खाद्य बैंक सुरु गर्ने पहिलो पालिका «

खाद्य बैंक सुरु गर्ने पहिलो पालिका

मेरो पालिका
प्रदेशः बागमती
जिल्लाः धादिङ
गाउँपालिकाः गजुरी
वडा संख्याः ८
अध्यक्षः राजेन्द्र विक्रम बस्नेत
उपाध्यक्षः सीता ढुंगाना
प्रमुख प्रशासकीय अधिकृतः राजन घिमिरे
क्षेत्रफल :१३८.६६ वर्गमिटर
जनसंख्याः २७०८४
चालू आवको बजेट :७७ करोड ६२ लाख

नयाँ संविधान जारी भएपछि मुलुकमा संघीयता लागू भएसँगै स्थानीय तह गठन भए । नयाँ भौगोलिक सीमासहित गठन भएका स्थानीय तहले सम्भावनाको उजागरमात्र गरेनन्, चुनौतीका चाङसमेत खुलासा भए । राजधानी काठमाडौं नजिकै रहेको धादिङको गजुरी गाउँपालिकामा पनि २०७४ जेठमा स्थानीय निर्वाचन सम्पन्न भएसँगै केही नवीन कार्यको थालनी भयो । ‘गाउँगाउँमा सिहंदरवार’को नारालाई नागरिकस्तरबाट सत्य सावित गराउन जुट्यो निर्वाचित अध्यक्ष राजेन्द्रविक्रम बस्नेतको समूह ।
आफ्ना मतदातासमक्ष घोषणापत्रमार्फत गरेका बाचा पूरा गर्न स्वच्छ खानेपानी तथा सरसफाईबाट कोही टाढा रहन नपरोस भनेर ‘एक घर, एक धारा’ अभियान सुरु गरेर अगाडि बढेको गाउँपालिकाको गति रोकिएको छैन । तेस्रो वर्ष पूरा हुदाँसम्म दुई हजार दुई सय परिवारमा पानी सहितका धारा पु¥याइसकेको गाउँपालिकाले चालू आवमा एक हजार परिवारमा कार्यक्रम सम्पन्न गर्नेछ भने बाँकी दुई हजार दुई सय घरमा अर्को वर्ष पु¥याउने लक्ष्य रहेको अध्यक्ष बस्नेतले बताए । ‘आर्थिक तथा सामाजिक समानता, भोकमरीमुक्त गजुरी गाउँपालिका’ परिकल्पनासहित आफ्ना विपन्न नागरिकलाई भोकमुक्त बनाउन खाद्य तथा सुरक्षा योजना निर्माण गरि नागरिक तथा संघसंस्थाको समेत सहभागीतामा गाउँपालिकाले खाद्य बैंक स्थापना गरेको छ । फुड बैंकमा दिन सक्नेले दिने र लिनुपर्ने लिने व्यवस्था सहित व्यवस्थित बनाइएको छ । खाद्य तथा पोषण सुरक्षा योजना र फुड बैंक नेपालमा गजुरीले सुरु गरेको हो ।
शिक्षामा गुणस्तर सुधार गर्न शिक्षक दरबन्दी कम रहेका विद्यालयका लागि ३९ जना शिक्षक गाउँपालिकाले आन्तरिक स्रोतबाट पठाएको छ । विद्यालयबाट टाढा रहेका बस्तीमा र वाल कक्षा सञ्चालन नभएका १३ वटा विद्यालयमा वाल कक्षा सञ्चालन गरिएको छ । आदर्श बहुमुखी क्याम्पसलाई आर्थिक स्रोतसहित स्नात्तकोत्तरसम्म पढाई हुने व्यवस्था मिलाइएको छ । गजुरी गाउँपालिकालाई रातमा पनि उज्यालो बनाउन बिजुली बत्ती नपुगेको गाउँवस्तीमा विषेशगरी वडा नं. ३ र ४ मा विद्युत् विस्तारको काम भइरहेको छ । थारो भैंसी मासुको लागि बिक्री गर्ने र गाईभैंसी पालनप्रति किसानको आकर्षण घटेकाले गाईभैंसी पालनमा किसानहरूलाई आर्कषण बढाउन प्रोत्साहन र हौसला प्रदान गर्न प्रतिगाईभैंसी सुत्केरी स्याहारभत्तास्वरुप २ हजार पाँच सय रुपैयाँ दिने व्यवस्था मिलाइएको छ ।
नागरिकको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न गाउँपालिकाले स्वास्थ्य संस्था नरहेको वडामा आधारभूत स्वास्थ्य संस्था स्थापना र स्वास्थ्य सेवा दिने गरे पनि पछि संघीय सरकारले निर्णय गरेको हो । वडा नं. २, ३, ४, ६ र ७ मा आधारभूत स्वास्थ्य संस्था रहेका छन् । ती संस्थको आफ्नै भवन बनिसकेका छन् र केही निमार्णाधीन रहेको उपाध्यक्ष सीता ढुंगानाले बताइन् । घरमा शून्य सुत्केरी गराउन स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र नजिक सुत्केरी प्रतीक्षा घर सञ्चालन गरेको छ । त्यहाँ सुत्केरी हुनुपूर्व सुत्केरी हुने सहित कुरुवालाई खाना तथा वासको निशुल्क व्यवस्था गरेको छ । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी एम्बुलेन्स सेवा सञ्चालन गरेको छ भने गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र पीडा स्वास्थ्य चौकीमा एम्वुलेन्स सञ्चालनमा छ । किराञ्चोक स्वास्थ्य चौकीको लागि एम्वुलेन्स खरिद गरी दर्ता गर्ने क्रममा रहेको छ । एम्बुन्लेन्स भाडा बेहोर्न नसक्ने अवस्थाका गर्भवतीहरूका लागि गाउँपालिकाले खर्च बहोर्दै आएको उपाध्यक्ष ढुंगानाले बताइन् ।
गाउँपालिकामा पर्ने मुख्य राष्ट्रिय राजमार्ग पृथ्वी राजमार्गको मलेखु खोलादेखि बेल्खु खोला १४ किलोमिटरको मुख्य बजार क्षेत्र आदमघाट, घाटवेशी, गजुरी र मलेखु बजारमा सिसि क्यामेराले सडकको निगरानी गर्ने व्यवस्था मिलाई मनिटर सुरक्षा निकायमा राखिएको छ । उज्यालो गजुरी अभियानलाई सार्थक बनाउन मुख्य राजमार्गको बजार क्षेत्रमा सौय प्रणाली जडान गरिएको छ । रातिमा समेत सडक उज्यालो हुुदाँ सिसि क्यामेराले निगरानी गर्न सहज भएको छ ।
स्थानीय सरकारले अघि सारेका कार्यक्रमहरूलाई प्रभावकारी कार्यान्वयन गर्न कर्मचारी आवश्यक हुन्छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयको दरवन्दी तेरेजमा गाउँपालिकाको स्वीकृत दरवन्दी प्रमुख प्रशासकीय अधिकृत (आठौं तह) देखि सहायक (चौथो तह) सम्म ३५ जना भए पनि दरबन्दीअनुसार कर्मचारी नहुँदा काम सहज छैन । उपलब्ध भएका कर्मचारीहरूबाट दैनिक प्रशासनिक काम सुचारु रहेको प्रमुख प्रशासकीय अघिकृत राजन घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्