भैंसीपालनबाट मासिक ३२ हजार आम्दानी «

भैंसीपालनबाट मासिक ३२ हजार आम्दानी

सल्यान-स्वदेशमा काम नपाएको भन्दै विदेशीने युवाको जमात बढीरहेका बेला सल्यानका एक युवा भैंसीपालन गरेर राम्रो आम्दानी गर्न सफल भएका छन । घर नजिकैको सहकारी र आफन्तबाट ५ लाख रूपैयाँ ऋण लिएर व्यावसायिकरूपमा भैंसीपालन सुरु गरेका सल्यान शारदा नगरपालिका–५ रातामाटाका फत्तेजंग घर्तीले मासिक ३२ हजार रूपैयाँ आम्दानी गर्न सफल भएका हुन् ।
आफ्नै जमिनमा खाली खोला भैंसीपालन फार्म सञ्चालन गरेका घर्तीले ८ वर्षसम्म तरकारी खेती गरेको अनुभवसमेत संगालेका छन् । केही वर्ष तरकारी खेतीसमेत सञ्चालन गरेका उनले २०७० साल जेठबाट व्यावसायीक भैंसीपालन सुरु गरेका हुन् ।
अहिले उनको फार्ममा ४ वटा भैंसी, एउटा राँगो र २ वटा साना पाडा-पाडी छन् । सिजनका बेला (साउन महिनामा) ८५ हजार रूपैयाँको दूध मात्र बिक्री गरेको बताउने उनले अहिले दैनिक १८ लिटर दूध बिक्री गर्दै आएका छन् । प्रतिलिटर ६० रूपैयाँका दरले उनले दैनिक १ हजार ८० रूपैयाँ दूधबाट मात्र आम्दानी गर्दै आएका छन् ।
शारदा नगरपालिका–३ थापागाउँमा रहेको चेतना सामाजिक डेरी उद्योगमा दूध पु-याउने गरेको घर्तीले बताए । दूध बिक्री गर्न समस्या नभएकाले निकट भविष्यमा अन्य कुनै स्थानमा अझ ठूलो क्षेत्रमा व्यापक तरीकाले भैंसीपालनको सोच बनाएको उनको भनाइ छ ।
९० हजार रूपैयाँदेखि १ लाख रूपैयाँसम्मका भैंसी खरिद गरेका उनले भैंसीको बिमासमेत गरेका छन् । उनले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा १ लाख रूपैयाँ बराबरको बिमा गरेका छन् । भैंसी फार्ममा घर्तीकी श्रीमती देवा घर्तीले पनि सहयोग गर्दै आएकी छन् ।
हरियो घाँसका लागि सामुदायिक वन र नर्सरीको घाँस किन्ने गरेको उनले बताए । २०५२ सालमा एसएलसी पास गरेका घर्तीले अहिलेसम्म जिल्ला पशु कार्यालय सल्यानबाट गोठ सुधारका लागि भन्दै ६० हजार रकम अनुदान पाएको र अन्य सरकारी अनुदान अहिलेसम्म नपाएको उनी बताउँछन् । ऋण काडेर भैंसीपालन व्यवसाय थालेका उनले स्थानीय सरकारबाट सहयोग पाए व्यावसायीकरूपमै भैंसीपालन गर्न सहज हुने बताए ।

मेघा रेउले

प्रतिक्रिया दिनुहोस्