उकासको जमिनमा औद्योगिक क्षेत्र «

उकासको जमिनमा औद्योगिक क्षेत्र

हेटौंडा-हेटौंडामा नयाँ औद्योगिक क्षेत्र निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । खहरे उकासको करिब २ सय बिगाहा जमिनमा स्थापना हुन लागेको औद्योगिक क्षेत्रमा सयवटा उद्योग स्थापना गर्ने गरी तयारी भएको छ ।
हेटौंडा–१४ स्थित मयुरधापमा केही दिनअघि मात्र मयुरधाप कालापानी औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना गरिएको छ । पूर्वमा मयुरधापको बस्ती, पश्चिममा कालापानी, उत्तरमा हेटौंडा–१६ दक्षिणमा उत्तरपानी पर्ने उक्त चार किल्लाभित्र रहेको चुरे खहरेको उकास जमिनमा तारबारको काम सम्पन्न भइसकेको छ । परियोजनाको कार्यालय स्थापना भएसँगै गुरु योजना बमोजिम नयाँ औद्योगिक क्षेत्र निर्माणका विभिन्न भौतिक पूर्वाधारको विकास, जग्गा मिलाउने तथा उद्योग दर्ता गर्ने कार्यको सुरुवात गरिने जनाइएको छ । औद्योगिक क्षेत्र तयार गर्नका लागि करिब ७ अर्ब ५० करोड रुपियाँ लाग्ने अनुमान गरिएको हेटौंडा औद्योगिक क्षेत्र लिमिटेडका क्षेत्र व्यवस्थापक नेपाल भुषण वैद्यले जानकारी दिए ।
मयुरधाप औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)को काम सम्पन्न भइसकेको छ । २० विगाहा जमिन मुद्रण विभागले लिइसकेको छ । बाँकी जमिनलाई चारदेखि १४ रोपनीसम्मका गरी ६२ वटा प्लटमा विभाजित गर्ने तयारी भइरहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख वैद्यले बताए ।
स्वदेशी उत्पादनमा वृद्धि गर्ने तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सरकारले सातवटै प्रदेशमा एक÷एक वटा औद्योगिक क्षेत्र स्थापना गर्न लागेको छ । सरकारले २०७२ चैत १ गते प्रदेश–३ को मयुरधापमा नयाँ औद्योगिक क्षेत्र बनाउने गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयले २०७३ साउन ६ गते औद्योगिक क्षेत्र स्थापना गर्ने जग्गाको लालपूर्जा औद्योगिक क्षेत्रको नाममा नामसारी गरिएको थियो ।
नयाँ औद्योगिक क्षेत्रभित्र दुईवर्ष भित्रमा नयाँ उद्योग सञ्चालन हुने दावी गरिएको छ । छिट्टै नै मयुरधाप कालापानी औद्योगिक क्षेत्र शिलान्यास गरिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको तयारी रहेको छ । औद्योगिक क्षेत्रको केही जमिन पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जभित्रको परेकाले प्रक्रिया पुराउने क्रममा शिलान्यासमा केही ढिलाई भएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख वैद्यले बताए ।
नयाँ संविधान अनुसारको प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय अनुसार मयुरधापस्थित उक्त जमिनमा ३ नम्बर प्रदेशको औद्योगिक क्षेत्र स्थापना गर्न लागेको हो । बर्षौ अगाडिसम्म सो जमिन भएर चुरेको खहरे बग्ने गरेको थियो । चुरेको परिवर्तन भएर अन्यत्रबाट बग्न थालेपछि सयौं बिगाहा बगर खाली बसेको थियो । बुट्यानहरूले ढाकेको उक्त जमिनमा ठूला रूखहरू छैनन् । खाली रहेको उक्त जग्गा समथर रहेको छ ।
सबै हिसाबले उपयुक्त रहेको स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको भन्दै उद्योगीहरूले पनि खुसी व्यक्त गरेका छन् । उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले भने ‘राजमार्गसँग जोड्न सडक पुराउन पनि समस्या नहुने र बिजुली पनि सहज ढंगले पुराउन सकिने भएकाले मयुरधापमा औद्योगिक क्षेत्रको लागि उपयुक्त थलो हो ।’ उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले भने । मयुरधाप औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्नका लागि धेरै उद्योगीले चासो देखाएको पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्