‘पहिले रक्सी बेच्ने महिला,अहिले दूध बेच्छन्’ «

‘पहिले रक्सी बेच्ने महिला,अहिले दूध बेच्छन्’

milk splash

सन्तोष महतारा
गुल्मी
-कृषिबाट आत्मनिर्भर बन्ने सपना गुल्मीका केही महिलाहरुले पूरा गरेका छन् । कुनै समय कोदोबाट बनाइएको रक्सी बेचेर साँझ बिहान छाक टार्दै आएका जिल्लाको सत्यवति गाउँपालिकाका केही महिला अहिले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् ।
सत्यवती गाउँपालिका ४ लिम्घाका मगर समुदायले पहिले रक्सी बनाएर बिक्री गर्दथे । आजभोली उनीहरु भैंसीको दूध बेच्ने गरेका छन् । “पहिले रक्सी पार्न जाँगर चल्थ्यो, अहिले पशुपालन र कृषिमा जाँगर चल्छ” ईन्द्रा रानाले भनिन्, “रक्सीको अवैद्य व्यापर र बजारीकरणको समस्याले भैंसी पाले अहिले दूध बेचेर राम्रो आम्दानी हुन्छ ।” उनले दूध बेचेर १० हजार बचत गर्ने गरेकी छिन् ।
इन्द्रा जस्तै अहिले त्यस क्षेत्रका मगर समुदायका महिला रक्सी बेच्न छाडेर भैंसी पालन गरी दूध बेच्न थालेका छन् । त्यस समुदायकी जया गाहा मगर पनि अहिले पशुपालनतर्फ लागेकी छिन् । “श्रीमान परदेशमा मजदुरी गर्नुहुन्छ,घर खर्च चलाउन मैले नै खर्च जुटाएकी छु” उनले भनिन्, “गाउँमा भैँसी पालेर कमाएको केही पैसा र श्रीमानले परदेशमा कमाएको पैसा बचत गर्न थालेकी छु ।” उनीहरु जस्तै त्यस गाउँमा अधिकांश महिला अहिले कृषि र पशुपालनबाट आत्मनिर्भर बन्दै गएका छन् । रक्सी पार्ने काम भन्दा निकै आनन्द र सुखको पेशा रहेको त्यहाँका महिलाहरुले अनुभव व्यक्त गरे । गाउँपालिकाको ६ नम्वर वडामा पनि श्रीमान् गुमाएकी एकल महिलाले दूध बेचेर नै ७ सन्तान हुकाउँदै छिन् । उनी पनि पछिल्लो समय पशुपालन र कृषितर्फ आर्कषित हुँदै गएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्न कृषि अनुदानका कार्यक्रम पनि ल्याएको छ । रक्सी बनाएर बेचेपछि मात्र दैनिकी चल्ने सत्यवतिका महिला पशुपालनमा लागेर दूध उत्पादन गर्न थालेपछि गाउँपालिकाको योजनाले सार्थकता पाउनेमा शंका नभएको गाउँपालिकाले जनाएको छ । “कृषकको लागि खोर सुधार गर्न १५ हजार, भकारो सुधार गर्न १० हजार साथै उन्नत जातका गाईभैसी पाल्नेलाई २० हजार अनुदान दिने कार्यक्रम गाउँपालिकाले अगाडी सारेको छ ।” गाउँपालिकाका अध्यक्ष पारिस्वर ढकालले भने । गाउँपालिकाले ल्याएको अनुदानका कार्यक्रम बेसहाराहरुका लागि सहारा बनेको अध्यक्ष ढकालको भनाइ छ ।
कृषि तथा पशुपालनमा अगाडी बढ्दै दूध बेचेर महिला आत्मनिर्भर त बनेकै छन् । साथमा गाउँपालिका दूधमा आत्मनिर्भर बन्न समेत सफल हुन थालेको छ । “अहिले गाउँपालिकाबाट दैनिक २ सय लिटर दूध निर्यात हुने गरेको छ ।” पशुशाखा प्रमुख नारायण खनालले भने, “महिलाको यो कदमले घरेलु मदिरा नियन्त्रण हुनुका साथै गाउँपालिका दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ ।” गाउँपालिकाले उत्पादनमा आधारित अनुदानसँगै कृषि उपजको बजारीकरणमा समस्या नहुने प्रतिबद्धता समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्