७ सडकको डीपीआर बनाउन सुरु «

७ सडकको डीपीआर बनाउन सुरु

१०५ किमि सडक कालोपत्रे गर्ने लक्ष्य
पर्वत-
ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी) कार्यक्रममार्फत कालोपत्रे गरिने पर्वतका ७ वटा ग्रामीण सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन सुरु गरिएको छ ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजना समन्वय इकाईले पर्वतका सात सडक कालोपत्रे गर्नका लागि डीपीआर बनाउने काम थालेको हो । यी सातवटा सडकमा १ सय ५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ ।
एसियाली विकास बैंकको सहयोगमा सातवटा सडकमा १ सय ५ किमि कालोपत्रे गर्नका लागि डीपीआर बनाउन कन्सल्टेन्ट गाउँगाउँमा पुगेका छन् । पर्वतका जलजला गाउँपालिकामा मिलनचोक–रातामाटा–सालिजा सडकको कुल १८ किमि, मोदी गाउँपालिकामा पातिचौर–बाजुङ–क्याङ–नागी सडकको १८ किमि, रतिखोला–चित्रे–राम्जा–गोतामेथर सडकको कुल १९ किमि सडकको डीपीआर बनाउन थालिएको छ । यस्तै कुस्मा नगरपालिकाको दोबिल्ला–पकुवा–गंगटे–आर्थर सडकको कुल १५ किमि सडक तथा पैंयु गाउँपालिकाको त्रिवेणी–टकलाक–सिगरकोस सडकको १५ किमि पनि डीपीआर बनाउन थालिएको छ भने फलेबास नगरपालिकामा जैमुनिघाट–खानिगाउँ–खलडाँडाँ हुँदै कार्कीनेटा सडकको कुल १५ किमि, देवीस्थान (ओखले)–लमाए–लिमिठाना–ठानामौला–बेतनी–थापाठाना सडकको १५ किमिको डीपीआर बनाउन सुरु भएको छ ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले दिएको जानकारी अनुसार सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न एक वर्ष लाग्ने अनुमान गरिएपछि कोरोनाका कारण एक वर्षपछि सरेको छ । दातृ निकाय एसियाली बिकास बैंकसँंग सम्झौता भएपछि सन २०२१ देखि कालोपत्रेको काम थाल्ने योजना भए पनि डीपीआर सक्न नै लामो समय लाग्ने देखिएको छ ।
नेपाल सरकार र एडीबीको संयुक्त कार्यक्रमअन्तर्गत दोस्रो चरणमा पर्वतका ७ वटा सडकसहित देशभर २ हजार किमि सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । आरसीआईपी कार्यक्रम मुलुकभरका १६ जिल्लामा लागू भएको छ । अहिले दोस्रो चरणको कार्यक्रमका लागि तयारी स्वरुप योजना छनोट भएको हो ।

प्रतिक्रिया दिनुहोस्