको घरमा दसैं तिहार जस्ता महान चाडमा पनि कुनै रौनकता हुन्थेन । तर आजभोली जतिखेर पनि संस्थानको सस्तो र स्वादिष्ट चामल पाउने भएपछि विगतलाई सम्झँदै जुम्लाबासी परिवर्तनको अनुभुति भएको बताउँछन् ।
दूधे बालक च्यापेर संस्थानको लाइनमा बसेकी महिलाले पनि चामल पाउनका लागि प्रहरीको लाठ्ठी खानुपर्ने अवस्था थियो । तर अहिले घर नजिकै सडक पुग्यो, विकास भयो, भलै खाद्यन्नको अभाव त छैन । तर विपन्न नागरिकको दिनचर्यामा खासै फेरबदल भएको छैन । विपन्न समुदायको आर्थिक स्थिति पनि अझै बजारको महंगीसँग तालमेल खाने अवस्था छैन । विपन्न व्यक्ति, जेष्ठ नागरिक, एकल महिला, बेरोजगारहरुले एक महिनामा खर्च गर्ने रकमले बजारको एक कट्टा चामल पनि आउँदैन् । जसका कारण खाद्य संस्थानको चामल खानेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
विगत ६÷७ वर्ष यता सर्वसाधारणको मागलाई मध्यनजर गर्दै जुम्लामा खाद्यन्न अभाव भएको छैन । सरकारले समयमै आपूर्ति गरिरहेको अवस्था छ । विगतका वर्षमा चाडपर्वकै बेलामा पनि शुन्य मौज्दात रहने जुम्ला खाद्य संस्थानको डिपो केही वर्षयता १२ महिना भरिएको हुन्छ । कोरोनाको महामारीमा समेत खाद्य संकट भाग्नु नपरेका जुम्लाबासीलाई यस वर्र्ष दसैं तिहारमा पनि खाद्य संकट नहुने नेपाल खाद्य संस्थान जुम्लाका प्रमुख तिलक सुनारले बताए ।
उनका अनुसार दसैं तिहारका लागि जुम्लामा करिब एक हजार क्वीन्टल खाद्यन्न मौज्दात रहेको छ ।

प्रतिक्रिया दिनुहोस्