बहराइनका राजकुमारद्वारा मनास्लु हिमाल आरोहण «

बहराइनका राजकुमारद्वारा मनास्लु हिमाल आरोहण


बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासको समूहले बिहीबार मनास्लु हिमालको सफल आरोहण गरेको छ । राजकुमारको समूहले ८ हजार १ सय ५६ मिटरको यो हिमाल बिहीबार बिहान ६ बजेर १० मिनेटमा आरोहण गरेको पर्यटन विभागले पुष्टि गरेको छ ।
आरोहणको व्यावस्थापन गरेको सेभेन समिट ट्रेक्सले सामाजिक सञ्जालमार्फत बहराइनका राजकुमारको समूहले बिहीबार बिहान हिमाल आरोहण गरेको जानकारी गराएको थियो । यसअघि बहराइनका राजकुमारको समूहले आरोहणको लागि अनुमति लिएको खुम्बु क्षेत्रमा पर्ने लोबुचेको पनि सफल आरोहण गरिसकेको छ । उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण पनि पूरा गरेको छ । आरोहण दलमा कुल ५० जनाभन्दा बढीले हिमाल आरोण गरेको जनाइएको छ । मनास्लुको लागि ८० जना शेर्पाको समूहले राजकुमारको समूहलाई सहजीकरण गरेको थियो भने लोबुचे हिमालको लागि ३० जनाभन्दा बढी शेर्पाको समूह आरोहणमा सहभागी थियो ।
आरोही समूहले असोज १७ गते खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमालको सफल आरोहण गरेको थियो । ६ हजार १ सय १९ मिटर अग्लो हिमालको असोज १७ गते विहान ८ बजेर ५० मिनेटमा आरोण गरेको थियो । भदौं ३१ मा अपरान्ह विशेष विमानबाट काठमाडौं अवतरण गरेका बहराइन राजकुमारसहितको १८ जनाको टोलीले खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्ने कार्यतालिका रहेको थियो ।
भदौ १४ मा बसेको मन्त्रिपरिषद् बैठकले बहराइनका राजकुमारसहितको १५ जनाको टोली र ३ जना बेलायती नागरिक गरि जम्मा १८ जनाको टोलीलाई नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणको गर्ने अनुमति दिएको थियो । सरकारले लकडाउनपछि जारी सिजनमा नेपालमा पहिलो हिमाल आरोहण अनुमति दिइएको थियो र जारी सिजनमा पहिलो आरोहण हो । टोली नेपालमा करिब २ महिना रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्