जलवायु परिवर्तनको चिन्ता «

जलवायु परिवर्तनको चिन्ता

खनिज ग्यास तथा पेट्रोलियम पदार्थले जलवायु परिवर्तनमा प्रत्यक्ष असर पार्ने विषयमा सचेतता अपनाई वैकल्पिक ऊर्जाका विषयमा नेपाल पनि सचेत रहनुपर्ने देखिन्छ ।

यो पृथ्वी नै यदि बस्न लायक बनेन भने मानव अनि प्राणीको प्राणरक्षा कसरी हुन्छ ? जीवअनुकूलको प्राकृतिक सन्तुलनको जैविक जीवनचक्रमा जलवायु परिवर्तनका भयावह अवस्थाका सङ्केत र सूचना आइरहेका चिच्याहटमा सचेतना कसरी हुन्छ ? वैज्ञानिकले विश्वमा जलवायु परिवर्तनले खतराको घण्टी बजाएका तथ्य पस्किरहेका छन् । पृथ्वीको तापक्रम बढिरहँदा जीवित प्राणीको अस्तित्व सङ्कटमा परेको हालसम्मकै कडा खाले चेतावनी पस्किरहेका छन् । औद्योगिक क्रान्तिको समयको स्तरको तुलनामा १.५ डिग्री सेल्सियस हुनुपर्नेमा सो सीमाको दायरा नाघेर हाल ३ डिग्री बढेको तथ्यलाई दक्षिण कोरियामा वैज्ञानिक तथा सरकारी अधिकारीहरूबीच भएको एकहप्ते वार्तामा प्रस्तुत गरिएको प्रतिवेदनका समाचारले भविष्य सुरक्षाको चिन्ता बढ्दो छ । तीन वर्ष लगाएर बनाइएको संयुक्त राष्ट्रसंघद्वारा जारी उक्त प्रतिवेदनले “पृथ्वीमा विनाशकारी परिवर्तनहरू हुनबाट जोगाउन मानिसको जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक छ” भन्ने पक्षलाई ठहर गरेको छ । पृथ्वीको तापक्रमवृद्धिले मौसममा अनियमितता आउँदा जलवायु परवर्तनका भयावह प्रभावहरूले यो सुन्दर वासस्थानमा प्राणी अस्तित्व धराशायी बन्छ । विगत १ सय वर्ष (सन् १९०६ देखि २००५) सम्ममा पृथ्वीको औसत तापक्रममा ०.७४ डिग्री सेल्सियसले वृद्धि भएका वैज्ञानिकहरूका तथ्यलाई नियाल्दा मनमा ढ्याङ्ग्रो बज्ने बेला भइसक्यो । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) ले आफ्नो प्रतिवेदनमा ऊर्जा खपत, यात्राका आवश्यक निर्माण सामग्रीहरू, हाम्रा खाद्यान्नमा आमुल नाटकीय परिवर्तन हुनुपर्ने विषयलाई अघि सारेको छ । यस्तो खतरा न्यूनीकरणका लागि ऊर्जाको पुनःप्रयोगका क्षेत्रलाई द्रुत गतिमा विकास गर्नुपर्ने भनिएको पाइन्छ ।
वैज्ञानिकहरूका मतअनुसार पृथ्वीको तापक्रम यदि २ डिग्री सेल्सियसले बढेमा समुद्रमा रहेको ‘कोरल रिफ’ भनिने मुगाको बासस्थान मासिने, विश्वव्यापी रूपमै समुद्रको सतह झन्डै १० सेन्टिमिटरले बढ्ने भयानक तथ्य अघि आएको बुझिन्छ । यसका साथमा समुद्रको तापक्रम र अम्लीयपनमा प्रभाव पर्दा धान, मकैजस्ता खाद्यान्नमा प्रत्यक्ष प्रभाव पर्ने भनिएको छ । आज हामीले भोग्दै आएका छौँ– बालीनालीको उत्पादकत्वमा पूmल फुल्ने, फल लाग्ने समयान्तर बढेको छ । हिमताल फुट्न थालेका छन् । हिउँका ढिक्काहरू टुक्रिँदै जाँदा हिमरेखा माथितिर सर्न थालेका छन् । यो भयावह असरको कारक नेपाल नहोला तर यसको प्रभावमा हामी पिल्सिरहेका छौँ । हामीले अर्काले गरेका गल्तीको सजाय भोगिरहेका छौँ, सोचनीय विषय हो । यसरी वायुमण्डलका हरितगृह ग्यासहरू (कार्बनडाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, ह्यालोकार्बन आदि) को पत्र बाक्लिँदै जाँदा पृथ्वीबाट परावर्तित ताप यतै फर्केर आउनाले यहाँको तापमान वृद्धि हुन्छ ।
हामीलाई अचम्म लाग्न सक्छ, वैज्ञानिकहरूले वायुमण्डलमा हानिकारक मानिएको अत्यधिक मिथेन ग्यास हुनुमा गाईभैँसीको डकार र तिनको पेटबाट निस्कने ग्यासलाई कारक मान्छन् । वैज्ञानिकहरू यी जनावरहरूमा लसुन, केसर र अन्य सागसब्जी खुवाएर सो उत्सर्जन रोक्ने उपायका खोजीमा लागेको बीबीसीले बताएको छ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरूले गाईले खाने ग्यासलाई कम हानिकारक बनाउन समुद्री लेउ खुवाउन सकिने कुरालाई प्रस्तुत गरेका छन् । सो अध्ययनले उक्त प्रयोगबाट मिथेनको मात्रामा ३० प्रतिशतले कमी आएको बताएको छ । सन् २००६ मा प्रकाशित एउटा अध्ययनले जलवायु परिवर्तनमा गाड र कलकारखनाको धूवाँभन्दा बढी गाईको पेटबाट निस्कने मिथेन ग्यास जिम्मेवार हुने तथ्यलाई पस्केको छ । कार्बनडाअक्साइडको तुलनामा तुलनामा मिथेन ग्यासले हरितगृह ग्यासलाई बढी मात्रामा बाँधिराख्ने भएकाले यो विश्व तापमान वृद्धिको कारण हो ।
अनपेक्षित रूपले वृद्धि भएको पृथ्वीको तापमानको असरका कारण माल्दिभ्स र बङ्गलादेशका टापुहरू डुबानमा पर्दैछन् । हिमनदी खुम्चँदो अवस्थामा छन् भने प्राकृतिक प्रकोपका जोखिममा आजको पुस्ता नै प्रभावित भइरहेको छ । बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, पानीको मुहान सुक्ने, खडेरी, मरुभूमीकरणको वेदनालगायतका पारिस्थितिक पद्धतिको नाटकीय उथलपुथललाई अबको पुस्ताले भोग्दै जाने तीतो भयानक पीडा घोषित भइरहेको छ । मानवताको बस्ती समाप्त पार्न हतियारको उन्मादले मानिसमा दुर्भावनाका कीटाणु सलबलाइरहेका छन् । मानवताका पर्खालहरू क्षतविक्षत हुने गरी रासायनिक औषधीको प्रयोगले सङ्कटका पहाड ठडिएका छन् । आज बस्ती डुबान, भूक्षयजस्ता प्रकोपले जीविकोपार्जनको सङ्कटका साथमा अकल्पनीय क्षतिको वहन गर्नुपर्ने भय छ । कतिपय वनस्पति तथा जीवहरूको अस्तित्वले सदाका लागि बिदा लिइरहनु परेका छन् । असन्तुलित प्राकृतिक नियमले मानव सभ्यता र सजीव प्राणीको अस्तित्वमा खतराको सङ्केत देखा पर्न थालिसकेका छन् । जर्मनीका वैज्ञानिकहरूले ६३ वटा प्रकृति संरक्षण केन्द्रमा गरेको अध्ययनमा पुतली र मौरीसहित विभिन्न प्रजातिका ७५ प्रतिशतभन्दा पनि बढी उड्ने किराहरूको संख्या घटेको देखाएका छन् । सो घटनाको वास्तविक तथ्य पत्ता नलगाइएको भए पनि वैज्ञानिकहरूले खेतमा प्रयोग गरिने कीटनाशक औषधीका कारणलाई देखाएर चिन्ता प्रकट गरेका छन् । यसको प्रभावले धेरैजसो चरा, उभयचर, चमेरा, घस्रने जनावरको आहारा कीराहरू नै भएको हुँदा पृथ्वीको जीवनचक्रमा दूरगामी असर पर्ने बताएको पाइन्छ । विगतमा गरिएका अध्ययनका तुलनामा यो अध्ययनको कीराको क्षति विवरण चुनौतीपूर्ण रहेको अनुमान गरिएको गुनासो वैज्ञानिकहरूको रहेको बुझिन्छ । प्रकृति संरक्षण स्थलमा खेतीयोग्य जमिन भएकाले पनि यस्तो हुन गएको तिनको तर्क छ ।
सहरीकरणको चर्को मात्रामा बढेको फोहोर, इँटाभट्टाको धूवाँ, पुराना सवारी साधन, वन फँडानी या त औद्योगिक स्थानका प्रदूषणको मात्रा वृद्धिले जैविक विविधतामा ह्रास ल्याएका घटना हाम्रै देशका हुन् । आज हिमालमा र तराई–पहाडमा हिउँदमा समेत लामखुट्टे लाग्न थालेका छन् । श्वासप्रश्वास, क्यान्सर, एलर्जी, इन्फेक्सन, क्यान्सर आदिका रोगी बढिरहेका डाक्टरहरूका मत रहेका छन् । विश्व समुदायको चासो र चिन्ताको विषयमा रहेको जलवायु परिवर्तन र विश्वव्यापीकृत तापक्रमका बारेमा विकसित देश जेजसरी लाग्लान् हामीले सतर्कता अपनाउन सकेनौँ भने त्यसको परिणाम पक्कै भयानक बन्छ । जलवायु परिवर्तनले मूलतः चिसो क्षेत्रमा हुने गहुँ तथा मकै उत्पादनमा २० देखि ५० प्रतिशतसम्म कमी आउने अनुमान गरिएको छ । वासिङ्टन र भर्मट विश्वविद्यालयका वैज्ञानिकहरूले उच्च तापक्रम भएका क्षेत्रमा कीरा–फट्याङ्ग्राको तीव्र रूपमा वृद्धि भई तिनीहरूले बाली नष्ट पार्ने बताएका छन् । गर्मी क्षेत्रमा भने अहिल्यै उक्त समस्या बढ्दा बालीमा चरम समस्या उत्पन्न भएको बताइएको छ । यसका लागि आनुवंशिक रूपमा बालीको संशोधन गरिएको बाली लगाउने, बालीको चक्र परिवर्तन गर्ने तथा कीटनाशक औषधी प्रयोगको सुझाव पस्केको छ ।
अमेरिकी सरकारी वैज्ञानिकहरूको एउटा अध्ययनको प्रतिवेदनले आधुनिक सभ्यताको इतिहासकै ठूलो गर्मी बनेको पीडालाई पोखेको छ । मूलतः हरितगृह ग्यासको उत्सर्जनमा मानवीय गतिविधि नै जलवायु परिवर्तनको कारण देखाइएको छ, जसमा वैज्ञानिकहरूले बताएका छन्– “यो शताब्दीको अन्त्यसम्ममा विश्वव्यापी समुद्री सतह ८ फिट जतिले बढ्ने सम्भावनालाई नकार्न सकिँदैन ।” प्रभावतः खडेरी र बाढीको जोखिम बढ्ने तथा डढेलो एवम् विनाशकारी आँधीहरू प्रायः आइरहने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । यद्यपि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गर्दै अमेरिकालाई प्यारिस सम्झौताबाट अलग पारिसकेको बताएका छन् । उनको कदमबाट प्रदूषण पैmलाउने उद्योगहरूलाई सहज तुल्याएको बताइएका समाचार सार्वजनिक भएका छन् । संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमको नयाँ प्रतिवेदनमा विश्व, हरितगृह ग्यास उत्सर्जन कटौतीको लक्ष्य भेट्ने दिशा नरहेको बताइएको छ । जर्मन सहर बोनमा प्यारिस सम्झौताका निर्देशिकाबारे भेलाको विषयको चर्चामा रहेको विश्वव्यापी तापमान वृद्धिका चर्चामा विश्वव्यापी तापमान वृद्धिलाई दुई डिग्री सेल्सियस मात्र पुग्न दिने भनिएको भए पनि हालसम्मका अध्ययनका आधारमा सबै वाचाहरू पूरा हुँदा पनि सन् २१०० सम्ममा विश्वको औसत तापमान तीन डिग्री बढ्न सक्ने भनिएको छ । संयुक्त राष्ट्रसंघले बर्सेनि उत्सर्जन विश्लेषणलाई प्रस्तुत गर्दै आएको छ ।
जलवायु परिवर्तनबाट पुरुषका तुलनामा महिलाहरू बढी प्रभावित हुने सम्भावनालाई अध्ययनहरूमा औँल्याइएको छ । संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा जलवायु परिवर्तनका कारण विस्थापितमध्ये ८० प्रतिशत महिला रहेको देखाएका छन् । हेरचाह, स्याहार गर्ने, भान्सा र इन्धन प्रयोगमा प्राथमिक भूमिकामा रहेका कारण उनीहरू बढी बाढी र खडेरीमा बढी जोखिम वहन गर्न विवस बनेको कुरा उल्लेख गर्दै प्यारिस सम्झौताले महिला सशक्तिकरणसम्बन्धी प्रावधान राखेको बुझिन्छ । यसका आधारहरूलाई हेर्दा प्रभावितमध्ये ग्रामीण भेगमा, गरिबीमा बेहोर्ने संसारभर महिला नै बढी छन् । सामाजिक तथा आर्थिक अधिकार उनीहरूमा कम हुनु, श्रीलङ्का, इन्डोनिसिया र भारतलगायतका स्थलहरूमा प्रभावितमध्ये तीन पुरुष जीवित रहँदा एक महिला मात्र (३ः१ को अनुपातमा) जीवित बनेको बुझिन्छ ।
जलवायु परिवर्तनका विषयमा चिनियाँ तथा युरोपेली नेताहरूले प्यारिस सम्झौतामा ट्रम्प विरुद्ध चीन र इयुको गठबन्धनले बढ्दो तापक्रमले उत्पन्न खतरालाई राष्ट्रिय सुरक्षाको विषय बनाएको छ । स्वच्छ ऊर्जातर्पm ढल्काउने गरी रोजगार सृजना गरी आर्थिक वृद्धि गर्ने प्यारिस सम्झौताको प्रतिबद्धताको आधारलाई उक्त भेलामा प्रस्ट्याइएका खबर छन् । खनिज ग्यास तथा पेट्रोलियम पदार्थले जलवायु परिवर्तनमा प्रत्यक्ष असर पार्ने विषयमा सचेतता अपनाई वैकल्पिक ऊर्जाका विषयमा नेपाल पनि सचेत रहनुपर्ने देखिन्छ । सौर्य, वायु ऊर्जा तथा जलविद्युत् उपयोगका विषयमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता अहिले खड्किरहेको अवस्था हो । चाहे गोबर ग्यासको प्रयोगको विषय बनोस् या त सजीवनको तेलले डिजेलको काम गरेका विषय होऊन्, अब विकल्पको बाटोमा हिँड्न सक्नुपर्छ । आज डेनमार्क, अमेरिका, चीन, ब्राजिललगायतका मुलुकमले वैकल्पिक ऊर्जाको उपयोगको विकल्पमा ध्यान पु¥याइरहँदा हामी यस्ता विषयलाई समस्यै मानिरहेका छौँ । हामी घमन्डी बन्नु हुन्न । वातावरणीय ह्रास जोगाई नवीकरणीय स्वास्थ्यवर्धक ऊर्जाका पाटामा अब हामीले पनि मनन गर्नुपर्ने देखिन्छ । हाम्रो देशकै कारणले जलवायु परिवर्तनको खतरा नबढेको अवस्थामा हामी अभैm सचेत बनिरहनु सचेतनाको द्योतक बन्ने बुझिन्छ ।
(स्रोत : बीबीसी अनलाइन पत्रिका)

प्रतिक्रिया दिनुहोस्