९० प्रतिशत घरधुरीमा विद्युत् विस्तार हुने «

९० प्रतिशत घरधुरीमा विद्युत् विस्तार हुने

रुकुम-यसै आर्थिक वर्षभित्र रुकुम पश्चिमका ९० प्रतिशत घरधुरीमा विद्युत् विस्तार हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण रुकुम वितरण केन्द्रले यसै आर्थिक वर्षभित्र अधिकांश घरधुरीमा केन्द्रीय लाइनको विद्युत् विस्तार गर्ने योजना बनाएको हो । वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईका अनुसार हाल जिल्लामा विद्युत् विस्तारको काम तीव्र गतिमा भइरहेको र यसै आर्थिक वर्षभित्र जिल्लाका अधिकांश घरधुरीमा विद्युत् विस्तार गर्ने लक्ष्य राखिएको छ ।
उनका अनुसार जिल्लाभर ३३ हजार घरधुरी रहेकोमा हाल ११ हजार घरधुरीमा विद्युत् विस्तार भइसकेको छ । कार्यालयका अनुसार हाल जिल्लाको आठबिसकोट नगरपालिका बाहेक अन्य स्थानीय तहका अधिकांश वडामा विद्युत् विस्तार भएको छ । जसअनुसार मुसिकोट नगरपालिकामा ९० प्रतिशत, चौरजहारी नगरपालिकामा ६० प्रतिशत र बाँफिकोट गाउँपालिकामा ९० प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । त्यस्तै सानीभेरी गाउँपालिकामा ३० प्रतिशत र त्रिवेणी गाउँपालिकामा ६० प्रतिशत घरधुरीमा विद्युत् विस्तार भइरहेको र बाँकी काम तीव्र गतिमा भइरहेको छ । “जिल्लाको दुर्गम क्षेत्र भनेको आठबिसकोट नगरपालिका हो, जहाँ अहिले विद्युत्को पहुँच हालसम्म पुगेको छैन तर पु¥याउने कार्य अन्तिम चरणमा पुगेको छ,” कार्यालय प्रमुख भट्टराईले भने, “आर्थिक मसान्तभित्र करिब २५ देखि ३० हजार घरधुरीसम्म विद्युत् विस्तार हुन्छ ।” हालसम्म कोरोना प्रभावले विद्युत् विस्तारको काममा खासै प्रभाव नभएकाले विस्तार कार्य धमाधम भइरहेको र आगामी दिनमा पनि यसभन्दा जटिल समस्या नभए लक्ष्य पूरा हुनेमा कुनै शंका नभएको कार्यालयको भनाइ छ । त्यस्तै जिल्लामा हाल विद्युत् विस्तार भएका ठाउँमा भइरहेको कम भोल्टेज तथा बेलाबेला विद्युत् जाने समस्या पनि छिट्टै अन्त्य हुने बताइएको छ ।
रुकुम पश्चिमको धैरेनीचौरमा विद्युत् सबस्टेसनको काम अन्तिम चरणमा पुगेकाले निर्माण सम्पन्न भएपछि विद्युत्का धेरै समस्या समाधान हुने बताइएको छ । यसअघि सल्यानमा मात्र सबस्टेसन भएका कारण लामो दूरी भएकाले यस्तो समस्या हुने गरेको थियो । “अहिले उपभोक्ताको कम भोल्टेज तथा बेलाबेलामा विद्युत् जाने समस्याबारे गुनासो गर्ने गरेका छन्, समस्या पनि छ,” कार्यालय प्रमुख भट्टराईले भने, “रुकुममै सबस्टेसन निर्माण सम्पन्न भएपछि अब सबै समस्या समाधान हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्