गरिबी हाम्रो मुख्य समस्या «

गरिबी हाम्रो मुख्य समस्या

गरिबी हाम्रो मुख्य समस्या गरिबी भन्नाले गाँस, बास र कपासको अभावमा कष्टपूर्ण जीवन व्यतीत गर्नुपर्ने अवस्था हो । गरिबी हाम्रो सन्दर्भमा एक प्रमुख समस्या बन्दै आएको छ । हरेक देशका समस्या आ–आफ्नै हुन्छन् । कुनै न कुनै समस्याले ग्रसित बनाएको हुन्छ । समस्याका सूचीमध्ये कुनलाई बढी प्राथमिकतामा राखेर त्यसलाई समाधान गर्ने भन्ने कुराको निर्धारण समस्या कुन तहको हो भन्नेमा निर्भर गर्छ । राज्यले जटिल र ज्यादा जनसंख्यालाई प्रभाव पारेको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधानको पहल गर्छ । हाम्रो जस्तो विकासशील राष्ट्रका लागि गरिबी नै मुख्य समस्याले रूपमा सिर्जना भएको छ । गरिबी बढ्नुका धेरै कारण हुन सक्छन्, जसमध्ये कारक तत्व भनेको बेरोजगारी नै हो । मानवले न्यूनतम पारिश्रमिक पाउने गरी भए पनि काम गर्ने अवसर प्राप्त गर्यो भने भए पनि आर्थिक क्रियाकलाप हुन जान्थ्यो । गरिबी न्यूनीकरण गर्दै पूरै हटाउन राज्यले स्पष्ट नीति निर्माण गरी योजना बन्छ र दीर्घकालीन कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । देशमा कृषियोग्य जमिन भएर पनि विविध कारणले खेती नगरी बाँझो रहने अवस्था आउनु भनेको पनि गरिबी बढ्नुको अर्को कारण हो । उत्पादन घट्दै जाने, जमिन बाँझो रहने क्रम वृद्धि हुने अनि बेरोजगारीकै कारण दैनिक २ हजारजति वैदेशिक रोजगारीका लागि जानु सुखद पक्ष होइन । गरिबी घटाउन श्रम गर्ने अवस्था सिर्जना गराउन सक्नुपर्छ । उद्योग–कलकारखाना स्थापना गर्न सकियो भने पो ठूलो जनशक्तिलाई रोजगारी लगाएर गरिबीलाई छटाउने काममा टेवा पुराउन सकिन्छ । आर्थिक क्रियाकलापमा संलग्न हुन सकिए मात्रै क्रमिक रूपले गरिबीलाई न्यून गर्दै लैजान सकिन्छ । हाम्रो सन्दर्भमा कुरा गर्नुपर्दा कृषि, पर्यटन र उद्योग नै सबैभन्दा बढी श्रमशक्तिलाई रोजगार दिलाउने क्षेत्र हुन् । कृषिप्रधान देश भनिन्छ, तर त्यही कृषि उत्पादन कम भएर खाद्यान्नसमेत आयात गर्नुपरिरहेको छ । कृषिक्षेत्रमा पछिल्ला समयमा केही युवावर्ग व्यावसायिक तरकारी खेती, बाख्रापालन, बंगुरपालन, गाईभैंसीपालनजस्ता कार्यमा आकर्षित हुँदै गएका छन् । त्यसलाई अझै व्यवस्थित र भरपर्दो बनाउन थप सुधारको खाँचो छ भने उनीहरूको उत्पादनले बजार बनाउन थप सुधारको वातावरण निर्माण गर्नुपर्छ, तब मात्र यसमा संलग्नलाई प्रेरणा मिल्छ भने नयाँ कृषकलाई पनि आकर्षणको क्षेत्र बन्न सक्छ । गरिबी घटाउनका लागि मूल कार्य भनेकै रोजगारी सिर्जना गर्न गराउनु हो, जसका लागि बढ्दो श्रमशक्तिलाई बढीभन्दा बढी स्वदेशमै श्रम गर्ने अवस्थाको सिर्जना गराई आर्थिक क्रियाकलापमा वृद्धि गर्नुपर्छ । गरिबीकै कारण लाखौं विद्यालय जाने वर्ष पूरा नहुँदै विद्यालयको पढाइ छाड्छन् । बेरोेजगारी कम गरी निवारण कार्यलाई प्रभावकारी बनाई गरिबीकम गर्न प्राविधिक शिक्षामा जोड दिएर रोजगारी सिर्जनामा लाग्नुपर्ने हुन्छ । प्लम्बिङ, बायरिङ, रेडियो, टिभी, मोबाइल, कम्प्युटर मर्मतजस्ता विविध उपकरण मर्मत कार्यमा लागेर रोजगार बन्न सक्छन् । शिक्षा हासिल गरेर जागिर नै खानुपर्छ भन्ने पनि होइन, स्वरोजगार निर्माण गर्ने दक्ष जनशक्ति बन्नका लागि हरेक व्यक्तिमा सीपमूलक तालिम वा प्राविधिक शिक्षाको आवश्यकता रहन्छ, जसका लागि विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनशक्ति निर्माण गरी रोजगारीमा लाग्दै आर्थिक गतिविधिमा संलग्न भएर गरिबी घटाउँदै जान सकिन्छ । गरिबी निवारण गर्नका लागि ग्रामीण इलाकामा रहेका लाखौं युवाशक्तिलाई व्यावसायिक खेतीमा आकर्षित गर्नका लागि सिंचाइ, मल, बीउ, उपकरण, बजार भण्डारमा सरल रूपमा बिनाधितो ऋणजस्ता दिनुपर्ने हुन्छ । तब मात्र अपहेलित बनेको कृषिप्रति श्रमशक्ति लोभिएर आर्थिक क्रियाकलापसँग सम्बद्ध बन्न पुग्छन् । फलस्वरूप गरिबी न्यून गर्ने कार्यले सार्थकता पाउछ । विभिन्न गैरसरकारी कार्यालयबाट अनेकौ कार्यक्रम युवालक्षित हुने गरेका पनि छन्, तर त्यसलाई अझै प्रभावकारी र नतिजामुखी बनाउन ठोस कार्य गर्नुपर्ने देखिन्छ । लुकेर रहेका कृषिमा मौसमी रोजगारीलाई बाह्रै महिना व्यस्त बनाउनका निमित्त पनि नवीन कार्यक्रमको आवश्यकता रहन्छ । गरिबी घटाउनका लागि हाल सञ्चालित कार्यक्रमले मात्रै पुग्दैन । सरकारी, गैरसरकारीलगायतका विभिन्न संघ–संस्थाबाट लाखौं–रुपैया खर्चने गरिन्छ, तर त्यसको प्रतिफल शून्यप्रायः हुँदा लगानीमात्रै खेर गइरहेको छ । स्थानीय तहमा नै सक्रियतापूर्वक युवाजमात रोजगारी सिर्जना गर्नमा र प्राविधिक ज्ञान लिएर आफ्नै गाँउठाउँमा श्रम गर्न तयार हुने वातावरण निर्माण गर्न सकिए मात्रै बढ्दो गरिबी घटाएर परिणाममुखी नतिजा यस गरिबी निवारणको क्षेत्रमा ल्याउन सकिन्छ । यसतर्फ भने मूलतः राज्यको स्पष्ट नीति र कार्यक्रम हुनु जरुरी छ । सुदर्शन अधिकारी

प्रतिक्रिया दिनुहोस्