सुन्दर सन्दकपुर «

सुन्दर सन्दकपुर

पाँचथर-नेपाल–भारत सीमावर्ती क्षेत्र हो सन्दकपुर । नेपालका पाँचथर, इलाम तथा भारतको पश्चिम बंगालको सिमानामा रहेको समुन्द्र सतहबाट ३६ सय ३६ मिटर अग्लो सुन्दर ठाउँ हो सन्दकपुर । पाँचथरको फालेलुङ गाँउपालिका र इलामको सन्दकपुर गाउँपालिकाको सीमामा यो स्थान पर्छ ।
सन्दकपुरबाट कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल नजिकबाट हेर्न सकिने हुँदा यहाँ बर्सेनि हजारौं पर्यटक आउने गरेका छन् । नेपालतर्पmबाट सडक नहुँदा र भौगोलिक कठिनाइ भएको हुँदा अधिकांश पर्यटक भारतीय बाटो हँुदै सन्दकपुर आउने गरेका छन् ।
सन्दकपुरमा सबैभन्दा बढी भारतीय पर्यटक करिब ९० प्रतिशत र बाँकी १० प्रतिशत युरोपियन र अमेरिकन पर्यटक आउने गरेको सन्दकपुरमा होटल गर्ने नेपाली छिरिङ दोर्जे शेर्पाले बताए । सन्दकपुरको अधिकांश भूभाग नेपालतर्फ परे पनि यसको सबै फाइदा भने भारतीय पक्षले नै लिँदै आएको छ । भारतीय पक्षबाट यहाँ सीमा सुरक्षा बल, निकुञ्जको कार्यालय, प्रशासन कार्यालय रहेका छन् । नेपालतर्फबाट भने सीमामा कुनै उपस्थिति नै छैन ।
सन्दकपुरमा १५ वटाजति होटल रहे पनि नेपालीका दुईवटा मात्र होटल रहेको होटल सनराइजका सञ्चालक छिरिङ दोर्जे शेर्पाले बताए ।
सन्दकपुरमा नेपाली पर्यटकहरुलाई केही समस्या आयो भने समस्या सुनाउने ठाउँसमेत नरहेको पाँचथरको फिदिमबाट सन्दकपुर घुम्न गएका सुमन लामाले बताए ।
पाँचथरबाट सन्दकपुरसँगै पौवा भञ्ज्याङ, सुकेपोखरी, छिन्टापु, गोरुवालेलाई एकीकृत रुपमा पदमार्ग निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न सके यी क्षेत्रहरुको विकास हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्