पर्यटनले गति लिँदै «

पर्यटनले गति लिँदै

अर्थतन्त्र चलायमान बनाउन र कोरोना कहरका कारण थलिएको पर्यटन उद्योगलाई लयमा फर्काउने प्रयाससहित सरकारले कोरोना महामारीका बीचमा पनि विदेशी पर्यटक आगमन बिस्तारै खुला गरेको हो ।

कोरोना कहरबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटनले करिब आठ महिनापछि बिस्तारै गति लिन थालेको छ । सरकारले कोरोना संक्रमण रोक्न २०७६ चैत ९ गतदेखि बाह्य उडानमा प्रतिबन्ध लगाएको थियो भने चैत ११ गतेदेखि देशैभर बन्दाबन्दी गरेको थियो । त्यसपछि पनि निषेधाज्ञा जारी गरिएका कारण रोकिएको पर्यटन आगमन यही साताबाट आंशिक रूपमा सहज हुने आशा पलाएको छ । नेपाल भ्रमण वर्षको सुरुवातदेखि नै पर्यटक आगमन बन्द रहेका कारण पर्यटन क्षेत्र नै ठप्प रहेको थियो । तर, सरकारले कात्तिक १ देखि पर्यटक आगमन आंशिक रूपमा खुला गरेसँगै सहज बन्दै गएको हो । अर्थतन्त्र चलायमान बनाउन र कोरोना कहरका कारण थलिएको पर्यटन उद्योगलाई लयमा फर्काउने प्रयाससहित सरकारले कोरोना महामारीका बीचमा पनि विदेशी पर्यटक आगमन बिस्तारै खुला गरेको हो । भदौ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले हिमाल आरोहण र पदयात्राका लागि पछिल्लो ७२ घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ भएको आधारमा कात्तिक १ देखि यात्रामा अनुमति दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम शनिबारदेखि पदयात्रा र हिमाल आरोहणका लागि पर्यटक भित्रिन थालेका हुन् । तर, नेपाल आएका पर्यटक सात दिन होटलमा क्वारेन्टाइन बसेपछि पीसीआर नेगेटिभ रिपोर्ट भएका पर्यटकमात्र पदमार्ग र हिमालको लागि जान पाउनेछन् । यस्तो प्रावधानले पर्यटक निरुत्साहित हुने भन्दै पर्यटन व्यवसायीले भनेका भए तापनि सरकारले बिस्तारै सहज बनाउने वातावरण बनाउँदैछ । पर्यटन क्षेत्र बन्दका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष गरी लाखौंको रोजगारी संकटमा परेको छ । यस वर्षको प्रमुख पर्यटकीय सिजन खाली नै भएकाले पनि पर्यटन क्षेत्रसँग सम्बन्धित सबै रोजगारीमा असर परेको हो । सरकारले केही राहतको व्यवस्था गरे तापनि नेपालमा औपचारिकभन्दा अनौपचारिक रोजगारी सिर्जना गरिरहेको पर्यटन क्षेत्र तङ्ग्रिन समय लाग्छ । हिमाल आरोहण, पदयात्राका लागि पर्यटन बोर्ड र पर्यटन विभागले सिफारिस गरेका पर्यटकलाई अध्यागमन विभागले नेपाल प्रवेशका लागि भिसा जारी गर्नेछ भने यसका लागि आवश्यक सहजीकरण र समन्वयको जिम्मा विदेशस्थित नेपाली दूतावासले गरिरहेका छन् । साथै, पदयात्रा र हिमाल आरोहणको व्यवस्थापन सहजीकरण गर्न ट्राभल वा ट्रेकिङ एजेन्सीको आग्रहमा बोर्ड र विभागले गरेको सिफारिसका आधारमा विभागले भिसा जारी गर्नेछ । यसरी आएका पर्यटकलाई प्रतिव्यक्ति ५ हजार अमेरिकी डलरको तथा पदयात्रा आरोहणका लागि सहजीकरण गर्ने सहयोगीको १ लाख रूपैयाँको कोरोना बिमा अनिवार्य गरिएको छ । सरकारले कोरोना भाइरस रोकथामका लागि विभिन्न व्यवस्था गरे पनि हाल देशैभर जुन गतिमा कोरोना संक्रमण फैलिरहेको छ, त्यसबाट ढुक्क भएर व्यवसाय गर्ने वातावरण अझै बनिसकेको छैन ।
अर्थतन्त्रका बारेमा अर्थमन्त्रालयले निकालेको गत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक आर्थिक समीक्षा प्रतिवेदनका अनुसार पनि कारोना संक्रमणबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । विश्वका प्रायः सबै मुलुकमा कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन व्यवसायमा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अर्थमन्त्रालयले आव २०७६÷०७७ को पहिलो ८ महिनामा १३.८ प्रतिशतले पर्यटक आगमनमा कमी आएको तथा चैतदेखि पछिल्लो ४ महिनामा झन्डै ७ प्रतिशतले कमी आएको जनाएको छ । पर्यटकको आगमनमा कमीसँगै पर्यटन आय पनि घटेको छ । साथै, अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा प्रतिदिन प्रतिपयर्टक खर्च ५४ अमेरिकी डलर रहेकोमा गत आर्थिक वर्ष २०७६÷०७७ मा ११ प्रतिशतले गिरावट आई ४८ डलरमा झरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले पनि गत आर्थिक वर्षमा पर्यटन आयमा १९ प्रतिशतले गिरावट आई ६० अर्ब ८८ करोड रुपैयाँमा झरेको बताएको थियो । तसर्थ पनि सरकारले पर्यटकीय गतिविधिलाई बिस्तारै सहज बनाउन लागेको देखिन्छ । एकातिर रोग तथा अर्कातिर भोकको यो लडाइँमा सरकारले बेलैमा रणनीतिक योजना बनाउन नसकेका कारण पछिल्ला महिनाहरूमा झन् अस्तव्यस्तता बढेको छ । त्यसैले पर्यटकीय गतिविधिमा पनि बेलैमा सचेततापूर्वक नियमन नगरेमा फेरि बन्दाबन्दी गर्नुपर्ने स्थिति आउन सक्छ र पर्यटन क्षेत्रले थप हानि बेहोर्नुपर्ने हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्