महासंघमा मनोनयन सुरु «

महासंघमा मनोनयन सुरु

ढकालसहित प्यानलका तीन उपाध्यक्षको पहिलो मनोनयन

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसहित नयाँ नेतृत्व चयनका लागि मंसिर दोस्रो साता हुने निर्वाचनका निमित्त मनोनयन दर्ता सुरु भएको छ । महासंघले मंसिर ११ र १२ गते ५४ औं साधारणसभा र १३ गते निर्वाचनको मिति तय गरेसँगै मनोनयन सुरु भएको हो । बुधबारदेखि सुरु भएको मनोनयन मंसिर ४ गतेसम्म गर्न सकिने जनाइएको छ । महासंघको सूचनामा इमेलबाटै मनोनयन दर्ता गर्न सकिने र त्यसको सक्कल कागजात भने मंसिर ४ गतेभित्र बुझाइसक्नुपर्ने उल्लेख छ ।
उम्मेदवारको पहिलो नामावली मंसिर ४ गते नै प्रकाशन हुनेछ भने सक्कल कागजातका आधारमा मंसिर ५ गते उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ । यस्तै, मतदान गर्न पाउने सदस्यहरूको नामावली मंसिर २ गते नै प्रकाशन हुनेछ भने त्यसको भोलिपल्टसम्म नामावलीमाथि दावी विरोध गर्न पाइनेछ । मतदान गर्न पाउने सदस्य तथा प्रतिनिधिको अन्तिम नामावली मंसिर ११ गते प्रकाशन हुने तथा उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने समय मंसिर ६ गतेदेखि ८ गतेलाई तोकिएको छ । मंसिर ८ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने तथा १३ गते बिहान निर्वाचन भइ निर्वाचन सम्पन्न भएलगत्तै गणना गरी नतिजा घोषणा गरिने उल्लेख छ । महासंघले निर्वाचन समितिमा उपेन्द्रकेशरी न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत तथा लिलामणि पौडेल र रमण कुमार कर्णलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ । चैतमै हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड १९ को प्रभावका कारण रोकिएको थियो । सरकारले स्वास्थ्य प्रोटोकल पालना गरी मंसिरमा चुनाव गर्न अनुमति दिएको छ ।

ढकाल समूहको मनोनयन दर्ता
मनोनयन खुला भएको पहिलो दिन नै वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले मनोनयन दर्ता गराएका छन् । ढकाल वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका छन् । कतिपय सदस्यहरूको मनोनयन भइसके पनि अन्यको चाँडै हुने जनाइएको छ । ढकालले मनोनयनपछि आफ्नो समूहले परिवर्तित परिस्थितिअनसार मुलुकको निजी क्षेत्रलाई सही नेतृत्व दिनसक्ने दावी गरे । उनले कोरोनापछिको अर्थतन्त्र पुनरुत्थान र पुनस्र्थापनासँगै सरकारलाई सल्लाह सुझावका लागि आफ्नो समूहको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्