पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा सेवा रोकिन सक्ने «

पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा सेवा रोकिन सक्ने

????????????????????????????????????

सरकारले ५ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्लाभित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । यस्तै मन्त्रिपरिषद् बैठकले २ सय भन्दा बढी सक्रिय संक्रमितको संख्या भएका जिल्लामा अन्य जिल्लाबाट प्रवेश गर्न र सवारीसाधनको आवतजावतलाई नियमन र व्यवस्थापन तथा नियन्त्रण गर्ने अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई नै दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को २६ असोजमा बसेको बैठकले अन्तर्राष्ट्रिय खुला सिमानामा हुने आवागमन कात्तिक ३० गते आइतबार मध्यरातसम्मका लागि स्थगित गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए । तर १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको ढुवानी व्यवस्थालाई यथावत कायम गर्ने निर्णय भएको छ ।
यस्तै छोटो, मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधन र आन्तरिक हवाई उडानमा सिट अनुसारको यात्रु क्षमता राख्न पाउने र चैत ११ गते अगाडिकै भाडादर कायम हुने निर्णय पनि मन्त्रिपरिषदको बैठकबाट भएको मन्त्री गुरुङले बताए । यसबाहेक मन्त्रिपरिषद्को बैठकले पशुपतिमा रहेको विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्चालनमा ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्ने र थप एक हाइब्रिड शव दाह गृह निर्माणका लागि स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना रोकथाम र नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको मन्त्री गुरुङले बताए । यस्तै मन्त्रिपरिषदको असोज २९ गतेको बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने अधिकार तोक्ने र काठमाडौं मुकाम रहने गरी श्रम अदालत गठन गरेको छ । त्यसैगरी बाजुराका नरेश रोकायालाई नेपाल ट्रस्टको सदस्यमा नियुक्त गरिएको छ । यस्तै नेपाल सरकारको निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका विभिन्न अधिकृत (सचिव) लाई सरुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्