कृषि क्षेत्रको विपर्यास «

कृषि क्षेत्रको विपर्यास

देशका झन्डै ६७ प्रतिशत जनसंख्या कृषिमा आश्रित छन् । कृषिमा सुधार हुनु भनेको देशका झन्डै दुईतिहाइ जनसंख्याको जीवनमा सुधार हुनु हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० औँ विश्व खाद्य दिवसका अवसरमा असोज ३० गते शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अहिलेकै व्यवस्थामा ‘भगवान् शिव र ब्रह्मा’ आए पनि ५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको बताएका छन् । उनले भनेका छन्, “अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागको कुरा गर्ने हो भने हामीले ल्याउन खोजेको ५ लाख मेट्रिक टन मल आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि, ब्रह्माजी आए भने पनि सक्दैनन् ।”
जिम्मेवार मन्त्रीको यो गैरजिम्मेवार अभिव्यक्ति हो । जिम्मेवार पदमा बसेर दिइएको यो अभिव्यक्ति पदीय मर्यादाविपरीत पनि छ । खेतीको समयमा किसानहरू कोरोना भाइरस संक्रमणको जोखिमलाई पनि बेवास्ता गर्दै, सामाजिक दूरीलाई पनि बिर्सेर मलका लागि लाइनमा बसे । तर केही किसानले मात्रै, त्यो पनि आफ्नो आवश्यकताअनुसार होइन, सरकारले निगाहपूर्वक दिएको केही किलो मलमात्रै पाएका थिए । जिम्मेवार पदमा बस्ने व्यक्तिले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्नु भनेको उसको असक्षमताको द्योतक पनि हो । के कृषिमा सुधारका ठूल्ठूला कुरा गर्ने वर्तमान कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल असफल भएकै हुन् ?
२०७६ साल मंसिर ४ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका भुसालले जिम्मेवारी सम्हालेलगत्तै कृषिकर्ममा लागेका कसैलाई पनि निराश नबनाउने बताएका थिए । उनले पटकपटक कृषिको विकासबिना देशको विकास सम्भव नहुने बताउँदै आएका छन् । उनका यस्ता अभिव्यक्तिले देशभरिका किसानमा केही आशा र भरोसा जागेकै हो । तर, त्यो आशा र भरोसालाई अहिले उनले आफैंले तोडेका छन् र आमकिसानलाई निराश पारेका छन् । राजनीतिमा बोल्ने भनेको लोकप्रियताका लागि र पदका लागि मात्रै हो भन्ने उनको व्यवहारबाट पुष्टि भएको छ । उनी साँच्चै किसानका समस्याप्रति गम्भीर भएका भए समयमै योजना बनाएर काम गर्नुपथ्र्यो र किसानलाई चाहिएको बेलामा मल उपलब्ध गराउन सक्नुपथ्र्यो । समय छँदा केही नगर्ने र समय घर्किसकेपछि शिव र ब्रह्मा नै आए पनि केही हुन सक्दैन जस्ता अभिव्यक्ति दिनु नितान्त गैरजिम्मेवारी हो । देशका आमकिसानका आशा र भरोसामाथिको धोका हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्रीको जिम्मेवारी सम्हालेपछि मन्त्री भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताएका थिए । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट (आनाज) द्वारा राष्ट्रिय धान दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भुसालले ३०÷४० वर्षयता मिहिनेत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताएका थिए । उनले विकासका लागि भाषण गर्ने, ठेक्कापट्टा गर्ने, विभिन्न आयोजनाहरू ल्याएर बिगार्ने काम गरिएको बताएका थिए । साथै उनले देशमा औद्योगिक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई नै छोड्दा कृषि व्यवस्था र प्रणाली नै बिग्रेको बताएका थिए । किसानको परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडि परेको बताएका थिए । कृषि र किसानका बारेमा यति धेरै चिन्ता र चासो व्यक्त गर्ने मन्त्री भुसाल आफैं अहिले लाचार बनेका छन् । उनको यो लाचारी खेदजनक छ ।
कृषिलाई महŒव दिने र कृषिको महŒवका बारेमा वकालत गर्ने कृषि तथा पशुपन्छी विकासमन्त्री भुसालले ‘संरक्षित कृषि सुरक्षित बचत’ भन्ने मूल नारा अघि सार्दै कृषि उत्पादन व्यवस्था सुधार्न पाँचबुँदे नीतिगत योजना पनि अघि सारेका छन् । नेपालको सामाजिक र आर्थिक जीवनमा कृषि क्षेत्रको महत्व ठूलो रहेको भन्दै उनले राजनीतिक र संवैधानिक गणतन्त्र धान्न सक्ने कृषि अर्थतन्त्रको विकास गर्नुपर्ने बताउँदै आएका छन् । उनले अघि सारेका पाँचबुँदे नीतिगत योजना यस्ता छन् :
१. उत्पादन सामग्रीमा अनुदान : यसअन्तर्गत हाल दिइँदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बीउ र नश्ल, मल, सिंचाइ, बिजुलीजस्ता उत्पादनका मुख्य सामग्रीहरूमा अनुदान केन्द्रित गरिने र तिनलाई सर्वसुलभ बनाइने उल्लेख छ ।
२. सबै किसानको घरदैलोमा प्राविधिक सेवा : हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेन्टी गरिने भनिएको छ । स्थानीय तहमा करिब ८ हजार कृषि तथा पशुसेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेकोमा स्थानीय तहसँग समन्वय गरी अहिले रिक्त रहेका करिब ६ हजार दरबन्दीमा अविलम्ब पदपूर्ति गरिने भनिएको छ ।
३. सस्तो र सुलभ ऋण : सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहँच ग्यारेन्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गरिने र हरेक किसानलाई ५ प्रतिशतमा नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिने उल्लेख छ ।
४. बाली तथा पशुपन्छी बिमा :कृषि तथा पशुपन्छी बिमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहँचमा प्रयाउने ग्यारेण्टी गरिने र प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बाली÷वस्तुको हानीनोक्सानीबाट किसानलाई सुरक्षित गरिने उल्लेख छ ।
५. न्यूनतम बचतको ग्यारेन्टी : किसानले उत्पादन गर्ने मुख्य बाली÷वस्तुको उत्पादन लागतको मूल्याङ्कन गरेर उचित बचतको ग्यारेन्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिने, किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्नेछन्, तर बजारमा न्यूनतम मूल्य पनि नपाएमा खरिद गर्ने व्यवस्था सरकारले गर्नेछ भन्ने उल्लेख छ । यी घोषित पाँचबुँदे योजनाको प्रभावकारी कार्यान्वयन भएको किसानले कहिले मल नपाएर रुनुपर्ने थिएन र कहिले आफ्नो उत्पादनको मूल्य नपाएर रुनुपर्ने थिएन । तर किसानले विभिन्न कारणले रुनुपर्ने नियतिको अन्त्य अझै हुन सकेको छैन ।
नेपालका कृषि वैज्ञानिकका अनुसार नेपाललाई वार्षिक सरदर ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । तर मागको आधा पनि मल उपलब्ध हुने गरेको छैन । गत आर्थिक वर्षमा ३ लाख २७ हजार ५ सय २५ मेट्रिक टन रासायनिक मल खरिद गरिएको थियो भने ३ लाख ४५ हजार २ सय २७ मेट्रिक टन बिक्री भएको थियो । नेपालमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले ग्लोबल टेन्डर प्रक्रियाबाट मल खरिद गर्ने गरेका छन् । यसका लागि सबै प्रक्रिया मिलाउन ६ महिनाभन्दा बढी समय लाग्छ । यस्तो आकलन गरेर समयमै पहल गर्ने परिपाटीको कमी छ नेपालमा ।
आर्थिक वर्ष २०७६÷७७ मा रासायनिक मल खरिदका लागि करिब रु. ११ अर्ब बजेट विनियोजन गरिएको थियो । तर बजेट विनियोजन हुँदाहुँदै पनि मल खरिद प्रक्रियामा भएको ढिलाइले गर्दा समयमा मल आएन । परिणामतः खेतीको समयमा किसानले मल पाउन सकेनन् । केही किलो मलका लागि किसानले घण्टौं चर्को घाममा लाइन लाग्नुप-यो । प्रहरीको लाठी पनि खानुप-यो । अनि कोहीकोहीले चाहिँ मल नपाएर खेतीको समयमा खेती गर्न नपाएको पीरले रुनुप-यो । किसानलाई रुवाएर कृषिबाट समृद्धिको सपना देख्छन् हाम्रा नेताहरू । यो विपर्यास भोग्न अभिशप्त छन् हाम्रो देशका लाखौं गरिब किसानहरू ।
मलको अभाव, बीउको अभाव अथवा सिँचाइको अभाव अहिलेको मात्रै समस्या होइन । वर्षौंदेखि दोहोरिँदै आएको समस्या हो यो । यो समस्याबाट देशका कृषिविज्ञदेखि नीतिनिर्माता र सरकार अनभिज्ञ छैनन् । तैपनि समयमा आपूर्ति व्यवस्थापन गर्ने जिम्मेवारीबोध किन कसैले गर्दैनन् ? यस्तो अवस्थामा पनि जिम्मेवार पदमा बसेका मान्छेहरू कृषिबाटै समृद्धि सम्भव छ भनेर भन्नचाहिँ किन छोड्दैनन् ? के नेपालको कृषि र किसान भाषण गर्ने विषयमात्रै हुन् ? कृषि र किसानलाई सधैं यस्तो उपेक्षा किन ? सरकारसँग यसको जवाफ छैन । किनभने सरकार कृषिप्रति गम्भीर नै छैन । किनभने कृषि क्षेत्रबाट कुस्त कमिसन र घुस आउँदैन ।
कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड नै हो । किनभने कुल गार्हस्थ्य उत्पादनमा अझै पनि कृषिको योगदान २७ प्रतिशतको हाराहारीमा छ । धान उत्पादनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा महŒवपूर्ण भूमिका खेल्दै आएको छ । धान उत्पादनमा हुने घटबढ मात्रैले पनि कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय प्रभाव पर्ने गरेको छ । धान उत्पादनमा १० प्रतिशत वृद्धि हुँदा कुल गार्हस्थ्य उत्पादनमा थप १ प्रतिशत वृद्धि हुने विश्लेषण अर्थविद्हरूको छ । अर्थतन्त्रमा यति महŒवपूर्ण योगदान गर्ने कृषि क्षेत्रको उत्थानमा सरकारको उदासीनता उदेकलाग्दो छ ।
देशका झन्डै ६७ प्रतिशत जनसंख्या कृषिमा आश्रित छन् । कृषिमा सुधार हुनु भनेको देशका झन्डै दुईतिहाइ जनसंख्याको जीवनमा सुधार हुनु हो । कृषिलाई मात्रै अलिकति प्राथमिकतामा राखेर नीति, योजना र कार्यक्रम तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्दा सरकारको अरू धेरै दायित्व कम हुने स्थितिमा पनि सरकार कृषिप्रति गम्भीर नहुनु र समय घर्किसकेपछि समय र परिस्थितिलाई दोष लगाएर आफू जिम्मेवारीबाट सर्लक्क पन्छिन खोज्नु दायित्वबाट पलायन हुनु नै हो । यस अर्थमा हाम्रो सरकार कृषिप्रतिको दायित्वबाट पलायन हुँदै आएको छ ।
विश्वव्यापी कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा गएका धेरै युवा स्वदेश फर्कंदैछन् । उनीहरूले विदेशमा काम गर्दाका कृषिसम्बन्धी ज्ञान, सीप र अनुभव पनि बोकेर आउँदैछन् । त्यो ज्ञान, सीप र अनुभव नेपाली माटोमै उपयोग गर्न खोज्दैछन् । त्यस्ता उत्साही र ऊर्जाशील युवालाई कृषिमा रमाउने अवसर र वातावरण सिर्जना गरिदिनका लागि गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा लाचारीपूर्वक भगवान भरोसामा छोडिदिनु नितान्त गैरजिम्मेवारी हो ।
देश र जनताको सेवा गर्छु भन्ने शपथ लिएका जिम्मेवार मन्त्री र सरकारले निर्लज्जतापूर्वक हात उठाएपछि बाँकी आशा र भरोसा भनेका भगवान् नै हुन् । कृषि क्षेत्रको विकासको जिम्मेवारी सम्हालेका कृषिमन्त्रीले नै लाचारीपूर्वक आफ्नो जिम्मेवारी भगवान् शिव र ब्रह्मामा छोडेपछि अब नेपालका किसानले भन्नैपर्ने भएको छ, “हे शिव ! हे ब्रह्मा ! आऊ, नेपालको कृषि बचाऊ । कृषि क्षेत्रको विपर्यास हटाऊ ।”

प्रतिक्रिया दिनुहोस्