नाका बन्द हुँदा विराटनगरका व्यापारी मालामाल «

नाका बन्द हुँदा विराटनगरका व्यापारी मालामाल

विराटनगर-गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनसँगै सीमा नाका बन्द हुँदा विराटनगरको व्यापार फस्टाएको छ । विराटनगरमा दसैं बजार सुरु भइसकेको छ । नाका बन्द हुँदा सीमावर्ती भारतीय बजार जोगबनी जाने उपभोक्ता रोकिँदा विराटनगरको व्यापार फस्टाएको हो । दसैंको समयमा दैनिक ४–६ करोडको कारोबार हुने गरेको थियो जोगबनीमा । यसरी जोगबनी पुग्ने सबै नेपाली उपभोक्ताहरू नै हुन् । दसैंका लागि खाद्यन्न, लत्ताकपडा, भाँडाकुडालगायतका सामान खरिद गर्न विगतका वर्षमा लर्को लागेर जोगबनी पुग्ने गरेका थिए नेपाली उपभोक्ता ।
जोगबनी जाने उपभोक्ता विराटनगरका मात्रै होइन धनकुटा, इटहरी, धरान, विराटचोक, उदयपुरलगायतका थिए । दसैं अगाडि जोगबनीमा सामान खरिद गर्न पालो कुर्नुपथ्र्यो । तर, सीमा नाका बन्द हुँदा अहिले जोगबनी जाने उपभोक्ता विराटनगरमै सामान खरिद गरिरहेका छन् । खासगरी खाद्यन्न र कपडाको व्यापार विराटनगरमा ह्वात्तै बढेको व्यापारीहरू बताउँछन् । खाद्यन्न र कपडाको व्यापार विगतमा कहिल्यै पनि अहिलेको जस्तो नभएको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले बताए । “अहिलेको जस्तै सीमा नाका बन्द हुने हो भने सीमावर्ती नेपाली बजार सधैं गुल्जार हुन्छ,” थापाले भने, “तर, विगतमा दसैंमा समेत व्यापारीहरू झिंगा मारेर बस्नुपर्ने अवस्था थियो ।”
नेपालीको मुख्य चाड दसैं, तिहार र छठ नजिकिएसँगै स्थानीय बजारहरूमा खाद्यान्न तथा लत्ताकपडा किनमेल गर्ने उपभोक्ताको निकै भीड बढेको छ । यतिखेर बिहानदेखि बेलुकासम्म नै प्रदेश–१ को राजधानी विराटनगरका पसलहरूमा उपभोक्ताहरूको भीडभाड रहने गरेको छ । अघिल्ला वर्षहरूमा चाडवाडको समयमा विराटनगरसहित आसपासका ग्राहकहरू भारतीय बजार जोगबनी गएको व्यापारीहरूले गुनासो गर्ने गरे पनि यसपटकको अवस्था फरक छ ।
कोरोना महामारीका कारण गएको वर्ष चैत महिनादेखि नै नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा बन्द गरिएका कारण उपभोक्ताहरू स्थानीय बजारहरूमै केन्द्रित हुनुपरेको छ । विगतका वर्षहरूभन्दा यसपटकको विराटनगर बजारको अवस्था राम्रो रहेको अर्का व्यापारी शंकर साह बताउँछन् । विगतभन्दा यसपटक सामान खरिद गर्न आइरहेको उनको अनुभव छ ।
“सरकारले अहिलेको जस्तै सधैं सीमा नाकामा कडाइ गरोस् हामी जति पनि कर तिर्न तयार छौं,” विराटनगरका कपडा व्यापारी अविनाश गुप्ताले भने, “भएको कुरालाई ढाँड्नु हुँदैन । अहिले धेरै राम्रो व्यापार भइरहेको छ ।” उनका अनुसार अघिल्ला वर्षको दसैंको समयमा दैनिक २५ हजारभन्दा बढी कारोबार हुँदैन्थ्यो । तर, अहिले दैनिक १ लाख रुपैयाँभन्दा बढीकै कारोबार भइरहेको छ ।
अहिले दैनिक ६–७ करोड बराबरको कारोबार भइरहेको संघका अध्यक्ष थापाले बताए । भाँडाकुँडा, इलेक्ट्रोनिक, सौन्दर्य, फर्निचरको व्यापार पनि सन्तोषजनक नै रहेको व्यापारीको भनाइ छ । विराटनगरमा ५ हजारभन्दा बढी पसल छन् । “खाद्यन्नको पसल त लकडाउनको समयमा पनि राम्रै चलेकै हो,” खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलको भनाइ छ, “अहिले कपडाको व्यापार पनि राम्रै भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्