१६ वर्षदेखि राजमार्गको पुलमुनि हुर्किएको सुकुम्बासी बस्ती «

१६ वर्षदेखि राजमार्गको पुलमुनि हुर्किएको सुकुम्बासी बस्ती

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदीस्थित पुलमुनि बसिरहेका सुकुम्बासी । तस्बिर ः कारोबार

महेन्द्रनगर-पूर्वपश्चिम राजमार्गअन्तर्गत वनहरा नदी किनारमा लहरैपिच्छे बसेको बस्ती । बाहिरबाट लहरैपिच्छे नजिक–नजिक घर भएको बस्तीमा सबै घर कच्ची छन् । कुनै घर प्लास्टिकले घेरेर बनाइएको छ भने कुनै घर झारपातसँगै माटोले लिपेर बनाइएको छ । राजमार्गबाट झट्ट हेर्दा राजमार्गको उत्तरतर्फ दाया र बाँया गरेर २६ वटा झुपडीजस्तै देखिने बस्तीको एउटै घरमा पाँचदेखि १० जनासम्म बस्छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ वनहरास्थित राजमार्ग र नदीको छेउमा रहेको सुकुम्बासी बस्ती हो यो । जहाँ वि.सं २०६०÷०६२ तिर सिगास शिविरको रूपमा प्रतिस्थापन गरी बसोबास हुँदै आएको बस्ती हो । आजभन्दा झण्डै १६÷१७ वर्षअघि बसेको सुकुम्बासी बस्तीको अहिलेसम्म पुनःस्थापना हुनसकेको छैन । सुरुमा एक दर्जन जति परिवार रहेको बस्तीको शिविरमा अहिले भने झण्डै दुई दर्जन बढी परिवार बसोबास गर्दै आएका छन् । सरकारी तर्फबाट शिविरको स्थानान्तरण तथा पुनःस्थापना हुन नसक्दा सिंगो बस्तीका मानिस राजमार्गको पुलमुनि बसोबास गरिरहेका छन् । शिविरमा बसोबास गर्नेमध्येका एक दलबहादुर बोहरा पनि हुन् । उनीजस्तै बस्तीका अन्य मानिस पनि स्तरीय बसोबास नहुँदा विगत १५÷१६ वर्ष अगाडिदेखि राजमार्गको पुलको भरमा पुलमुनि आश्रय लिइरहेका छन् ।
“२०६२ सालदेखि पुलकै भरमा पुलमुनि आश्रय लिएर बसेका छौं, नामको बस्ती भन्नेमात्रै छ, बसोबास गर्न लायक केही पनि छैन ।” दलबहादुर बोहराले भने, “वर्षात्मा पानीको डर हुन्छ हिउँदमा ओतको, सुरक्षित बसोबास नहुँदा पुलमुनि बसोबास गर्नुपर्ने बाध्यता छ ।” वर्षात्मा बस्तीनजिकै वनहरा नदी भएकाले पनि यहाँका स्थानीयलाई नदीले कटान गर्ने डर हुन्छ । विगतमा बस्ती किनार भएर बहने वनहरा नदी अहिले भने कटान हँुदै बस्तीनजिकै पस्न लाग्दा चिन्तित भएको उनले बताए ।
बसोबास गर्ने सुकुम्बासीलाई लाउन त के खानसमेत धौ–धौ भएको छ । विगतमा मजदुरी गरेर जीविका चलाउने सुकुम्बासीलाई अहिले भने कोरोनाका कारण मजदुरी गर्न नपाउँदा समस्या भएको छ । “विगतमा मजदुरीलगायत विभिन्न काम गरेर पेट पाल्नसम्म सहज थियो, कोभिड पछि सुरु भएको लकडाउनले आफूहरु भोको बस्नुपर्ने बाध्यता आएको छ,” बोहराले भने, “मजदुरी गर्नसमेत पाइँदैन, गाउँघरमा गास माग्न जाँदा पनि कोरोना आएको छ भनेर नआउ भनेर उल्टै धपाउन पुग्छन्, आफूभन्दा पनि स–साना आफ्ना केटाकेटी पाल्न निकै समस्या भएको छ ।” अरु बेला सामान्य कामले जीवन चलाएका सुकुम्बासीलाई कोरोनाले रुवाएको उनको दुःखेको छ ।
सुकुम्बासी बस्तीको उत्तरतर्फ करिब एक किलोमिटर जंगलको दूरीमा मसानघाट छ । आधारभूत आवश्यकताबाट टाढा भएको सुकुम्बासी बस्तीमा खानलाई पानीको पनि समस्या छ । यताउतिबाट मागेको अन्नलाई पनि राति जंगलबाट हात्तीले आएर सबै सखाप पारिदिने यहाँका स्थानीय बताउँछन् ।
“अन्न राख्नेजस्तो भण्डारा नै हुँदैन, एक दिन कमायो एक दिन खायो, यस्तैमा दैनिकी चलेको हुन्छ यस्तैमा पनि जंगल किनारमा बसेको बस्तीमा कुनै बेला जंगली हात्ती आएर भएको अन्नपातसमेत नष्ट गरेर जान्छ । स्थानीय निकायमा आफूहरूको स्थानान्तरण तथा पुनःस्थापनाका लागि सहयोगको लागि अपिल गरे पनि कुरा सुन्ने कोही हुँदैन, गरिबलाई सरकारले पनि हेपेको छ जंगली जनावरले नि,” बोहराले भने ।
बोहराजस्तै सुकुम्बासी बस्तीकै अर्की स्थानीय कलमती दमाईको पनि गुनासोउस्तै छ । आनो परिवारको संख्या ठूलो भएको र सुरक्षित आवास नहुँदा पुलमुनि रात काट्नुपर्ने बाध्यता भएको उनले बताइन् ।
“छोरा, बुहारी, नातिनातिनासम्म मेरो एउटै परिवार छ, बसोबासको नाममा एउटा सानो कपडाले बेरेको झुपडी छ,” उनले भनिन्, “सुरक्षित बसोबास नहुँदा पानी परेको दिन राति उठेर पुलमुनि गएर बस्नुपर्ने बाध्यता हुन्छ, पुलकै सहारामा अहिलेसम्म बाँचिएको छ ।” सुकुम्बासी बस्तीको पूरैजसो मानिस हिउँद होस् वा बर्खामा पुलमुनि बसेर रात काट्ने गर्छन् । पुलमुनि सुतेको बेला पनि ओत लाग्ने डर हुने गरेको छ । सरकाले आफूहरूलाई नहेर्दा पुलमुनि बस्नुपर्ने बस्तीको बाध्यता रहेको दमाईले बताइन् ।
यस्तै सुकुम्बासी बस्ती किनारमै बहने दोदा नदीले पनि कटान गर्दै लगेपछि यहाँका सुकुम्बासी परिवारलाई चिन्ता छ । निर्वाचनको समयमा समस्या सामाधान गर्छांै भनेर भोट माग्न आएका नेताहरूले पनि सुकुम्बासी बस्तीलाई दोस्रो पटक नियालेका समेत छैनन् । जसका कारण यहाँका सुकुम्बासीको दैनिकी विगतभन्दा दयालाग्दो अवस्थामा पुगेको छ ।
सुकुम्बासी बस्तीका सबै परिवारमा लगभग बालबालिका पनि रहेका छन् । सुकुम्बासी बस्तीमा सुरक्षित बसोबास नहुँदा यहाँका बालबालिका पनि रोगको उच्च जोखिममा छन् । सामान्य लाउन त के खान नपाउने यहाँका बालबालिका विद्यालयबाट समेत वञ्चित छन् । बस्तीको पूर्वतर्फ कृष्णपुर नगरपालिका रहेको छ । बस्ती पारि जाँदा बालबालिकालाई कृष्णपुरको विद्यालय टाढा पर्छ । यता शुक्लाफाँटा नगरपालिकामा विद्यालयनजिकै भए पनि छोराछोरीलाई भर्नासमेत नगरिदिने सुकुम्बासी मथुरादेवी सार्कीले बताइन् । उनका अनुसार सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा भनेर भनेको भए पनि सुकुम्बासी बस्तीका बालबालिकालाई भर्ना गर्नसमेत विद्यालयले आनाकानी गर्दै आएको उनले बताइन् ।
“आफ्ना केटाकेटीलाई विद्यालय पठाउने र पढाउने ठूलो धोको छ, तर कमजोर आर्थिक अवस्थाकै कारण पढाउन सकेको छैन,” उनले भनिन्, “सुकुम्बासीलाई सरकारले पनि हेपेको छ, विद्यालयमा बालबालिका लिएर जाँदा विद्यालयले पनि हेप्ने गर्दछ, चारैतिरबाट हेपिएको समुदाय रहेछ हाम्रो ।” सुकुम्वासी बस्तीका झण्डै दर्जन जति स–साना बालबालिका विद्यालय जाँदैनन् । विद्यालय जान नपाउँदा आफ्नो बेरोजगारी थप बढेको मथुरादेवी सार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्