टोकन प्रणाली लागू भएपछि सेवाग्राहीलाई सहजता «

टोकन प्रणाली लागू भएपछि सेवाग्राहीलाई सहजता

संखुवासभाको खाँदबारीमा रहेको राष्ट्रिय वाणिज्य बैंकले जिल्लामा पहिलो पटक टोकन प्रणाली लागू गरेपछि सेवाग्राहीले सहजता महसुस गरेका छन् । दिनहुँ भीडभाड हुँदा ग्राहक लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहँदै आएको थियो ।
माथिल्लो तलामा रहेको वाणिज्य बैंकको सेवा लिन तल्लो तला हुँदै सडकसम्म लाइन लागेर बस्नुपर्ने बाध्यता रहँदै आएको थियो । दसैं–तिहार जस्ता पर्वका समयमा प्रायजसो पालो पाउन मुस्किल हुने वाणिज्य बैंकमा टोकन प्रणाली लागि गरिएकाले धेरै सहजता महसुस भएको खाँदबारी–८ का सेवाग्राही रमेशकुमार विश्वकर्माले बताए ।
उनले पहिले–पहिले लामो समयसम्म लाइन बसे पनि बीचमा लाइन छोडेर कहीँ निष्कन परे अन्तिममा परिन्थ्यो जसले गर्दा बैंकको सानो काम लिएर गएपछि दिन नै बित्थ्यो । तर, अहिले टोकन सिस्टम भएपछि अरू काम सकेर आउँदा पनि हुने भएकाले धेरै सहज भएको उनले बताए । डेढ दर्जन बैंक रहेको सदरमुकाम खाँदबारीमा अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकमा बढी भीडभाड हुने गरेकाले टोकन सिस्टमको सुरुआत गरिएको राष्ट्रिय वाणिज्य बैंक शाखा खाँदबारीका प्रवन्धक अनिस रायमाझीले बताए ।

प्रतिक्रिया दिनुहोस्