पहिरोले विद्यालय भवन भत्कियो, विद्यार्थी चौरमा

विद्यालयभन्दा तल रहेको पहिरोका कारण जमिन भासिएर भवन भत्किँदा पर्वतको एक विकट गाउँको विद्यालय विस्थापित बनेको छ । उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कमा रहेको जनज्योती प्राथमिक विद्यालय पूर्ण रुपमा ध्वस्त बनेको छ ।
जमिन चर्किने र धाँजा फाट्ने भएपछि विद्यालयमा रहेका २ वटा पक्की ट्रस भवनका चार वटा कोठा सहित ८ वटा कक्षाकोठा पूर्ण रुपमा भत्किएका छन् । भवन पूर्ण रुपमा नढले पनि कक्षाकोठा भित्रको भुइँ, छानो र गारो पूर्णरुपमा क्षतिग्रस्त बनेको विद्यालयका प्रधानाध्यापक जगत बहादुर खत्रीले बताए ।
उनका अनुसार लगातारको झरीका कारण गएको असार २८ गते सामान्य चर्किएको भवन असोज २९ गतेको भारी वर्षाका कारण क्षतविक्षत बनेको हो । विद्यालयका ८ वटै कोठामा पूर्ण क्षति पुग्नुका साथै शौचालय समेतमा क्षति पुगेको प्रधानाध्यापक खत्रीले बताए ।
२०४६ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा ५ सम्म पठन पाठन हुँदै आएको छ । विद्यालयमा अहिले ४० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
कोरोना भाईरसको महामारीका कारण नयाँ शैक्षिक सत्रको पठनपाठन नहुँदा जोखिम विद्यार्थीहरु विद्यालय नआए पनि गत सातादेखि विद्यालयले पठनपाठन शुरु गरेको छ । अहिले विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । तत्काल विद्यालय स्थानान्तरण गर्ने ठाउँ नहुँदा खुल्ला चौरमा राखेर पढाउने गरिएको प्रअ खत्रीले बताए ।
नयाँ र पुराना सवै भवन भत्किने र चर्किने भएपछि मर्मत गरेर समेत संचालन गर्न नमिल्ने भएको छ । अहिले अस्थायि रुपमा चौरमै राखेर पढाउने गरिएको बताउँदै प्रअ खत्रीले विद्यालय भवन भत्किएको बारे सम्वन्धित वडा र पालिकामा जानकारी गराएको बताए । उनले स्थानीय जलजला गाउँपालिकाको निर्देशन अनुसार नयाँ भवन बनाउने वा मर्मत गरेर तत्काललाई काम चलाउने भन्ने निर्णय गरिने बताए ।
पानी परेको दिन विद्यार्थीलाई दिउँसै छुट्टी गर्ने गरिएको छ । विद्यार्थी विद्यालय वरपर खेल्न थाले भने भवन भत्किएर झन जोखिम निम्तिने हो कि भनेर छिट्टै नै विदा गर्ने गरेको उनले बताए । ‘घाम लागेको दिन पनि विद्यालय जाँदा डराउनुपर्ने अवस्था छ, पानी परेको दिन त कतिवेला पुरिने हो भन्ने त्रासले विद्यार्थीहरुलाई बिदा गर्ने गरिएको उनको भनाई रहेको छ ।’
जलजला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष तुलसीराम रेग्मीले विद्यालयमा पुगेको क्षतिवारे गाउँपालिकामा जानकारी गराएको बताउँदै नयाँ भवन बनाउने वा अरु विकल्प खोज्नेवारे निर्णय हुन बाँकी रहेको बताए । उनले भूकम्प पुर्ननिर्माण प्राधिकरणको सहयोगमा बनाएको भवन बन्ने वित्तिकै भत्किएको र अब समुदायको सहमति जुटाएर सुरक्षित स्थानमा सार्न पहल गरिने बताए ।