एकै किसिमको कृषि नीति बनाउने पहल «

एकै किसिमको कृषि नीति बनाउने पहल

भरपर्दो नीति बन्न नसक्दा स्थानीय सरकारले विनियोजन गरेको रकमसमेत सही प्रयोग हुन नसकेकोप्रति निर्वाचित प्रतिनिधिसमेत चिन्तित देखिएका छन् ।

पाँचथर-स्थानीय तहहरूले कृषि क्षेत्रमा फरक–फरक नीति बनाउँदा किसानलाई समस्यामा पारेको ठहर गर्दै अब एकै किसिमको नीति निर्माणको पहल सुरु भएको छ । राष्ट्रिय कृषक समूह महासंघको अगुवाइमा पाँचथरका सबै स्थानीय तहका लागि एकरूपता ल्याउने गरी कृषि नीति बनाउने पहल थालिएको हो ।
नीति निर्माणका लागि कृषक महासंघले हाल जिल्लाका विभिन्न स्थानमा पुगेर जननिर्वाचित प्रतिनिधिलाई भेटेर त्यसबारेमा जानकारी गराइरहेको छ । त्यस्तो कार्यक्रम जिल्लाका आठ स्थानीय तहलाई समेट्ने गरी आयोजना भइरहेका छन् ।
भरपर्दो नीति बन्न नसक्दा स्थानीय सरकारले विनियोजन गरेको रकमसमेत सही प्रयोग हुन नसकेकोप्रति निर्वाचित प्रतिनिधिसमेत चिन्तित देखिएका छन् । “नीति नबनेकै कारण अघिल्लो वर्ष हामीले सस्तो ब्याजमा वितरण गर्न लागेको रकम विनियोजन हुन सकेन,” तुम्बेवा गाउँपालिकाका उपाध्यक्ष धनप्रदास सावाँले भने, “एक रूपैयाँ ब्याजमा गाउँपालिकाले रकम विनियोजनको तयारी गरे पनि कसैले पनि सेवा लिन आएनन् ।” उनले नागरिककै लागि समान नीति बनाउन लागिएको बताए ।
महासंघले उन्नति समावेसी वृद्धि कार्यक्रमको सहयोगमा जिल्लाका आठ स्थानीय सरकारलाई कृषि नीतिको एकरूपता र प्रभावकारिताका लागि सहयोग थालेको हो । “हामीकहाँ वातावरण सुहाउँदो नीति छैन,” महासंघका अध्यक्ष गणेश पोख्रेलले भने, “नीति नै नभएपछि थिति कसरी बन्छ ? हाम्रो पहिलो प्रयत्न प्रत्येक गाउँपालिकामा कृषि नीति बन्नु हो ।”
यासोकमा भेला भएका त्यस क्षेत्रका दुई गाउँपालिकाका निर्वाचित प्रतिनिधिले नीति निर्माणमा बिलम्ब नगर्ने बताएका छन् । कृषि नीतिको निर्माण र प्रयोगसँगै समग्र समृद्धिको सुरुवात हुने भएकाले बिलम्ब गर्न नहुनेमा त्यस क्षेत्रका प्रतिनिधि एक भएका छन् ।
जिल्लाको एक नगरपालिकासहित ८ गाउँपालिकामा बन्ने नीतिले जिल्लाका समग्र विकासमा सहयोग गर्ने महासंघले जनाएको छ । पहिलो चरणमा गाउँगाउँमै पुगेर नीति निर्माणमा सचेत गराइरहेको महासंघले जनाएको छ । गाउँ तहको कार्यक्रम सकेर जिल्लामा प्रमुखहरूको भेलाबाट जिल्लामा कस्तो कृषि नीति बन्ने भन्नेबारेमा निर्णय लिइने भएको छ । गाउँगाउँमा हुने कार्यक्रममा महासंघका तर्फबाट कृषि नीतिमा समावेस हुने विषयमध्येका केही प्रस्ताव गरिँदै आएको छ ।
महासंघको तयारी अनुसार कृषि नीतिमा समावेस गर्न सकिने ३७ वटा विषय सबै क्षेत्रका लागि मिल्ने बताइएको छ । महासंघका अनुसार कृषि विषयको पाठ्यक्रममा सुधारदेखि लैंगिक विभेदको अन्त्य, बालश्रमको अन्त्यलगायतका विषय छन् । त्यस बाहेक ३७ बुँदामा असल कृषि अभ्यास, माटो बचाउ कार्यक्रम, उन्नत बिउ, भण्डारण सुधारलगायतका विषय समावेस छन् ।
कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख हर्सहाङ राईले कृषि क्षेत्रको उन्नतीका लागि नीति नै पहिलो प्राथमिकता भएको बताए ।

दिपक बोहोरा

प्रतिक्रिया दिनुहोस्