यात्रु नभएपछि हरेक रुटमा बस संख्या कटौती

भरतपुर-दसैं सुरु भएपनि सार्वजनिक सवारीमा यात्रुको चाप उल्लेख्य बढ्न सकेको छैन । चितवन हुँदै बाहिरी जिल्ला जाने तथा भित्री सडकमा चल्ने सवारीमा चाप करिब ३० प्रतिशतमात्र भएको व्यवसायी बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले ७० प्रतिशत सवारी नचलेको बताए । “विगतमा चल्ने अधिकांश सवारी आलोपालो चलेका छन्, चलेका बसमा यात्रु पनि नगण्य छन्”, उनले भने, “करिब ६ महिनापछि सञ्चालनमा आएका सवारी यात्रु नपाउँदा मारमा परेका छन् ।”
उनका अनुसार नारायणगढ हुँदै डण्डा चल्ने ३५ गाडीमध्ये १५ वटा, बुटबल चल्ने ५० मध्ये २५ वटा, नेपालगञ्ज २ सय मध्ये ५० वटामात्रै गाडी सञ्चालनमा छन् । लामोदुरीका अधिकाँस सवारी खाली देखिन्छन् । व्यवसायी लिला चिलवाल यात्रुनै नपाएको गुनासो गर्नुहुन्छ । उनले नारायणगढबाट पोखराका लागि बस चलाउँछन् । “३ जना यात्रु बोकेर चितवन आएको छु, यताबाट जाँदा अब यात्रु पाउनै मुस्किल छ”, उनले भने, “जाने आउने आम्दानी पनि छैन ।” नारायणगढबाट पोखरा २० गाडी चल्छन् । केन्द्रीय बस ट्रमिनल भरतपुर पोखरा बसपार्क नारायणगढमा यात्रु कुर्दै व्यवसायी बसेका छन् ।
पुरानो नारायणी यातायात प्रालिका फिल्ड इञ्चार्ज लालकुमार श्रेष्ठ चाडबाड आएपनि यातायात व्यवसायी उत्साहित नभएको बताए । “चाडपर्व हाम्रा लागि सिजन हो, तर यसपाली निकै गिरावट छ”, उनले भने, “नियमित चल्ने सवारी धेरै हल्टमा छन् ।” उनका अनुसार नारायणीका २ सय ५० यात्रुबाहक बस दैनिक चल्ने गरेकोमा हाल ५० वटामात्रै सञ्चालनमा छन् । केन्द्रीय बस ट्रमिनल भरतपुरबाट काँकडभिट्टाका लागि १३ गाडी चल्ने गरेकोमा हाल २ मात्र सञ्चालन हुँदा समेत यात्रु नपाइएको बताए । धनगढी चल्ने ३ मध्ये १ वटा, पूर्वतिर जाने २५ सवारीमध्ये ५ वटामात्रै, पश्चिमतिर चल्ने १६ मध्ये ४ वटामात्रै लामो दूरीका बसहरु सञ्चालनमा छन् । चितवन छहारी यातायात प्रालिका अध्यक्ष बद्री पौडेल छोटो तथा लामो दूरी चल्ने बसहरुमा यात्रु नै नपाइने समस्या आएको बताए । उनका अनुसार छहारीका वीरगञ्ज चल्ने २५ मध्ये ३ वटामात्रै, टाँडी पर्सा चल्ने १ सय २५ मध्ये ५० वटा, माडी चल्ने ३२ मध्ये १० वटामात्रै बसहरु सञ्चालनमा छन् । “पूरै सिट क्षमतामा यात्रु राख्न पाइएपनि यात्रु नहुँदा खाली चलाउनुपरेको छ”, उनले भने, “कोरोना कहरले गर्दा यात्रु तथा व्यवसायी सबै त्रासमा छन् ।”
चौतारी यातायात व्यवसायी संघका कमल घले माइक्रो बसमा समेत यात्रु नपाइएको बताउँछन् । “१५ सिट भएपनि ५ जना यात्रु पनि पाइदैन”, उनले भने, “घरमै थन्काउने स्थिति आएको छ ।” बस व्यवसायी दिनेशकुमार बर्माले ४२ सिटे बसमा ५ जना यात्रु बोकेर चलाउनुपरेको बताए । “चाडबाडका बेला सिट भरिभराउ हुन्थे, यसपाली सुनसान छ”, उनले भने, “अहिले ४० मिनेट कुर्दा पनि यात्रुनै भेटिँदैनन् । उहाँ नारायणगढबाट पोखरा चल्ने बसको सञ्चालक हुन् । पृथ्वी राजमार्ग कम्पनी प्रालिका फिल्ड कर्मचारी विमल गुरुङ विगतको तुलनामा यात्रुको संख्यामा भारी गिरावट आएको बताउँछन् ।
चितवन भित्रिने हरेक गाडीमा ४ सिट छुट्टाउने गरिएकोमा यसपाली धेरै खाली सिटका बसहरु आउने गरेको उनी बताउँछन् । विगतमा अग्रिम टिकट बुकिङ हुने गरेकोमा यसपाली टिकट काउण्टरमा भीडभाड नगण्य देखिन्छ । सरकारले पुरानै भाडादर कायम गरेपनि यात्रु पाउन कठिन भएको व्यवसायीको भनाइ छ । सरकारले कोरोना संक्रमण जोखिम भएकाले घरभित्रै बसेर चाडबाड गर्न आग्रह गरेकाले यसपाली यात्रुको संख्यामा कमी आएको हो ।