भ्याटलाई नै प्रभावकारी बनाऊ «

भ्याटलाई नै प्रभावकारी बनाऊ

नेपालमा मुख्य कर प्रणालीका रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरिएको दुई दशकभन्दा लामो समय बितिसके पनि अझैसम्म यो कर प्रभावकारी हुन सकेको छैन । यसका पछाडि करदाताहरूको मानसिकतादेखि राजस्व प्रशासनतन्त्रमा रहेको कमजोरीले समेत जिम्मेवार तŒवका रूपमा काम गरिरहेको छ । करदाताहरूले आफू भ्याटको दायरामा आएको भनी दर्ता भए पनि शून्य कारोबार भएको अथवा कारोबार नै नभएको भन्दै कर तिर्नेभन्दा कर छल्ने प्रवृत्ति बढ्दै गएपछि विश्वकै वैज्ञानिक कर प्रणाली मानिने भ्याट समेत नेपालमा असफल भएजस्तो देखिएको छ । भ्याटमा दर्ता भएका करदाताहरूले बुझाउनुपर्ने भन्दा फिर्ता लिनुपर्ने (क्रेडिट विवरण बुझाउने) करको दायित्व बढी देखाउनाले यो प्रणाली रहेको कमजोरीको फाइदा सीमित वर्गले उठाइरहेका छन् । बाध्यकारी रूपमा भ्याटमा कुनै न कुनै रूपमा दर्ता भइहाले पनि कारोबार विवरण नबुझाउने अथवा भ्याट फिर्ता बढी लिने प्रवृत्ति देखिएको छ । कर विवरण नबुझाउने करदाताहरू बढी देखिएपछि त्यसले कर प्रणालीमा प्रभाव परेको भन्दै अहिले राजस्व प्रशासनले ३० हजारजति करदातालाई भ्याटको सूचीबाट हटाउने तयारी गरेको छ । तर नन–फाइलरहरू जति सबै व्यवसाय बन्द भएका करदाता भने होइनन्, नियमित कारोबार गरेर पनि कर छल्ने उद्देश्यले विवरण नबुझाउनेहरूको संख्या उल्लेख्य छ । महालेखापरीक्षकको प्रतिवेदनले हरेक वर्ष राजस्व वक्यौताको अनुपात पनि डरलाग्दो ढंगले बढ्दै गएको देखाउँछ र राजस्व वक्यौता बढाउनमा यस्ता नन–फाइलर करदाताहरूको उल्लेख्य भूमिका रहने गरेको छ ।
चालू आर्थिक वर्षको बजेटमा नलामो समयदेखि कर विवरण नबुझाए कारोबार गर्दै आएका करदाताहरूलाई कर प्रणालीमा सहभागी सक्रिय गराउने गरी व्यवस्था गरिएको थियो, सोहीअनुसार आन्तरिक राजस्व विभागले भ्याटमा दर्ता भएका करदाताहरूको विवरण अद्यावधिक गर्न लागेको हो । वास्तविक कुरा के हो भने कर प्रणालीमा रहेका छिद्रहरूबाट लाभ उठाउने केही जमातका कारण समग्र राजस्व प्रणाली नै प्रभावित बन्दै आएको छ । राजस्व प्रशासनलाई प्रभावकारी बनाउन विगत केही समयदेखि कर सहयोगीको व्यवस्था गरिएको छ, तर लेखापरीक्षकका नाममा पछिल्लो समयमा करदाता सहयोगीहरूले नै भ्याटबिल खरिद गरी नक्कली कारोबार भएको देखाएर कर छल्ने प्रवृत्ति बढ्न थालेको छ । यसबाट राज्यले पाउने कर गुमाउने तर कथित कर सहयोगी र आफ्नो छाप तथा दस्तखत प्रयोग गर्न दिने सिएहरूले भने क्रम बढेको छ । यदि यसमा समयमा नै प्रभावकारी, अनुगमन, नियमन र नियन्त्रण नगर्ने हो भने विगतको भन्दा डरलाग्दो मूल्य अभिवृद्धि कर छली प्रकरण अगाडि नआउला भन्न सकिंदैन । यस्ता कर सहयोगीहरूले नै नन–फाइलरहरूको संख्या बढाउनमा मद्दत पुराएका छन्, किनकि तिनलाई भ्याट प्रणालीको कमजोर नशाका बारेमा जानकारी भइसकेको छ । तिनीहरूको कारोबारको लेखाजोखा, छानबिन तथा अनुगमनमा ध्यान दिनुपर्ने बेला भएको छ ।
हालैका दिनहरूमा भारतमा वस्तु तथा सेवा कर (जीएसटी) लागू भएपछि नेपालमा पनि भ्याट हटाएर जीएसटी नै लागू गर्ने कि भन्ने बहस पनि अगाडि सार्न थालिएको छ । जुनसुकै नाममा जस्तासुकै आधुनिक कर प्रणाली लागू गरिए पनि कर छल्ने प्रवृत्ति विद्यमान रहेसम्म र त्यसलाई संस्थागत स्वरुप दिन विभिन्न नामका पेसाकर्मीले भूमिका खेलिन्जेल त्यसको प्रभावकारिता रहन्न । नयाँ नामको कर ल्याउँदैमा त्यो प्रभावकारी हुन्छ भन्ने पनि छैन, त्यसैले हाललाई मूल्य अभिवृद्धि कर (भ्याट) नै पुनरावलोकन गरी यसलाई अझ प्रभावकारी बनाउनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्