Logo

प्रदेश सरकारलाई दिइए साँखु र नागढुंगा सडक तत्काल बनाउने दाबी

दोलखा-प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले संघीय सरकारले गर्न नसकेका काठमाडौंका साँघु र नागढुङ्गा–कलंकी सडक तत्काल बनाइदिने दाबी गरे । स्थानीय समस्या नै पहिचान नगरी वषौंदेखि ठेक्का लगाएर संघीय सरकारले अलपत्र सडक प्रदेश सरकारलाई दिए तत्काल बनाएर देखाउने बताए ।
दोलखाको साविकको सिंचाइ विकास डिभिजन र जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय खारेज भई बनेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाको उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् । संघीय सरकारले क्षमता विकास नभएको जस्ता बहाना बनाएर प्रदेश सरकार र स्थानीय तहमा अधिकार हस्तान्तरण गर्न आनाकानी गरेको आरोप लगाए ।
उनले संघीय सरकारको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गर्दै मन्त्री स्थापितले केन्द्रवाट प्रदेशमा आउने अधिकार अमिवा जस्तो टुक्रिएर नआएको भन्दै फलामको टुक्रो भएको टिप्पणी गरे । फलाम टुक्रिएर सियो बनेकोले घोच्न र सिलाउन मिल्ने तर प्रेमको धागोले मात्रै बुन्न सकिने भन्दै उनले सँघीय सरकार र प्रदेश सरकार बीच विवाद रहेको सँकेत पनि गरे ।
काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफूले १८ दिनमा माइती घरको घर भत्काएर हालको मण्डला नै बनाएको भन्दै अहिलेको संघीय सरकारलाई काम गर्ने भित्री आकाक्षा नै नभएको आरोप लगाए । “कामै गर्ने भए, बहाना बनाउँनै पर्दैन सहयोग सबैको हुन्छ” उनले भने “अहिलेका संघीय सरकार काम गर्ने भन्दा पनि यो भएन र त्यो भएन भन्दै बहाना मात्र बनाउँछन्, न आफू काम गर्छ न अर्कालाई गर्न दिन्छन् ।”
मन्त्री स्थापितले अब ३ नं. प्रदेशले अब देखिने गरी काम गर्ने दाबी गरे । जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय कृषि उत्पादन र जनतासँग प्रतक्ष्य सरोकार राख्ने कार्यालय भएको हुँदा जनसेवी र ठोस प्रगति हुने गरी काम गर्न उनले कार्यालय प्रमुख र कर्मचारीहरूलाई निर्देशन दिए । मन्त्री स्थापितले सकारात्मक काम गर्नका लागि कार्यशैलिमा समेत व्यापक परिवर्तन गर्नु पर्ने भन्दै तोकिएको समयमा कार्यालय नआउने कर्मचारीको हाजिरी रद्ध गर्न समेत निर्देशन दिए ।
सरकारी कार्यालयले गर्ने कार्यक्रममा खादा, कृत्रिम फुल, मिनरल वाटर जस्ता उत्पादनको प्रयोग गरेर फर्जि खर्च नगर्न भन्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिन र अनावश्यक खर्च कटौटी गर्न पनि आग्रह गरे ।
कार्यक्रममा जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय दोलखाका प्रमुख प्रकाश अधिकारीले नयाँ स्थापना भएको कार्यालयलाई बजेट, कर्मचारी र सवारी साधनको अभाव भएको बताए । जिल्लामा २१ वटा सिँचाई आयोजना निर्माणको अन्तिम चरणमा रहे पनि बजेट अभावले काम पुरा हुन नसकेको र थप ९ करोड बजेट उपलव्ध भए ती योजना चालु बर्षभित्र सम्पन्न गर्न सकिने बताए । उनले कार्यालयमा २० बर्ष पुरानो सवारी साधन भएका कारण फिल्ड अनुगमन र कार्यालयका अन्य काममा पनि समस्या रहेको बताए । कार्यक्रममा प्रदेश सभाकी साँसद हिमाली गोले, जिल्ला समन्वय समितिका प्रमुख, डवल पाण्डे, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक लगायतले मन्तव्य व्यक्त गरे ।
नेपाल पत्रकार महासँघ दोलखा शाखाले प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई महासँघको कार्यालयमा स्वागत तथा सम्मान गरेको छ । पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष जीवन लामाले मन्त्री स्थापितलाई शैलुङको तस्वीर उपहार प्रदान गर्दैै सम्मान गरे । स्वागत कार्यक्रम मा बोल्दै मन्त्री स्थापितले पत्रकार महासँघ दोलखा शाखाको भवन निर्माणका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्