आईएमएफको वार्षिक बैठकमा गभर्नर अधिकारी सहभागी «

आईएमएफको वार्षिक बैठकमा गभर्नर अधिकारी सहभागी


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी भएका छन् । बैठकमा अधिकारीले आईएमएफका विभिन्न प्रतिनिधिहरुसँग कोभिड–१९ ले नेपाली अर्थतन्त्रमा पारेको असर र यसको न्यूनीकरणबारे छलफल गरेको राष्ट्र बैंकले जनाएको छ यस्तै द्विपक्षीय हित प्रवद्र्धन, आर्थिक तथा प्राविधिक सहयोगका क्षेत्रहरुका बारेमा पनि छलफल भएको बताइएको छ ।
विश्व बैंक समूहअन्तर्गतको आईएमएफको वार्षिक बैठकमा सहभागिताका क्रममा अधिकारीले आईएमएफका प्रतिनिधिहरुसँग भर्चुअल साइड मिटिङ गर्दै यसबारे छलफल गरेका हुन् ।
आईएमएफले वर्षेनी आयोजना गर्दै आएको एनुअल मिटिङ यसवर्ष कोभिड–१९ प्रभावका कारण भर्चुअल रुपमा आयोजना भएको थियो । बैठक अक्टोबर १२ देखि १८ सम्म आयोजना भएको थियो । यसैक्रममा अक्टोबर १५ मा आयोजित प्लेनरी सेशन र ‘टोरन्टो सेन्टर राउण्डटेबल डिस्कशन’ मा समेत गभर्नर अधिकारी सहभागी भएका थिए । अधिकारीले आईएमएफका डेपुटी मेनेजिङ डाइरेक्टर ताओ झाङसँग अक्टोबर १३ मा नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर तथा त्यसको न्यूनीकरणबारे छलफल गरेको राष्ट्र बैंकले जनाएको छ ।
सोही दिन अधिकारीले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्ट अल्फन्सो ग्रेसिया मोरासँग पनि छलफल गरे । छलफलमा मोराले नेपालको वित्तीय क्षेत्रको संस्थागत पुनर्संरचना, वित्तीय क्षमता अभिवृद्धि, जलविद्युत्मा लगानी, डेभलपमेन्ट पोलिसी क्रेडिट, स्वदेशी मुद्रामा बण्ड जारी लगायतका विषयमा चासो राखेका थिए ।
अक्टोबर १६ मा गभर्नर अधिकारीले आईएमएफका साउथ इष्ट भोटिङ ग्रुप (एसईएभीजी) का कार्यकारी निर्देशक अलिसरा महासन्दना र वैकल्पिक कार्यकारी निर्देशक केङ हेङ तानसँग भर्चुअल साइड मिटिङ गरे । त्यस क्रममा महासन्दना र तानलाई अधिकारीले कोभिड–१९ ले नेपालको आर्थिक स्थिति र मानव स्वास्थ्यमा परेको असरबारे जानकारी गराएको राष्ट्र बैंकले जनाएको छ ।

विश्व बैंक समूहको यस वार्षिक बैठकमा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पनि आईएमएफको मोनिटरी एन्ड क्यापिटल मार्केट डिपार्टमेन्टको भर्चुअल बैठकमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्