खसीबोका बिक्री आजदेखि «

खसीबोका बिक्री आजदेखि

प्रतिकेजी ५५० रुपैयाँ मूल्य निर्धारण

खाद्य व्यवस्था तथा व्यापार कम्पनले सोमबारदेखि उपत्यकामा खसीबोका बिक्री ुरु गर्दैछ । दसैंलाई लक्षित गरी जथाभावी मूल्य निर्धारण रोक्नका लागि विभिन्न जिल्लाबाट ल्याइएका खसीबोकाको बिक्री खुला गरिएको हो । प्रतिकेजी १० रुपैयाँ छुट दिएर जिउँदो खसीको मूल्य ५५० रुपैयाँ निर्धारण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरैे हुँदा व्यवसायीले बढी मूल्य निर्धारण गरी उपभोक्ता ठग्नसक्ने भन्दै बजार मूल्य हस्तक्षेपका लागि खसीबोकाको बिक्री खुला गरिएको उनले जानकारी दिए । कम्पनीका अनुसार सोमबार विहान ८ बजेदेखि कम्पनीको थापाथलीस्थित गोदामबाट खसीबोकाको बिक्री खुला हुनेछ ।
प्रत्येक वर्ष दसैंमा कम्पनीले बजार मूल्यभन्दा सस्तोमा खसीबोका बिक्री गर्दै आएको छ । आइतबारसम्म ४ सय संख्यामा खसीबोका आइसकेको कम्पनीले जानकारी दिएको छ । अन्य खसीबोका पनि आउने क्रममा छन् । दाङ, हेटौंडालगायत क्षेत्रबाट कम्पनीले खसीबोका खरिद गरेर उपत्यका ल्याएको छ । पहिलो चरणमा एक हजार संख्यामा ल्याउने र माग बढ्दै गएमा थप ल्याउन सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले यसवर्ष भने च्याङ्ग्रा बिक्रीका लागि ल्याएको छैन । खरिद गर्न नपाएकाले बिक्री गर्न नल्याइएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले गतवर्ष १८ करोड ७८ लाख ५ हजार रुपैयाँ लागतमा एक हजार संख्यामा खसीबोका र ३८ करोड ३२ लाख २१ हजार लागतमा २ हजार संख्यामा च्याङ्ग्रा ल्याएर बिक्री गरेको थियो ।
व्यवसायीले पनि उपत्यकामा धमाधम खसीबोका भित्र्याइरहेका छन् । दसैंमा मासु खपत बढी हुने भएकाले खपत धेरै हुने गर्छ । अहिले दैनिक एक हजार पाँच सयदेखि दुई हजार संख्यामा खसीबोका आएको व्यवसायी दिपक थापाले जानकारी दिए । व्यवसायीले भारतीय खसीबोकाको प्रतिकेजी ६ सय ४० देखि ६ सय ५० रुपैयाँ मूल्य कायम गरिएको जानकारी दिएका छन् । नेपाली खसीबोका ६ सय ३० र च्याङ्ग्रा प्रतिकेजी ९ सयदेखि १ हजार रुपैयाँ मूल्यमा बिक्री भइरहेको थापाले जानकारी दिए । विगतका वर्षमा रोकिए पनि यस वर्ष भने छिमेकी मुलुक भारतबाट व्यवसायीले खसीबोका ल्याएर बिक्री सुरु गरेका छन् । परीक्षणबिनै भारतीय खसीबोका निर्वाध रूपमा आइरहेको भन्दै व्यवसायीले यसको विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्