कतारबाट फर्किएर तरकारी खेती «

कतारबाट फर्किएर तरकारी खेती

दमौली- विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैह्रे पाँच वर्ष अगाडि नेपाल फर्किए । ६ वर्ष ९ महिना कतार बसेका गैह्रे २०७० सालमा स्वदेश फर्किएर व्यावसायिक तरकारी खेतीमा आबद्ध भएका छन् । गैह्रेले तरकारी खेती र पशुपालनबाट वार्षिक रु. ७ लाख भन्दा बढि आम्दानी गरिरहेका छन् ।
“विदेशमा काम गर्दा जति दुःख गरियो त्यति दुःख त स्वदेशमै गरेपनि आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो, अनि आफ्नै गाउँ आएर तरकारी खेती सुरु गरेँ,” उनले भने । तरकारी खेतीबाटै गैह्रेले वार्षिक ५ लाख भन्दा बढि आम्दानी गर्न सफल भएका छन् ।
“मरुभूमिमा पसिना बगाउँदा जति दुःख लाग्थ्यो अहिले आफ्नै गाउँमा पसिना बगाउँदा गर्व लागेर आउँछ, कृषि पेशाबाटै राम्रो आम्दानी गर्न सफल भएको छु,” उनले भने । उनले ६ रोपनी क्षेत्रफल जग्गामा बोडी खेती गरेका वार्षिक ६ सय क्विन्टल बोडी विक्री हुने गरेको उनले बताए । बोडीका अलवा गैह्रेले आलु, बन्दा, काउली खेती पनि गरेका छन् ।
तरकारी खेतीसँगै पशुपालन समेत गरेका गैह्रेले भैंसीको दूध विक्रीबाट वार्षिक २ लाख भन्दा बढि आम्दानी हुने गरेको बताए । उनका अनुसार दैनिक २० माना दूध विक्री हुने गरेको छ । तरकारी र दूध विक्रीका लागि बजारको कुनै समस्या नरहेको उनले बताए । उनले तरकारी र दूध भीमाद बजारमा विक्री गरिरहेका छन् । बजारमा कुनै समस्या छैन । उनले भने, “बिहानै भीमाद बजारसम्म पुगेर तरकारी र दूध विक्री गरिरहेको छु ।” उनी भन्छन्, “स्वदेशमै पसिना बगाउन सके विदेश जानैपर्दैन । यही राम्रो आम्दानी गर्न सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस्