नमुना बस टर्मिनल निर्माण अन्तिम चरणमा «

नमुना बस टर्मिनल निर्माण अन्तिम चरणमा

विराटनगर– विराटनगरमा नेपालकै नमुना बस टर्मिनल निर्माण अन्तिम चरणमा पुगेको छ । गत वर्ष माघदेखि निर्माण सुरु भएको बसपार्कको ९८ प्रतिशत काम सम्पन्न भएको छ । सामान्य पानी पर्दा हिलाम्मे हुने र पानी नपर्दा धुलाम्ये हुने विराटनगर बसपार्कको पिच गरिसकिएको छ । विगतमा वर्षायाममा बसपार्क हिलाम्मे हुँदा स्थानीयले रोपाइँ गरेर विरोधसमेत जनाउँदै आएका थिए । सुविधासम्पन्न बसपार्क बनेपछि स्थानीयसमेत खुसी देखिएका छन् । सुविधासम्पन्न अढाइ तले भवनसहितको विराटनगर बस टर्मिनल भवनको भने निर्माण सम्पन्न भइसकेको छ ।
सोलार बत्ती जडान, बसपार्कको पिच, नालालगायतका काम सम्पन्न भइसकेको छ । अब केही प्रतिशतमात्रै काम बाँकी रहेको विराटनगर महानगरपालिकाले जनाएको छ । यही कात्तिक १६ गतेदेखि बसपार्क सञ्चालन हुने महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा महानगरपालिकाले निर्माणका लागि गौरी पार्वती निर्माण सेवा काठमाडौंलाई ठेक्का दिएको थियो ।
निर्माण कम्पनीले बस टर्मिनलका लागि अढाइ तले भवन निर्माण सम्पन्न गरिसकेको छ भने वर्षा र ढल निकासको पिचिङको काम पनि सम्पन्न गरेको छ । “सम्भवतः यही कात्तिक १६ गतेदेखि बसपार्क सञ्चालनमा आउनेछ,” पराजुलीले भने, “तत्कालका लागि बसपार्कका रुपमा सञ्चालन गरिए पनि भविष्यमा अन्य स्थानमा बसपार्क बनाएर यसलाई बस टर्मिनलका रुपमा प्रयोग गर्ने योजना छ ।” सुविधा सम्पन्न बस टर्मिनल सार्वजनिक–निजी र सरकारी साझेदारीको अवधारणाअनुसार सञ्चालन गरिने पराजुलीले बताए ।
व्यवस्थित र सुविधा सम्पन्न बस टर्मिनल निर्माण भएसँगै वर्षाका बेला पानी जमेर हिलाम्मे हुने र सुख्खायाममा धुलोको समस्या भोग्दै आएका यातायात व्यवसायी, यात्रु र स्थानीयवासीसमेत हर्षित भएका छन् । बसपार्क निर्माण भएपछि व्यवसायी मात्रै होइन यात्रुलाई समेत सहज हुने बसपार्क टोल विकास संस्थाका अध्यक्ष पदम श्रेष्ठले बताए । “वर्षामा हिलाम्मे हुँदा यात्रु बसपार्क आउनै चाहँदैनथे,” उनले भने । बस टर्मिनलमा एक पटकमा साना–ठूला गरी ५० देखि ५६ वटासम्म बस र १८ वटा माइक्रो राख्न मिल्ने महानगरपालिकाले जनाएको छ । बस टर्मिनलमा पुरानो बसपार्क जस्तो धेरै समयसम्म बस रोक्न नमिल्ने र यात्रु ओराल्ने र चढाएर गन्तव्यतर्फ लागिहाल्नुपर्ने गरी आधुनिक बस टर्मिनल निर्माण गरिएको छ । बस टर्मिनलनमा व्यवस्थित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, रेस्टुराँ, ब्यागेज राख्ने कोठा, सार्वजनिक शौचालय हुनेछ । पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतीक्षालय र पसल रहनेछ भने दोस्रो तलामा रेस्टुराँ, लगेज कक्ष र प्रशासन कक्ष रहनेछ । बस टर्मिनलको भुइँतलामा प्रवेश र प्रस्थानद्वार राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्