स्वास्थ्य सेवा सुदृढ गर्दै गजुरी गाउँपालिका

गजुरी गाउँपालिकाले पालिकामा जनप्रतिनिधि आएपछि स्वास्थ्य क्षेत्रमा निकै राम्रो काम गरेको दावी गरेको छ । सवै वडामा आधारभूत स्वास्थ्य केन्द्र, घरमा शून्य प्रसूति, विद्यालय स्वास्थ्य कार्यक्रम, एम्वुलेन्स सेवा सञ्चालन र पूर्व प्रसूति प्रतिक्षा घर जस्ता कार्यक्रमले स्थानीय स्थानीय नागरिकहरु पनि सन्तुष्ट रहेका छन् ।
गाउँपालिकाले गजुरी प्राथमिक केन्द्रलाई १५ बेडको अस्पताल बनाउन आवश्यक जग्गा व्यवस्थापन समिति गठन गरेर समुदायलाई पनि स्वास्थ्य सेवामा साझेदारी गर्न अभिप्रेरित गरेको छ । यस अघि पनि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाल सरकारले तोकेको सेवा भन्दा थप सेवा विस्तार गरिएको छ । सेवा विस्तार गर्ने क्रममा डिजिटल एक्स–रे मेसिन, रगत जाँचका लागि हेमाटोलोजी एनालाइजर, १५ वर्षमुनिका वालवालिकालाई लगाउने १२ वटा खोप र गर्भवती महिलाहरुलाई लगाईने खोप चिस्याउन आवश्यक पर्ने डिपफ्रिज सेवा थप गरिसकेको छ ।
नागरिकलाई आवश्यक पर्ने आधारभुत स्वास्थ्य सेवा सुदृढ गर्दै अस्पतालको रुपमा प्राथमिक स्वास्थ्य केन्द्रलाई विकास गर्न हरेक वर्ष नयाँ सेवाहरु विस्तार गर्दै लैजाने योजना रहेको अनुसार साविकका गाउँमा रहेका स्वास्थ्य चौकीहरुलाई एक÷एक वटा एम्वुलेन्स हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए । ‘एउटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई वटा स्वास्थ्य केन्द्र र पाँच वटा आधारभूत स्वास्थ्य केन्द्रबाट नागरिकलाई स्वास्थ्य सेवा दिदै आइरहेका छौं । स्वास्थ्य सेवामा कमी हुन नदिन पाँच वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याई स्वास्थ्य संस्थालाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण पनि गरिरहेका छौं,’ उनले भने ।
घरमा शून्य प्रसूति गराउन पूर्व प्रसूति प्रतिक्षा घर सञ्चालन र आर्थिक अवस्था कमजोर परिवारलाई निःशुल्क एम्वुलेन्स सेवा दिएर नवजात शिशु तथा आमाको स्वास्थ्यमा विषेश ध्यान दिएको र गर्भवतीहरुको नियमित खोपका अलवा ग्रामीण अल्टासाउण्ड गराउने व्यवस्था गरेको उपाध्यक्ष सिता ढुंगानाले बताइन् ।
वागमति प्रदेश सरकार अन्तरगत स्वास्थ्य कार्यालय धादिङको आर्थिक सहयोगमा एक्स–रे मेसिन, हेमाटोलोजी एनालाइजर र खोप चिस्याउन डिफ्रिज खरिद गरेको स्वास्थ्य संयोजक डाक्टर रामहरी रेग्मीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रबाट पोस्टमाटम सेवा, मर्चिङ फ्रिज, सेवा थप गरिएको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डाक्टर खगेन्द्र श्रेष्ठले बताए । प्राथमिक स्वास्थ्य केन्द्र राजमार्ग क्षेत्रमा रहेकाले सडक दुर्घटनाका घाइतेहरुको उपचार गर्नुपर्ने हुन्छ । त्यसका लागि रगत परिक्षण र एक्स–रे सेवा अति आवश्यक हुन्छ । अब आवश्यकता पूरा भएको छ । एक जना स्टाफलाई तालिम गराएर काम गर्ने जिम्मेवारी तोकिएको छ । एक्स–रे मेसिन चलाउने प्राविधिक जनशक्तीको दरवन्दी भए काममा अझ सरलता हुने डाक्टर श्रेष्ठले बताए । केन्द्रबाट सेवा लिनेहरु मध्ये ४० प्रतिशत मानिसहरु गाउँपालिका बाहिरका रहेका छन् । गाउँपालिकाले १५ वेडको अस्पताल सञ्चालन गर्न पाउने व्यवस्था अनुसार अस्पताल बनाउन जग्गा खोज्ने काम भइरहेको वडा अध्यक्ष एवं प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पण्डितले बताए ।
गाउँपालिकाले गाउँपालिकामा प्राविधिक र अप्राविधक गरी ४५ जना कर्मचारी रहेका छन् । गाउँपालिका स्वास्थ्य शाखामा जनस्वास्थ्य निरिक्षक र सिनियर अनमि कार्यरत छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा तीन मेडिकल अधिकृतसहित १४ जना स्वास्थ्यकर्मी र तीन सहयोगी कर्मचारी छन् । यसैगरी किराञ्चोक स्वास्थ्य चौकीमा अहेवको नेतृत्वमा चार र सिअहेवको नेतृत्वमा छ जना स्वास्थ्यकर्मीहरु छन् भने एक÷एक जना सहयोगी कर्मचारी छन् । पाँचवटा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहेवको नेतृत्वमा अनमि र कार्यालय सहयोगी कर्मचारी सहित तीन÷तीन जना रहेका छन् । डोलभन्ञ्याङ माध्यमिक विद्यालयमा एक जना नर्स सेवारत रहेका छन् । गाउँपालिकाले २२ जना करार सेवामा स्वास्थ्यकर्मी र सहयोगी कर्मचारी राखेको छ भने संघीय सरकारले दुई जना मेडिकल अधिकृत करारमा पठाएको छ । वागमति प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रमबाट एक जना नर्स करारमा पठाएको छ ।