महेन्द्रनगरमा व्यापारिक मल बन्ने «

महेन्द्रनगरमा व्यापारिक मल बन्ने

महेन्द्रनगर-कञ्चनपुरको सदरमुकामस्थित महेन्द्रनगर बजारमा व्यापारिक मल निर्माण हुने भएको छ । जिल्लाको भीमदत्त नगरपालिकाले झण्डै ७२ करोडको लगानीमा व्यापारिक मल अर्थात् कञ्चनमल निर्माण गर्न लागेको हो । भीमदत्त नगरपालिकाले निजी क्षेत्रसँगको साझेदारीमा व्यापारिक मल निर्माण गर्ने योजनाअघि सारेको छ ।
नगरपालिकाका इन्जिनियर हिमाल सिंह ऐरले नगरपालिकाले सुविधा सम्पन्न अत्याधुनिक व्यापारिक मल निर्माण गर्न लागेको जानकारी दिए । केही दिनअघि महेन्द्रनगर बजारका केही व्यवसायीसँग निजी क्षेत्रसँगको साझेदारीमा व्यापारिक मल निर्माणका लागि नगरपालिकाले छलफलसमेत गरेको छ । नगरपालिकालाई दीर्घकालीन आम्दानीको स्रोत तथा निजी क्षेत्रसँगको साझेदारीका लागि व्यापारिक मल बनाउने योजनाअघि सारिएको इन्जिनियर ऐरले बताए ।
“नगरपालिकाको आम्दानीको मुख्य स्रोत तथा दीर्घकालीन समयसम्म लगानी प्रवद्र्धन गर्न सकिने सम्भावनाका साथ व्यापारिक मल निर्माण गर्न नगरपालिका अघि बढेको छ ।” इन्जिनियर हिमाल सिंह ऐरले भने, “मल निर्माणका लागि नगरपालिकाले नगर विकास कोषसँग ऋण लिने र थप निजी क्षेत्रसँग सहकार्य गरेर ७२ करोड बराबरको व्यापारिक मल निर्माण सम्पन्न गर्ने योजना छ ।” नगरपालिकाले निर्माण गर्न लागेको व्यापारिक मलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार भइसकेको उनले बताए ।
बहुउद्देश्यीय र नगरपालिकाको गौरवको आयोजनाका कारणले गर्दा व्यापारिक मललाई जतिसक्दो चाँडै निर्माण गरिसक्ने योजना नगरपालिकाको छ । भवन सञ्चालन तथा सम्पन्न गर्नका लागि नगरविकास कोषसँग नगरपालिकाले ऋण लिएर निर्माण गर्ने तयारीमा नगरपालिका रहेको छ ।
“नगर विकास कोषमा व्यापारिक मल निर्माणका लागि नगरपालिकाले प्रस्ताव पेस गरेको छ । ऋण दिनका लागि नगर विकास कोष सकारात्मक देखिएको छ, ऋण के कति लिने भन्ने विषयमा थप नगरपालिकाले छलफल गरिरहेको अवस्था हो,” इन्जिनियर ऐरले भने ।
मलमा व्यापारिक प्रतिष्ठान, स्थानीय उत्पादन, फिल्म हल, रेस्टुराँ लगायत रहनेछन् भने अन्य मनोरञ्जनात्मक गतिविधि समेत सञ्चालन हुनेछन् । पाँच तलाको निर्माण गरिने भनिएको सो व्यापारिक मलको निर्माणकार्य भने दुई वर्षभित्र सक्ने नगरपालिकाको योजना छ । नगरपालिकाले हाल महेन्द्रनगर बजार क्षेत्रमा रहेको सब्जीमण्डीलाई विस्थापित गरेर मल निर्माण गरिने इन्जिनियर ऐरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्