रुग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गरिँदै «

रुग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गरिँदै


सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भइ रुग्ण बनेका उद्योगहरूको पुनः सञ्चालन तथा पुनरुत्थानका लागि उद्योण वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल अगाडि बढाएको छ । रुग्ण उद्योग पुनः सञ्चालनका सम्बन्धमा विज्ञ समिति गठन गरी मन्त्रालयले सम्भाव्यता अध्ययन अघि बढाएको हो । मन्त्री लेखराज भट्टले मन्त्रालयमा पदभार ग्रहणपछि रुग्ण उद्योग सञ्चालनमा चासो देखाएका थिए । यही समितिले दिने सुझावका आधारमा मन्त्रालयले रुग्ण उद्योग पुनः सञ्चालनको तयारी गर्नेछ ।
पुनः सञ्चालनको उच्च सम्भावना भए पनि सरकारी नीति स्पष्ट हुन नसक्दा उद्योगमा रहेका मेसिनरी झनै कमजोर हुँदै गएका छन् । एकातर्फ बेरोजगारीले युवाहरू विदेश पलायन हुनुपर्ने अर्काेतर्फ भएका उद्योग बन्द हुँदा राज्यलाई दोेहोरो घाटा भएको छ । यसतर्फ ध्यान दिंदै मन्त्रालयले रुग्ण उद्योग सञ्चालनतर्फ जोड दिएको छ । पूर्वसचिव दीपक सुवेदीको संयोजकत्वमा गठित समितिले रुग्ण उद्योगको पहिचानसहित पुनः सञ्चालनको सम्भावनाबारे अध्ययन गरिरहेको छ । समितिले निजी तथा सार्वजनिक क्षेत्रका रुग्ण उद्योगको भौतिक, वित्तीय, प्राविधिक तथा बजार प्रणाली र व्यवस्थापकीय पक्षको अडिट गर्ने जनाइएको छ । रुग्ण उद्योगको पहिचान गर्ने, उद्योगहरू रुग्ण हुनुको कारण, पुनरुत्थानको योजनाको मोडालिटी बनाउने जस्ता कार्यादेश समितिलाई तोकिएको छ । कार्यदलमा उद्योग, वाणिज्य र बैंकिङ तथा आर्थिक क्षेत्रक ातीन विज्ञ, मन्त्रालय मातहतका भौतिक वातावरण महाशाखा प्रमुख र औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाका प्रमुख सहसचिव सदस्य सचिव तोकिएका छन् ।
बन्द तथा रुग्ण उद्योगलाई निजी क्षेत्रको उपयुक्त व्यवस्थापन विधि र प्रक्रियाबाट अधिकतम क्षमतामा सञ्चालन गर्ने सरकारको योजना रहेको छ । हेटौंडा कपडा कारखाना, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योगलगायत उद्योग लामो समयदेखि बन्द अवस्थामा रहेका छन् भने निजी क्षेत्रतर्फमा दर्जनौं उद्योग बन्द छन् । सरकारले गोरखकाली रबर उद्योगका ३ सय ५२ जनाको अनिवार्य अवकासको दायित्व भुक्तानी पुरा गरेको मन्त्री भट्टले जानकारी दिएका छन् । उनका अनुसार प्रावधिक पक्षको अध्ययन गरी पुनःसञ्चालनको मोडालिटी तयार हुँदै छ ।
औद्योगिक व्यावसायिक नियमावली २०७६ अनुसार ऋणको साँवाव्याज तिर्न नसकेको, पुँजीको अनुपातमा ऋणको मात्रा अस्वाभाविक रूपमा बढी भएमा रुग्ण उद्योगमा पर्छन् । त्यसैगरी धितोपत्र बोर्डमा सूचीकृत भएका उद्योगहरूको हकमा अंकित मूल्यभन्दा बजार मूल्य कम भएको तथा पछिल्लो तीन वर्ष पारबिन्दु (ब्रेकइभन पोइन्ट) भन्दा तल्लो अवस्थामा उत्पादन भएको उद्योगलाई रुग्ण उद्योगको सूचीमा राख्ने व्यवस्था छ । यस्तै, मापदण्डअनुसार प्राकृतिक प्रकोप वा अन्य काबु बाहिरको अवस्थाले उद्योग सञ्चालन हुन नसक्ने,अन्तर्राष्ट्रिय औद्योगिक वा वाणिज्यसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन भइ उद्योगको उत्पादनले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नसकेको उद्योगलाई पनि यस्ता उद्योगको सूचीमा राख्ने व्यवस्था छ ।
हालसम्म रग्ण उद्योगको संख्या कति छ र बर्सेनि कति उद्योगले सञ्चालन क्षमता गुमाउँदैछन् भन्ने आधिकारिक तथ्यांक छैन । कतिपय उद्योगमा थोरै मात्रै सहजीकरण गर्दा पनि सञ्चालन हुन सक्ने भए पनि सरकारले समयमै सुविधा दिन नसक्दा यस्ता उद्योगहरू पूर्ण बन्द हुने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्