टीभीएसको आरटीआर १६० मोटरसाइकल सार्वजनिक «

टीभीएसको आरटीआर १६० मोटरसाइकल सार्वजनिक

टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६० मोटरसाइकल सार्वजनिक गरेको छ । अपाचे आरटीआर १६० फोर भीमा एबीएस र स्मार्ट कनेक्ट फिचर थप गरिएको बाइक सार्वजनिक गरेको छ ।
टीभीएस अपाचे आरटीआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रुपमा बिक्री वितरण हुँदै आएको कम्पनीले जनाएको छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकामा अब स्मार्ट कनेक्ट र एबीएस थप भएर आएको कम्पनीले जनाएको छ । योसँगै विभिन्न पाँच भेरियन्टमा अपाचे आरटीआर १६० फोर भी खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
२ लाख ७३ हजारदेखि ३ लाख ६ हजारसम्मको रेन्जमा यी मोटरसाइकल उपलब्ध हुने कम्पनीले जनाएको छ । १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, फोर भल्भ इन्जिन छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङका लागि सुपर स्लिक मेटेड ५ स्पिड गियरबक्स छ । आफ्नो रेसिङ विरासतलाई कायम राख्नका लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पिड ११३ किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ ।
चालकले आफ्नो मोबाइलमा एपमार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्नेछन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोबाइलमा हुने कल तथा एसएमएस गतिविधि हेर्न सकिनेछ । कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहनेछ । त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको छ । यो विशेषतः रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो ।
चालकले यसमा टप स्पिड मोडको प्रयोगबाट आफ्नो उच्च गति रेकर्ड गर्न सक्ने जनाइएको छ । चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पिड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिँदा उक्त टप स्पिड डिस्प्लेमा देखिनेछ ।
त्यसैगरी नयाँ आरटीआर १६० फोर भीमा गियर इन्डिकेटर, लो फ्युलवार्निङ, क्लक, आरपीएमअर्लट, एबीएस इन्डिकेटर जस्ता फिचर रहेको जनाइएको छ । कम्पनीले यसअघि बिक्री गर्दै आएको सिंगल डिस्क भेरियन्टको मूल्य दुई लाख ७२ हजार ९०० रुपैयाँ रहेको थियो । नयाँ सार्वजनिक भएको एबीएस र स्मार्ट कनेक्टसहितको आरटीआर १६० फोर भीको मूल्य तीन लाख ५ हजार ९०० रुपैयाँ रहेको छ । त्यसैगरी नयाँ सार्वजनिक भएको कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य दुई लाख ९४ हजार ९०० रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य दु्ई लाख ७४ हजार ९०० रुपैयाँ छ । यसअघि बिक्री हुँदै आएको डबल डिस्क भेरियन्टको मूल्य भने दुई लाख ९० हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्