कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न कांग्रेसको माग «

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको छ ।
कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको उल्लेख गर्दै कांग्रेसले विज्ञप्तिमार्फत सङ्क्रामक रोग उपचारको कानूनी व्यवस्थाअनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने जनाएको हो । “सर्वोच्च अदालतले केहीअघि निःशुल्करूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसन तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभर औषधिको कालोबजारी, अव्यवस्थित क्वारेन्टिन र शव व्यवस्थापनसम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको उनको टिप्पणी छ । उपचारको दायित्वबाट पन्छिएपश्चात् त ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफँै उद्दत रहेको पुष्टि भएको कांग्रेसको आरोप छ ।
सांसद विकास कोष, दसैं भत्तालगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य भएको उल्लेख गर्दै कांग्रेसले कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन विशेष संवेदनशीलताका लागि सरकारलाई अपिल र आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्